२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मुगुको डोल्फू गाउँ लुट्ने समूह जुम्लाबाट पक्राउ

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका—१ डोल्फू गाउँ लुटपाटमा संलग्नहरूलाई प्रहरी अत्याधुनिक हतियारसहित जुम्लाबाट पक्राउ गरेको छ।

गाउँले यार्सागुम्बा संकलन गर्न पाटनतिर गएका बेला जेठ १२ गते राति डोल्फू गाउँका २४ घर र एक गुम्बामा हतियारधारी समूहले लुटपाट गरेको थियो।

प्रहरीले लुटपाटमा संलग्नहरूलाई जुम्लाको पातारासी गाउँपालिका–३ स्थित महरीगाउँको चनेलेखबाट बिहीबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले लुटपाटमा संलग्न मध्येका पाँच जनालाई पक्राउ गरेको बताएको छ। लुटेरा समूहले गाउँ लुट्नका लागि प्रयोग गरिएको एलएलआर एक थान, दुई म्यागेजिन र त्यसमा प्रयोग हुने २५ राउण्ड गोली बरामद गरेको छ।

यस्तै कटुवा पेस्तोल एक साथ, तीन सेट वाकीटकी र नेपाली सेनाले प्रयोग गर्ने आठ थान पोसाक पनि प्रहरीले बरामद गरेको छ। पक्राउ गरिएकाहरूलाई जुम्लाको चनेलेखबाट मुगु सदरमुकाम गमगढी ल्याइँदैछ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको बताए। उनले दुई थान हतियार बरामद भएको पनि बताए।

‘दुई हतियारसहित चार जना पक्राउ परेको भन्ने सूचना आएको छ,’ डिएसपी थापाले भने, ‘विस्तृत विवरण आइपुगेको छैन, शनिवार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूका बारेमा जानकारी गराउँछौँ।’ प्रहरी स्रोतका अनुसार घटनामा संलग्न मुख्यव्यक्तिहरु पक्राउ परे पनि केही अझै फरार छन्। डिएसपी थापाले सबै सूचना दिँदा अनुसन्धान प्रभावित हुने बताए।

पक्राउ परेकाहरू अघिल्ला वर्षहरूमा पनि लुटपाटमा संलग्न रहेको प्रहरी स्रोतले बताएको छ। प्रहरीका अनुसार डोल्फू गाउँका सबै जना यार्सा टिप्न पाटनतिर गएको मौका छोपेर २४ घरमा लुटपाट गरी नगद, सुनचाँदी, गरगहना, चाँदीका फुरु, काँशाका थाली, तामाका गाग्रीलगायत धन सम्पत्ति उनीहरुले लुटेका थिए। यस्तै केही घरहरूमा राखिएको यार्सा पनि उनीहरुले लुटेर भागेका थिए । लुटपाट हुँदा गाउँमा वृद्धवृद्धाहरु मात्रै थिए। उनीहरुलाई लुटेरा समूहले हतियार देखाएर तर्साउनुका साथै केहीलाई पिटपाटसमेत गरेको थियो।

प्रकाशित: २१ असार २०८१ १८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App