९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

माउन्टेन बाइक रेसमा ११ देशका खेलाडी सहभागी हुँदै

पोखरामा बिहीबारदेखि सुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा ११ देशका ५५ साइक्लिस्टले प्रतिस्पर्धा गर्दै छन् । मंसिर ७ देखि पोखरा महानगरपालिका– १३ को आर्बा–विजयडाँडामा साइक्लिस्टले आफ्नो प्रतिभा देखाउनेछन् ।

प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धी सहभागी हुँदै छन् । ‘प्रतियोगितामा ८८ जनाले नाम दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्दै छन् । अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेका कारण केही खेलाडीले सुरुआती दर्ता गरे पनि सहभागी हुन नसकेका हुन्,’ उनले भने । प्रतियोगितामा नेपालसहित भारत, सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स तथा न्युजिल्यान्ड लगायतका देशका साइक्लिस्टको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा ई–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ । ई–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दाबी छ । जुनसुकै ट्रेलमा साइक्लिङ प्रतिस्पर्धा गरे पनि बाटोको पहँुच पुगेको ठाउँमा मात्रै एन्डुरो प्रतिस्पर्धा हुने उनको भनाइ थियो । डाउन हिल प्रतिस्पर्धामा बाटोको पहुँच नभए पनि प्रतियोगिता सञ्चालन गर्न भने सकिने प्राविधिकहरू बताउँछन् । ‘एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एक मात्रै स्थल हो,’ कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने, ‘एन्डुरो आफैंमा रोमाञ्चक र साहसिक प्रतिस्पर्धा हो ।’

एन्डुरो प्रतिस्पर्धाका लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ । ६ वटा ट्रेल खास गरी १.८ किलोमिटर, २ किलोमिटर लगायतको दूरीको छ । ‘ट्रेलमा साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्ट्याइनेछ ,’ रेस डाइरेक्टर शर्माको भनाइ थियो । खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रूपैँया लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाइ छ। ‘प्रत्येक वर्ष प्रतियोगितालाई निरन्तरता दिने योजना भए पनि ६–६ महिनामा गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं,’ उनले भने।

प्रकाशित: ५ मंसिर २०८० ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App