१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

सविता र किशोर सम्मानित

एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन्।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले तेक्वान्दोका पूर्वखेलाडीद्वय सविता र किशोरको सफलताको कदर गर्दै सम्मान गरेको हो। भनिमण्डलस्थित रामबाघ महलमा आयोजित कार्यक्रमबीच उनीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन र हरिप्रभा खड्गी (श्रेष्ठ) लगायतले प्रशंसापत्र प्रदान गरी सम्मान गरे। सविता र उनका श्रीमान् किशोर सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुदमा क्रमशः रजत र कांस्य पदक विजेता खेलाडी हुन्।

दुवैले १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (हाल दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि जितेका थिए। एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी पनि हुन्।

गत असोजमा चीनको हाङझावमा सम्पन्न १९औं एसियाली खेलकुदमा करातेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जित्दै सविताको उपलब्धिको बराबरी गरेकी थिइन्। यद्यपि इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदअन्तर्गत भने प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा पनि नेपालले रजत जितेको थियो।

बैंकक एसियाडमा तेक्वान्दोका तीन खेलाडी सविता र किशोरसहित सपना मल्ल (कांस्य) तथा करातेका समरबहादुर गोलेले कांस्य पदक जितेका थिए। सन् २००२ मा अमेरिका गएपछि उनीहरू पहिलोपटक नेपाल आएका हुन्। 

प्रकाशित: ३ मंसिर २०८० ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App