२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: स्टारले भरिएको धनगढीको सुखद सुरुआत

वीरगञ्ज युनाइटेडविरुद्ध गोल गरेपछि धनगढी एफसीका अहमद हिजाजी। तस्बिर: एनएसएल

युरोपेली फुटबलका अनुभवी डिफेन्डर फलु डियाग्नेको साथ पाएको गत संस्करणको उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण जितबाट सुरु गरेको छ।

डियाग्नेसहित घरेलु लिगमा गत संस्करणको सहिद स्मारक ‘ए’ डिभिजनका चर्चित खेलाडीलाई भित्र्याएको धनगढीले आइतबार नवप्रवेशी वीरगन्ज युनाइटेडमाथि २–१ को जित निकाल्दै सुखद सुरुआत गरेको हो।

‘ए’ डिभिजन लिगका अनुभवी र सफल स्ट्राइकर ओलावाले आफिज, अहमद हिजाजी र फोडे फोफनाका साथै लेबनानका गोलकिपर मोहमद टाहालाई भित्र्याउँदै धनगढीले यस पटक पनि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ। नेपाली राष्ट्रिय टोलीका सदस्य आशिष चौधरीका साथै रक्षापंक्तिमा अनुभवी डिफेन्डर देवेन्द्र तामाङको साथ पाएको धनगढीले जित सुरक्षित गर्न भने खेलको अन्तिम समय कुर्नुपर्‍यो।

डियाग्ने नेपालको घरेलु फुटबलमा खेल्न आउने अहिलेसम्मकै ठूला स्टार हुन्। जसले आफ्नो पहिलो खेलमा आइतबार ६२ मिनेट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिताए।

 यद्यपि, उनको खेल प्रभावशाली भने भएन। धनगढी एफसीका प्रशिक्षक युगलकिशोर राईले पनि दोस्रो हाफमा डियाग्नेले आशातीत खेल्न नसकेपछि परिर्वतन गरिएको उल्लेख गरेका थिए।

‘उनी जस्तो राम्रो खेलाडीसँग अहिलेसम्म काम गर्ने अवसर पाएका थिइनँ। तर, राम्रा खेलाडी पनि हुन्। तर, दोस्रो हाफमा राम्रो प्रदर्शन हुन नसकेपछि परिवर्तन गरेको हुँ,’ प्रशिक्षक राईले भने, ‘उनी मैदानमा नखेल्दा पनि टोली उत्प्रेरित गर्छन्। मैदानबाहिर होस् या भित्र उनको महत्त्व विशेष छ।’

युरोपेली फुटबल (फ्रेन्च लिग वानमा ७८ खेल, जर्मन बुन्डेसलिगामा ५७ खेल, युरोपा लिग) मा खेलेका डियाग्नेले सेनेगलको राष्ट्रिय टोलीबाट भने तीन खेल मात्र खेलेका छन्। तर, नेपाली फुटबलमा उनको पदार्पण भने यादगार बन्न सकेन। उनकै कारण धनगढीले गोल पनि बेहोर्न पुग्यो। उनले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि वीरगन्जले खेलमा फर्किने अवसर पाएको हो। तथापि, धनगढीले खेलको अन्तिम समयमा गोल फर्काउँदै आइतबार गोलकिपर दीप कार्कीको कप्तानीमा रहेको वीरगन्जमाथि जित निकाल्यो। धनगढीको जितमा दुवै गोल विदेशी खेलाडीले गरे।

फोफना र हिजाजीले गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्। वीरगन्जका लागि हान्स कोफिईले गोल गरे। गत संस्करण ‘ए’ डिभिजन लिगमा रेलिगेसन संघर्षमा रहेको नेपाल पुलिस क्लबले हिजाजीकै प्रेरणामा तेस्रो स्थान प्राप्त गरेको थियो। दोस्रो रोजाइका खेलाडीका रूपमा मैदान प्रवेश गर्दै हिजाजीले एनएसएलमा पनि राम्रो प्रदर्शन गरे।

 धनगढीले अग्रता लिए पनि पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमार्फत वीरगन्ज गोल फर्कियो। तर, हिजाजीले गोल गर्दै धनगढीलाई महत्त्वपूर्ण जित दिलाए। त्यसअघि खेलको दोस्रो मिनेटमा नै धनगढीले फोफनाको गोलबाट अग्रता लियो।

आफिज ओलावालेको लेफ्ट फुटेट पास सदुपयोग गर्दै उनले वान टचमार्फत गोल गरेका हुन्। वीरगन्जले १३औं मिनेटमा पहिलो आक्रमण बुन्यो। डी एरियाभित्रबाट हान्स कोफीको पास नियन्त्रणमा लिँदै बिसोन गुरुङको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो।

२६औं मिनेटमा वीरगन्ज युनाइटेडका विलियम ओपोकुले फ्री हेडरलाई पोस्टको दिशा दिन सकेनन्। ३१औं मिनेटमा ओलावालेले धनगढीको अग्रता दोब्बर बनाउने अवसर गुमाए। वीरगन्जका गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा डी एरियाबाहिरबाट ओलावालेको फितलो प्रहार गोलकिपर दीपले सहजै रोके।

पहिलो हाफको थप समयमा वीरगन्ज पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो। कर्नर प्रहार बल धनगढीका डिफेन्डर डियाग्नेले हातले रोकेपछि वीरगन्जले पेनाल्टी पायो। उक्त पेनाल्टीमा हान्स कोफिईले गोल गर्दै खेल बराबरीमा फर्काए। त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा दुवै टोलीले लामो समयसम्म राम्रो आक्रमण बुन्न सकेनन्।

७१औं वीरगन्जका सीमान्त थापाले लामो दूरीबाट गरेको प्रहार धनगढीका गोलकिपर टाहाले सहजै नियन्त्रणमा लिए। ७५औं मिनेटमा वीरगन्जले अग्रता दोब्बर बनाउने अवसर पाएको थियो।

तर, वीरगन्जका डिफेन्डर समला गुस्ताभाले सेन्टरबाट गरेको प्रहार धनगढीका गोलकिपर टाहाले मुस्किलले बचाए। ८३औं मिनेटमा वीरगन्जका तेज तामाङले डी एरियाभित्रबाट गरेको प्रहार धनगढीको गोलकिपर टाहाले सहजै नियन्त्रणमा लिए।

 ८७औं मिनेटमा आशिष चौधरीले धनगढीलाई अग्रता दिलाउने अवसर गुमाए। करिब ८ यार्ड टाढाबाट उनको लेफ्ट फुटेट सटले पोस्टको दिशा लिन सकेन। ९०औं मिनेटमा लेबनानका स्टार हिजाजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। कृतीशरत्न छुन्जुको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हिजाजले डी एरियाभित्रबाट बललाई जाली चुमाए। त्यो गोल नै धनगढीको जितमा निर्णायक बन्यो।  

प्रकाशित: ११ मंसिर २०८० ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App