२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डोमिनिकाले विश्वकपबाट हात झिक्यो

क्यारेबियन राष्ट्र डोमिनिकाले आगामी वर्ष हुने ट्वान्टी–२० विश्वकपको आयोजनाबाट आफ्नो नाम फिर्ता लिएको त्यहाँका खेलकुदमन्त्रीले जनाएका छन्।

आगामी सेप्टेम्बरमा हुने विश्वकपमा क्यारेबियनका सात आयोजक राष्ट्रमध्ये एक डोमिनिका पनि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जनाएको छ। अर्को सहआयोजक राष्ट्र अमेरिकामा भने न्युयोर्क, फ्लोरिडा र टेक्ससमा खेल हुँदै छन्।

 अमेरिकामा पहिलो पटक आइसिसीको ठूलो प्रतियोगिता हुन लागेको हो। वेस्ट इन्डिजका सात राष्ट्रमध्ये एक डोमिनिकाले नाम फिर्ता लिएपछि आइसिसीमाथि दबाब परेको छ। यद्यपि, डोमिनिकाका खेलकुदमन्त्रीले विश्वकप आयोजना गर्ने चाहना हुँदाहुँदै पनि नाम फिर्ता लिनुपरेको बताएका छन्।

‘विभिन्न ठेकेदार कम्पनीले प्रशिक्षण मैदान र खेल हुने मैदानको काम समयसीमाभित्र पूरा गर्न सकेनन्। त्यसैले पनि बाध्य भएर हामीले आयोजनाबाट आफ्नो नाम फिर्ता लिएका हौं। हामी ट्वान्टी–२० विश्वकप २०२४ का कुनै पनि खेल गराउने अवस्थामा छैनौं।’

 डोमिनिकाको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। डोमिनिकाको विन्डसर पार्क स्पोटर््स स्टेडियममा समूहचरणका खेल हुने तय गरिएको थियो। त्यहाँ सुपर आठका दुई खेल हुँदै थिए। क्रिकेट वेस्ट इन्डिज (सिडब्लुआई) का प्रमुख कार्यकारी अफिसर जोन्नी ग्रेभले डोमिनिकाको उक्त निर्णय आफूले बुझेको बताएका छन्।

‘आइसिसी ट्वान्टी–२० विश्वकप आयोजनाको आयोजकमध्ये एक डोमिनिका सरकारको समर्पणलाई स्वीकार गर्छाैं। डोमिनिका सरकारले गरेको प्रतिबद्धताबारे स्मरण गर्दै पछिल्लो समय अप्ठ्यारो परिस्थितिबाट लिएको निर्णय भन्ने हामी बुझ्छौं,’ उनले भने, ‘हामी डोमिनिका सरकारसँग आगामी दिनहरूमा काम गर्न उत्साहित छौं। डोमिनिका क्रिकेट एसोसिएसनले आगामी दिनमा अन्तर्राष्ट्रिय क्रिकेटका खेलहरू खेल्नेछन्।’

वेस्ट इन्डिज क्रिकेट बोर्डले पनि विश्वकप आयोजनाबाट डोमिनिका पछि हटेको बारे आइसिसीले काम गरिरहेको बतायो।

‘ठूला आयोजना गर्दा यस किसिमको परिस्थिति सिर्जना हुन सक्छ। त्यसैले आयोजकले पनि आवश्यकता अनुसार स्थान परिवर्तनबारे अतिरिक्त योजना बनाएको हुन्छ,’ विश्वकप आयोजनाका निर्देशक फवाज वक्षले भने,‘जुनसुकै आयोजनामा पनि कहिलेकाहीं यस्तो हुन सक्छ। त्यसैले यस्तो परिस्थितिमा योजना बनाउनुपर्छ।’

क्यारेबियन राष्ट्र जमैकाले पनि यस पटक विश्वकपको आयोजना गर्ने छैन। त्यहाँको राजधानी किङ्स्टनमा रहेको सबिना पार्क मैदान वेस्ट इन्डिज क्रिकेटकै प्रतिष्ठित क्रिकेट मैदान हो।

वेस्ट इन्डिजमा सबैभन्दा धेरै क्रिकेट खेल्ने राष्ट्रमा जमैका पर्ने गर्छ। तर, जमैकाले विश्वकप आयोजनाको दाबेदारी भने प्रस्तुत गरेन। वेस्ट इन्डिजले सन् २०१० को विश्वकप आयोजना पनि गरेको थियो। त्यसको तीन वर्षपछि नै ५० ओभरको विश्वकप पनि आयोजना गर्‍यो। यस पटक ट्वान्टी–२० विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। तीमध्ये युगान्डाले पहिलो पटक विश्वकप खेल्न लागेको हो।  

प्रकाशित: १६ मंसिर २०८० ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App