२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबल प्रशिक्षक स्वदेश फर्किए

नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बेल्जियमका जान डी ब्रान्ट स्वदेश फर्किएका छन्।

६६ वर्षे प्रशिक्षक ब्रान्ट ६ महिना नेपाली टोलीको प्रशिक्षण पूरा गरेर बेल्जियम फर्किएका हुन्। अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को प्राविधिक सहयोगमा उनी नेपाली राष्ट्रिय भलिबल टोलीको प्रशिक्षक नियुक्त भएका थिए।

नेपाल भलिबल संघले बिहीबार नक्सालमा एक कार्यक्रम आयोजना गर्दै प्रशिक्षक ब्रान्टलाई बिदाइ गर्‍यो। संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठलगायतले बिदाइ गरेका थिए।

प्रशिक्षक ब्रान्ट गत वर्षको फागुन १ गते नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले काभा महिला भलिबल च्याम्पियनसिप र १९औं एसियाली खेलकुदमा महिला तथा पुरुष भलिबल टोलीको प्रशिक्षण समालेका थिए।

एसियाली खेलकुदमा सम्पन्न र्‍याङकिङ प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले ११औं वरीयता प्राप्त गरेको थियो। तर, एसियन गेम्समा भने महिला र पुरुष टोलीको नतिजा भने सुखद रहेन। बिदाइको अवसरमा ब्रान्टले नेपालप्रति धेरै लगाव र माया रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रशिक्षणका लागि यहाँ फर्किने बताए।

नेपाल भलिबल संघले भने एफआइभिबीको सहयोग आगामी वर्षमा रहेमा प्रशिक्षक ब्रान्टलाई नै लामो समय भित्र्याउने लक्ष्य रहेको उल्लेख गर्‍यो। ब्रान्ट बेल्जियम भलिबलका पूर्व खेलाडी समेत हुन्। उनले बेल्जियम र हंगेरीको महिला भलिबल टोलीमा समेत काम गरिसकेका छन्।

साढे दुई दशकभन्दा बढी समय प्रशिक्षणमा बिताएका उनले युरोपका विभिन्न क्लबको प्रशिक्षणमा समेत काम गरेका छन्। नेपाल भलिबल संघले यसअघि पनि एआइभिबीको सहयोगमा नेदरल्यान्ड्सका प्रशिक्षकहरू म्याट भान विजल, लेस्ली जे जोङ र हान आविङजस्ता प्रशिक्षक पाएको छ। 

प्रकाशित: १ मंसिर २०८० ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App