पोखरामा आयोजित अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको वर्चस्व रहेको छ।
शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली टोली प्रथम भएको छ। ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम भएको हो।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूतावासको संयुक्त आयोजनामा शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ।
४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ। श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगर (नेपाली सेना) को टोली तेस्रो स्थानमा आएको हो। चिनिया टोली भने चौथो स्थानमा रह्यो। लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ चौथो स्थानमा रहेर अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड टुङ्ग्याएका थिए।
३८ किलोमिटर तर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस प्रथम भए। त्यस्तै बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो भए। उनीहरु सबै नेपाली सेनाका धावकहरु हुन्। क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपाली १० टिम र पाहुना टोली चिनिया ३ टोलीले प्रतिस्पर्धा गरेका थिए। एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए।
टीम इभेन्टमा प्रथम भएको टोलीले नगद ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्यो। त्यस्तै दोस्रो हुने टोलीले २ लाख ८८ हजार र तेस्रो हुने टोलीले नगद २ लाख १६ हजार चौथो हुनेले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गरेको छ। व्यक्तिगत प्रतिस्पर्धाको विजेताले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरे।
अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै अवसरमा विद्यार्थीहरु लक्षित सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम भएका थिए।
उनीहरुले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे। ५ किलोमिटरको दौडमा छात्र तर्फ तेन्जोन रोका मगर र कास्की मोर्डनाइज्डका बादल कार्की क्रमशः दोस्रो र तेस्रो भए। छात्रा तर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र तालबाराही माविकी गीता श्रेष्ठ तेस्रो भइन्। दोस्रो र तेस्रो भएका छात्र तथा छात्राहरुले नगद २० र १५ हजार रुपैयाँ प्राप्त गरेका थिए।
प्रकाशित: ९ मंसिर २०८० १४:५६ शनिबार





