४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवनले गुमायो जितको अवसर

तस्बिर सौजन्यः नेपाल सुपर लिग

अन्तिम समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) कै पहिलो जित निकाल्ने अवसर गुमाएको छ।

चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो। पहिलो सिजन र जारी दोस्रो सिजन गरी चितवन यसअघिका सात खेलमा जितविहीन टोली हो। तर, मंगलबार काठमाडौं रेजर्सविरुद्ध जितको संघारमा पुगेर पनि चितवन अंक बाँड्न बाध्य भयो। खेलको अन्तिम समयमा लिएको अग्रता जोगाउन नसक्दा चितवनले पहिलो तीन अंक प्राप्त गर्ने अवसर गुमाएको हो। यसै सिजनको पहिलो खेलमा चितवनले पोखरा थन्डर्ससँग १–० को हार सामना गरेको थियो। 

पहिलो सिजनमा पनि चितवनले आफ्नो ६ खेलमा दुई बराबरीको नतिजा सामना गर्दा चार हार बेहोरेको थियो। यस सिजन पनि चितवनका लागि सुखद सुरुआत हुन सकेन। मंगलबार काठमाडौंविरुद्ध जित निकाल्दै एनएसएलमा आफ्नो पहिलो सफलता प्राप्त गर्ने चितवनको लक्ष्य पूरा हुन सकेन। काठमाडौंले भने स्पोर्टिङ इलामलाई १–० ले हराउँदै यस सिजन पनि सुखद सुरुआत गरेको थियो। यद्यपि, दोस्रो खेलमा भने जित निकाल्न सकेन। उल्टै अन्तिम समयमा गोल बेहोरे पनि पुनरागमनसहित काठमाडौंले एक अंक भने जोगायो। खेलको पहिलो हाफमा खासै आक्रमण हुन सकेन।

तर, दोस्रो हाफमा दुवैतर्फ गोलका धेरै प्रयास भए। त्यसअघि खेलको १४औं मिनेटमा काठमाडौं रेजर्सका तोजिडिनोभ कोमिवनले पहिलो अवसर सिर्जना गरे। डी एरियाबाहिरबाट उनको प्रहार एफसी चितवनका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए। चितवनले भने पहिलो अवसर सिर्जना गर्न २५औं मिनेटसम्म कुर्नुपर्‍यो। रोशन रानामगरले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार सफल हुन सकेन। उनको प्रहार दोस्रो बार हुँदै बाहिरिन पुग्यो। ३५औं मिनेटमा रोशनले नै आफ्ना गोलकिपर विशालले दिएको लामो पास नियन्त्रणमा लिँदै गरेको ओभर हेड प्रयास सफल हुन सकेन।

चितवनका लागि ४२औं मिनेटमा विमल घर्तीमगरले अर्को अवसर बुने। करिब ३५ यार्ड टाढाबाट उनले गरेको प्रहार पहिलो बार हुँदै बाहिरियो। एनक्वेङ्गे जुनियरले ४४औं मिनेटमा गरेको फ्रिकिक माथिल्लो बारबाट बाहिरिएपछि काठमाडौं रेजर्सले अग्रता बनाउने अवसर गुमायो। त्यससँगै पहिलो हाफको खेल गोलरहित बराबरी टुङ्गियो। दोस्रो हाफमा दुवै तर्फबाट गोल प्रयास भयो तर, यसका लागि अन्तिम समय कुर्नुपर्‍यो। ५१औं मिनेटमा चितवनका रफिक अमिनुले अग्रता दिलाउने अवसर गुमाए। डी एरियाभित्रबाट उनको प्रहार दोस्रो बार हुँदै बाहिरियो। ६८औं मिनेटमा चितवनले फ्रिकिक प्रहारमा उत्कृष्ट अवसर बनायो।

तर, काठमाडौं रेजर्सले पेनाल्टी क्षेत्रमा क्लियर गर्दै संकट टारे। काठमाडौंका लागि ७९औं मिनेटमा राजीव लोप्चनको प्रहार चितवनका गोलकिपर विशालले उत्कृृष्ट बचाउ गरे। ८६औं मिनेटमा चितवनले अग्रता लियो। विमल घर्तीमगरले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार काठमाडौंका मिडफिल्डर कोमिवनको खुट्टा ठोकिएर गोल हुन पुग्यो। नवयुग श्रेष्ठको पास नियन्त्रणमा लिँदै विमलले लेफ्ट साइडबाट प्रहार गरेका थिए। तर, चितवन अन्तिम समय समालिन सकेन। इन्जुरी समयमा काठमाडौंले गोल फर्कायो। चितवनका रोशन मगरले पेनाल्टी क्षेत्रनजिक गरेको गल्तीबाट काठमाडौं हार टार्‍यो।  

रोशनको हेडर बल नियन्त्रणमा लिँदै एनकेङ्ग्यु जुनियरले गोल गर्दै काठमाडौं रेजर्सलाई बराबरीमा फर्काए। जुनियरले चितवनका दुई डिफेन्डरको बीचबाट गोल उत्कृष्ट गोल गरे। त्यससँगै बाँकी समयमा दुवै तर्फबाट गोल हुन सकेन। यो बराबरीसँगै चितवनको एनएसलमा पहिलो तीन अंक प्राप्त गर्ने लक्ष्य पूरा हुन सकेन। बराबरीको नतिजापछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम पाँच मिनेटमा धैर्यता राख्दा एक अंक जोगाउन सफल भएको धारणा राखे। एफसी चितवनका प्रशिक्षक मेहराजुद्दिन वाड्डुले राम्रो खेल पनि इन्जुरी समयमा गोल बेहोर्दा जित निकाल्ने अवसर गुमेको उल्लेख गरे। 

प्रकाशित: १३ मंसिर २०८० ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App