१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नुर्बु आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा

नेपालका युवा बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। आर्मेनियाको येरेभानमा आगामी नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म जुनियर विश्व च्याम्पियनसिप हुँदैछ।

 उक्त च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बुले १६ वर्षमुनि उमेरसमूहमा चुनौती प्रस्तुत गर्न लागेका हुन्। उमेरसमूहको ७० केजी तौलसमूह उनको प्रतिस्पर्धा रहनेछ। त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार आर्मेनियाको येरेभान प्रस्थान गरेको छ। नुर्बुको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो।नुर्बुको प्रशिक्षकमा लालबहादुर पौडेल छन्।

सोमबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए। सो अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे। श्रेष्ठले सोही अवसरमा गत असोजमा चीनको हाङझाउमा सम्पन्न १९औं एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पारेका रविन थापालाई प्रोत्साहनस्वरूप पूर्वघोषित १० हजार रूपैयाँ नगद पुरस्कार पनि प्रदान गरे। एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए।

प्रकाशित: ५ मंसिर २०८० ०८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App