२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एभिएम स्ट्याग टेबल टेनिस लिग च्याम्पियन

एभिएम टेबल टेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको रोमाञ्चक फाइनलमा एभिएमले नेपाल प्रहरी क्लबलाई ८-६ ले पराजित गर्दै विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलो पटक आयोजना गरिएको टेबल टेनिस लिग च्याम्पियन बन्यो।

एभिएमका खेलाडीमा रुविन महर्जन, सुजन गदाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी (भारत), कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए।

प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए।

प्रतियोगितामा हरेक टोलीले अर्को टोलीविरुद्ध समान २-२ पुरुष/महिला सिंगल्स र १ मिक्स डबल्स खेल्नुपर्ने थियो। पहिलो पुरुष सिंगल्समा एभिएमका अंकुरले प्रहरीका संयोगलाई ११–५, ११–७ र ११–६ ले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक बटुले। महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो।

प्रहरीकी सागरिकाले एभिएमकी कौसनीलाई ११-९, ११-८ र १०-११ हराउँदै प्रहरीका लागि २ अंक जोडिन्। दोस्रो सिंगल्सको समाप्तिमा एभिएमले ४–२ को अग्रता बनाएको थियो। प्रत्येक सेट जितका लागि टोली १ अंक पाउथे।

मिक्स डबल्समा एभिएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११ र ११–८ ले पाखा लगायो। मिक्स डबल्सको समाप्तिमा एभिएम ६–३ ले अघि रह्यो।

समग्रमा तेस्रो र दोस्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभिएमका रुविनलाई ११-९, ११-५ र ११-७ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडे र खेललाई ६-६ को बराबरीमा पुर्‍याए। निर्णायक महिला सिंगल्समा एभिएमकी इभाना थापामगरले नौ पटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवितालाई ११-९ र ११-८ ले स्तब्ध पार्दै एभिएमलाई उपाधि दिलाइन्।

यदि नविताले दोस्रो सेट जितेको भए खेल ७–७ को बराबरी स्थितिमा हुने थियो र खेल तेस्रो सेटतर्फ लम्कने थियो। इभानाले एभिएमका लागि ८ अंक जोडेपछि तेस्रो सेट खेलाउनु परेन। विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार पाए।

तेस्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५०/५० हजार नगद पुरस्कारमा चित्त बुझाए।

प्रतियोगितामा चार टोलीसहित नेपाल आर्मी, गोड स्पिन टेबल टेनिस एकेडेमी, नेपाल एपिएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबल टेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी ९ टोली सहभागी थिए।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रत्येक टोलीले एकएक विदेशी पुरुष/महिला खेलाडी राख्न पाउने प्रावधान थियो। अनिवार्य भने थिएन। चार टिम गोड स्पिन, ज्ञान भैरव, आर्मी र नगाउँले विदेशी खेलाडी राखेनन्। बाँकी सबैले भारतीय खेलाडीलाई आाफ्ना टोलीमा अनुबन्धित गराएका थिए। सुरुमा सहभागी ९ टोलीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा भएको थियो।

शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए। विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघ, तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उपसंयोजक वृजेन्द्र हमाल, टेबल टेनिसका पूर्व मुख्य प्रशिक्षक आरआर जोशी, सहप्रायोजक सुमन खड्गीलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २४ मंसिर २०८० ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App