एमेच्योर गल्फर टासी छिरिङले सात अन्डर ६५ को सानदार प्रदर्शनसहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा अग्रता लिएका छन्।
उनले पहिलो दिनको खेलमा सोमबार राष्ट्रिय टोलीका युवा एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। दुई एमेच्योर गल्फरले गोकर्ण गल्फ क्लबमा प्रतिस्पर्धा गरिरहेका ३३ प्रोफेसनल गल्फरलाई पछि पारेका हुन्। सूर्य नेपाल गल्फ टुर २०२३÷२४ को यो पहिलो प्रतियोगिता पनि हो। जहाँ एमेच्योर गल्फरले पहिलो दिन राम्रो प्रदर्शन गरे। सद्भाव ६ अन्डर ६६ सहित टासीलाई पछ्याइरहेका छन्। धरानका प्रोफेसनल गल्फर नीरज तामाङ तीन अन्डर ६९ सहित तेस्रो स्थानमा छन्।
अग्रता बनाएका नीरज शीर्ष स्थानका टासीभन्दा चार स्ट्रोकले पछि रहे। जयराम श्रेष्ठ चौथो स्थानमा रहँदा तोरणविक्रम शाही पाँचौं स्थानमा छन्। पहिलो दिन जयरामले दुई अन्डर ७० र तोरणले एक अन्डर ७१ को प्रदर्शन गरे। इभन पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीपकुमार लामाले संयुक्त रूपमा छैटौं स्थान बाँडे। तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई पनि संयुक्त रूपमा आठौं स्थानमा रहे। पहिलो दिन उनीहरूको प्रदर्शन एक ओभर ७३ रह्यो।
कुल ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र पाँच एमेच्योर गरी कुल ३८ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र पाँच एमेच्योर खेलाडीले कट बनाउनेछन्। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले एक लाख ४५ हजार, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार पाउनेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित: ५ मंसिर २०८० ०७:५५ मंगलबार





