१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

यमनविरुद्ध पहिलो सफलताको लक्ष्य

नेपाल मंगलबार फिफा वरीयतामा आफूभन्दा २१ स्थान माथि रहेको यमनविरुद्ध जित निकाल्दै विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा पहिलो सफलताको लक्ष्यसहित घरेलु मैदानमा उत्रँदै छ।

नेपालले मंगलबार घरेलु मैदानमा विश्वकप छनोट (दोस्रो चरण) को दोस्रो खेल खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति ७ बजेदेखि हुँदै छ। नेपालले आफ्ना प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको योजनाअनुरूप दोस्रो पटक यो समयमा खेल्न लागेको हो। गर्मी स्थानको यमनविरुद्ध चिसो मौसममा खेलको फाइदा उठाउने प्रशिक्षक एनेसको विश्वास छ।समूह ‘एच’ को टोली नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ४–० को हारपछि अर्को बलियो राष्ट्र यमनको सामना गर्ने भएको हो।

यमन र नेपालबीच हालसम्म चार पटक भेट भएको छ। तीमध्ये तीन खेल यमनले जितेको छ। सन् २०१७ मा घरेलु मैदानमा सम्पन्न एसियन कपको तेस्रो चरणको खेलमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो। सन् २०१८ मार्चमा पछिल्लो पटक नेपालले यमनसँग खेलेको थियो। एएफसी एसियन कपको त्यो खेल यमनको पक्षमा २–१ ले रह्यो। त्यो खेलमा नवयुग श्रेष्ठले एक गोल फर्काएका थिए। यमनसँगको कुल चार भेटमा त्यो नै नेपालले गरेको एक मात्र गोल हो।

त्यसैले बलियो यमनविरुद्ध गोल गर्न नेपालका लागि सहज हुने छैन। सोमबार भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन बलियो भए पनि अधिकांश अनुभवविहीन युवा खेलाडीको साथमा जित निकाल्ने बताए। ‘युएईसँगको खेलपछि तयारी राम्रो भएको छ। पछिल्लो खेलमा धेरै गल्ती भए। यमनसँग भने सुधार गर्नेछौं। त्यसैले उच्चस्तरको प्रदर्शन गर्दै जित निकाल्नेमा विश्वस्त छु,’ प्रशिक्षक एनेसले भने। घरेलु भूमिमा समर्थकको राम्रो साथ रहने भएकाले उच्च मनोबलका साथ खेल्ने प्रशिक्षक एनेसको विश्वास छ।

‘घरेलु भूमिमा आफ्ना समर्थकका माझ उच्च मनोबलका साथ खेल्नेछौं,’ एनेसले भने, ‘हामी सबैलाई थाहा नै छ, धेरै नयाँ खेलाडी छन्। त्यसमा पनि अधिकांश २१ वर्षमुनि र अनुभवविहीन छन्। यमनसँग पहिलो रोजाइमा कोको पर्नेछ, त्यसले पनि नतिजामा महŒवपूर्ण भूमिका खेल्नेछ।’ नेपालका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले यमनसँगको खेलमा जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको धारणा राखे। युएईविरुद्धको खेल मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उनले उल्लेख गरे।

यमन पनि समूहको पहिलो खेलमा बहराइनसँग २–० ले हार बेहोर्दै नेपाल आएको हो। त्यसैले आफूभन्दा कमजोर टोली नेपालसँग जित निकाल्ने लक्ष्यमा यमन हुनेछ। यद्यपि, यमनका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई सहज रूपमा नलिने बताउँछन्। युएईविरुद्ध राम्रो प्रदर्शन गरेकाले तुलानात्मक रूपमा कमजोर नेपाललाई सहज नआँक्ने सुकोपको भनाइ छ। ‘नेपाल राम्रो टोली हो। त्यसैले नेपालसँग खेल्न सहज हुने छैन। नेपालले लाओसलाई हराएर दोस्रो चरण पुगेको हेरेका छौं। चार दिनअगाडि युएईसँग पनि नेपालले राम्रो खेलेको छ। फरक यति थियो कि युएईले पाएका अवसर गोलमा परिणत ग¥यो,’ सुकोपले भने।

फिफा वरीयतामा १५६औं स्थानको यमनका लागि घरेलु टोली सहज प्रतिद्वन्द्वी हुने छैन। किनकि, १२औं खेलाडीको रूपमा मानिने घरेलु समर्थकको राम्रो साथ नेपालले पाउनेछ। त्यसै पनि घरेलु मैदानमा नेपाल बलियो टोलीविरुद्ध राम्रो चुनौती दिने गरेको छ। यसअघि घरेलु मैदानमा नै यमनलाई पनि रोकेको इतिहास छ। तर, यमनका कप्तान अब्दुल्लासी अल मुतारीले टोलीमा अनुभवको कमी नभएका कारण नेपालविरुद्ध समस्या नहुने बताउँछन्। ‘८० प्रतिशतभन्दा बढी खेलाडी पुरानै छन्। बहराइनविरुद्ध केही गल्ती भएको थियो। त्यसलाई दोहोरिन दिँदैनौं,’ मुतारीले भने।

यता, नेपालका कप्तान किरण भने खेलाडीहरू बलियो टोली यमनविरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको उल्लेख गर्दै जित निकाल्नेमा आशावादी छन्। साथै किरणले टोलीको समर्थनमा दर्शकको राम्रो उपस्थिति रहने विश्वास व्यक्त गरे। समूहविजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउनेछन्। त्यसैले समूहमा कमजोर मानिएका नेपाल र यमन दुवैका लागि मंगलबारको खेल महŒवपूर्ण रहनेछ।पछिल्ला समय चोटमा रहेका डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर लाकेन लिम्बु र मनीष डाँगीको उक्त खेलमा सहभागिता बारे सबैको चासो थियो।

यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईविरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन यमनविरुद्ध अनुपस्थित रहने उल्लेख गरे। अनन्तको पुनरागमन हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनविरुद्ध टिकट मूल्यसमेत निर्धारण गरिसकेको छ। एन्फाले साधारणतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार रूपैयाँ निर्धारण गरेको छ। सो खेल राति भएकाले एन्फाले समर्थकका लागि वटा २५ बसको व्यवस्था पनि गरेको जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८० ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App