४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

ललितपुर विजयी, शीर्ष स्थानको होड थप रोमाञ्चक

नेपाल सुपर लिग

ललितपुरका दिनेश हेन्जन (बायाँ) र चितवनका रफिक अमिनु (बीच) बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर: नागरिक

ललितपुर सिटी एफसीको जितसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा दाबेदार मानिएका टोलीबीच शीर्ष स्थानको होडमा रोमाञ्चक बनेको छ।

अपराजित ललितपुर सिटीले आइतबार एफसी चितवनमाथि ३–१ को जित निकालेसँगै जारी एनएसएलमा शीर्ष स्थानको होड रोमाञ्चक बन्ने भएको हो। ९ टोली सम्मिलित यस सिजनमा तीन खेल खेल्न बाँकी हुँदा शीर्ष स्थानको ललितपुर सिटी र चितवनबीच चार अंकको मात्र अन्तर छ।

समान पाँच खेल सकिँदा ललितपुरको दुई जित र तीन बराबरीसहित ९ अंक छ। चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा छ। अंकमा धेरै अन्तर नभएकाले चितवनको पनि शीर्ष स्थानको दाबेदारी जीवतै छ।

तर, त्यसका लागि शीर्ष स्थानको होडमा रहेका अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ। डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको चार खेलबाट समान पाँच अंक छ। चार खेल खेल्न बाँकी रहेको पाँचौं स्थानको रेजर्स पनि शीर्ष स्थानको बलियो दाबेदार हो।

समान पाँच अंक भए पनि गोलअन्तरको रेजर्स पाँचौं स्थानमा छ। सुरुआती दुई खेलबाट अपराजित यात्रामा फर्किएको बुटवल युनाइटेडले पनि अप्रत्याशित रूपमा शीर्ष स्थानको होडमा आफूलाई उभ्याएको छ। पाँच खेलबाट बुटवलको दुई जित र एक हारका साथ सात अंक छ।

आफ्नो पाँचौं खेलमा ललितपुरले दशरथ रंगशालामा चितवनलाई हराएपछि दोस्रो जितसहित जारी दोस्रो सिजनमा आफूलाई शीर्ष स्थानमा उभ्याएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३औं मिनेटमा सिर्जना गर्‍यो।

दिनेश हेन्जनले ड्रिब्लिङ गर्दै पेनाल्टी क्षेत्रबाट गरेको सट चितवनका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। दुई मिनेटपछि पेनाल्टी क्षेत्रमा रहेका पापा केबे अवसर खेर फाले। केबेले १७औं मिनेटमा पनि अर्को अवसर सदुपयोग गर्न सकेनन्।

निखिल कदमले चितवनका अन्तिम डिफेन्डरलाई बिट गर्दै उपलब्ध गराएको पासमा उनी विशालसँग वान भर्सेस वानमा चुके। त्यसको दुई मिनेटपछि भने केबेले अवसर सदुपयोग गरे। दिनेशको फ्लिक पासलाई उनले वान टचमार्फत गोलमा परिणत गराए।

चितवनले २९औं मिनेटमा पहिलो अवसर बनायो। विमल घर्तीमगरले १२ यार्डबाट गरेको सट लतिलपुरका गोलकिपर जेफ्री विली मार्सेले पन्च गर्दै बाहिर पठाए। चितवनले ३१औं मिनेटमा गरेको अर्को आक्रमणमा ललितपुरका जेफ्री विली नै बाधक बने।

रफिक अमिनुले ललितपुरका चार खेलाडी छक्याउँदै पेनाल्टी क्षेत्रबाट गरेको सट विलीले बचाउ गरेका हुन्।

पहिलो हाफको थप समयमा ललितपुरले कर्नर प्रहारबाट अवसर बनाए पनि चितवनका गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै संकट टारे। त्यससँगै पहिलो हाफमा ललितपुर १–० ले अगाडि रह्यो।

४९औं मिनेटमा इमोन इकिजिलले करिब १० यार्डबाट गरेको हेडरमा चितवनका गोलकिपर विशालले बचाउ गरे। सेसेहाङ आङदेम्बेको पासमा उनको हेडर सफल हुन सकेन। ५७औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पार्‍यो।

विवेक पौडेलले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका हुन्। चितवनका डिफेन्डर एबमुबारिक युसिफले हेडरमार्फत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेकले गोल गरेका हुन्।

चितवनका लागि ६४औं मिनेटमा एफ्रिई एक्वाहले ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बार हुँदै बाहिरियो। चितवनको अर्को आक्रमण पनि सफल भएन। तोरिक जेब्रिनले ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सट ओमलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै माथिल्लो बारबाट बाहिरिन पुग्यो।

८९औं मिनेटमा भने रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काए। विमल घर्तीमगरको पासमा उनले ललितपुरका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन्। इन्जुरी समयको पहिलो मिनेटमा नै पेनाल्टीमार्फत ललितपुरले अग्रता बढाउने अवसर पायो। उत्सव राईले पेनाल्टी क्षेत्रमा आदित्य शाक्यलाई लडाएपछि ललितपुरले पेनाल्टी पाएको हो।

केबेले सो अवसर सदुपयोग गर्दै ललितपुरलाई ३–१ ले अग्रता दिलाए। त्यस क्रममा उत्सव दोहोरो पहेंलो कार्ड बेहोर्दै बाहिरिएपछि अन्तिम समय चितवन एक खेल खेलाडीबिना नै खेल्न बाध्यो।

दुवैतर्फ समान एक आक्रमण माथिल्लो बारमा लागेर फर्किएपछि ललितपुरले ३–१ को जित निकाल्यो। एफसी चितवनका प्रशिक्षक मेहराजुद्दिन वड्डुले आफ्नो टोलीले राम्रो प्रदर्शन गरे पनि सुरुआतमा गोल खाँदा दबाबमा रहेपछि हार बेहोर्नुपरेको बताए।

‘हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौं। तर, आजको दिन हाम्रो पक्षमा पनि रहेन,’ प्रशिक्षक वड्डुले भने,‘पहिलो हाफमा गोल बेहोर्दा दबाबमा पर्‍यौं र खेल पनि गुमायौं।’

ललितपुरका प्रशिक्षक टान एन्ड्य्रुले चितवनको आइतबारको खेल उत्कृष्ट रहेको उल्लेख गर्दै आफूहरूको ध्यान राम्रो पास खेल्नेमा रहेको बताए।  

प्रकाशित: २५ मंसिर २०८० ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App