१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: इलामलाई पहिलो सफलता

झापाविरुद्ध गोल गरेपछि स्पोर्टिङ इलाम एफसीका अमाथ एन्डअ। तस्बिर: एनएसएल

सेनेगलका अमाथ एन्डअको गोल प्रेरणामा नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पहिलो सफलता प्राप्त गरेको छ।

जारी सिजनमा आफ्नो दोस्रो खेल खेलेको स्पोर्टिङ इलामले सोमबार दशरथ रंगशालामा नेपाली राष्ट्रिय टोलीका सदस्य अञ्जन विष्टको कप्तानीमा रहेको झापा एफसीमाथि १–० साँघुरो जित निकाल्यो।

पहिलो खेलमा काठमाडौं रेजर्ससँग हार बेहोरेको स्पोर्टिङ इलामले सोमबार झापाविरुद्ध भने सुधारिएको प्रदर्शन गर्दै तीन अंक बटुल्यो। खेल सकिन तीन मिनेट बाँकी छँदा अमाथले गोल गरेका थिए।

पेनाल्टी अवसर गुमाएका अमाथले लगत्तै गोल गर्दै आफ्नो गल्तीको सुधार गरे। यो खेलसँगै जारी नेपाल सुपर लिगको दोस्रो सिजनमा सहभागी ९ टोलीले नै पहिलो चरणको खेल पूरा गरेका छन्।

इलामको भने दोस्रो खेल हो। यता, झापाको हारसँगै यस सिजन नवप्रवेशी तीनै टोलीले पहिलो खेलमा हार सामना गर्नुपर्‍यो। इलाम र झापासहित वीरगन्ज युनाइटेड एफसी यसै सिजन थपिएका तीन टोली हुन्। वीरगन्जले भने आइतबार गत संस्करणको उपविजेता धनगढी एफसीसँग हार बेहोरेको थियो।

सोमबार तेस्रो नवप्रवेशी झापाले पनि एनएसएलमा ‘डेब्यु’ सुखद गर्न सकेन। यद्यपि, झापाले इलामविरुद्ध कयौं गोल अवसर सिर्जना गर्दै लोभलाग्दो प्रदर्शन भने गर्‍यो। झापाका प्रशिक्षक ओरिओल सेगुरा र स्पोर्टिङ इलामका प्रशिक्षक मेघराज केसीले दुवै तर्फबाट उत्कृष्ट प्रदर्शन भएको प्रतिक्रिया दिए।

केसीले भने पहिलो पटक नै नेपाली दर्शकले यति उत्कृष्ट घरेलु फुटबल देख्न पाएको धारणा राखे। यद्यपि, यो खेलमा पहिलो आक्रमण देख्न लामो समय कुर्नुपर्‍यो। खेलको ११औं मिनेटमा झापाका जर्ज पेइज सान्चेजले गोल गर्ने अवसर गुमाए।

झापाको काउन्टर प्रयासमा सान्चेज स्पोर्टिङ इलामका गोलकिपर विकेश कुथु पनि बिट भएको अवस्थामा गोल गर्न चुके। २१औं मिनेटमा इलामका फोडे क्यामराले गोल नै गरे।

 तर, खेलका रेफ्री उमेश बिडारीले त्यो गोललाई अफसाइडको निर्णय दिए। त्यसको दुई मिनेटपछि नै झापाका फर्नान्डो टोरेसको प्रहार इलामका गोलकिपर विकेशले विफल बनाए।

२९औं मिनेटमा स्पोर्टिङ इलामका इब्राहिम डिजिटेले ड्रिब्लिङ गर्दै डी एरियाबाट गरेको प्रहार पहिलो बार हुँदै बाहिरियो। ३८औं मिनेटमा भरत खवासले स्पोर्टिङ इलामलाई अग्रता दिलाउने अवसर गुमाए। डी एरियाभित्र अनमार्क भरतको प्रहार अकासियो।

 ४४औं मिनेटमा झापाका कप्तान अञ्जनको हेडर माथिल्लो बारमा लागेर फर्कियो र पहिलो हाफ गोलरहित बराबरीमै रोकियो। दोस्रो हाफमा दुवै तर्पmबाट लगातार प्रहार भए, तर इलामले अन्तिम समयमा बाजी मार्‍यो। ४६औं मिनेटमा इलामका अमाथ वान भर्सेस वानमा गोल गर्न चुके। उनको प्रहार झापाका गोलकिपर स्टेफन सुपिचले सहजै रोके।

लगत्तै झापाका अञ्जनले गोल गरे पनि एसिस्टेन्ट रेफ्री मधुकर आचार्यले अफसाइडको झन्डा उठाए। ५४औं मिनेटमा झापाका सान्चेजको उत्कृष्ट हेडर इलामका गोलकिपर कुथुले उत्कृष्ट बचाउ गरे। सुरज विष्टले लेफ्ट साइडबाट दिएको लामो पासमा सान्चेजले हेडर गरे पनि सफल हुन सकेन।

एक मिनेटपछि झापाले गोल गर्ने अर्को अवसर गुमाउन पुग्यो। यस पटक पनि सान्चेज नजिकैबाट गोल गर्न चुके। उनको प्रहारमा कुथु नै बाधक भए। ५८औं मिनेटमा स्पोर्टिङ इलामका आशिष गुरुङले गोल अवसर खेर फाले। फोडे क्यामाराले डी एरियाबाट दिएको बललाई आशिषले जाली चुमाउन सकेनन्।

त्यसको पाँच मिनेटपछि अमाथले एकल प्रयासमा उत्कृष्ट अवसर बनाए पनि फिनिसिङ गर्न असफल रहे। करिब ४० यार्ड टाढाबाट ड्रिब्लिङ गर्दै अगाडि बढेका अमाथले झापाका दुई डिफेन्डरलाई छलाउँदै गरेको प्रहार पहिलो बार हुँदै बाहिरियो।

६९औं मिनेटमा स्पोर्टिङ इलामले लगातार तीन प्रहार गरे पनि झापाका गोलकिपर स्टेफनले तीनै पटक नै उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको संकट टारे। लगत्तै झापाका सान्चेजले डी एरियामा उत्कृष्ट टर्न गर्दै गरेको प्रहार इलामका गोलकिपर कुथुले बचाए। ८२औं मिनेटमा स्पोर्टिङ इलामले अग्रता लिने सुन्दर अवसर पायो।

झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलामका अमाथ गोल गर्न चुके। उनको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो। तर, ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्ती सुधार गरे।

भरत खवासको पास नियन्त्रण लिँदै उनले गरेको सशक्त प्रहार झापाका गोलकिपर स्टेफनले पन्च गरे पनि प्राप्त रिबाउन्ड बललाई अमाथले उत्कृष्ट गोल गरे। इन्जुरी समयमा झापाको गोल गर्ने उत्कृष्ट अवसरमा इलामका गोलकिपर कुथु नायक बने। लक्ष्मण रुचालको पासमा प्रदीप लामाको हेडर कुथुले ‘वान ह्यान्डेड’ बचाउ गर्दै आफ्नो टोली स्पोर्टिङ इलामको तीन अंक सुरक्षित गराए।

प्रकाशित: १२ मंसिर २०८० ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App