१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

उपाधिको आशामै माउरिन्हो

लन्डन– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग ११ अंकले पछि परे पनि इङ्लिस प्रिमियर लिगको उपाधि आशा नमार्ने बताएका छन् । आइतबार सम्पन्न खेलमा युनाइटेडले वेस्ट ब्रोममाथि २–१ को जित हात पारेको थियो । युनाइटेडको जितमा स्ट्राइकर रोमेलु लुकाकु र जेसी लिंगार्डले समान १÷१ गोल गरेका थिए । वेस्ट ब्रोमका गारेथ बेरीले एक गोल गरेका थिए ।
माउरिन्होले सिटीले आफ्नो अग्रता फराकिलो पारे पनि सिजनको अन्त्यसम्म उपाधि आशा नमार्ने बताएका हुन् ।
‘मलाई सबैबाट उपाधिको आशा मासिसकेको हो भन्ने प्रश्न आउँछ भन्ने थाहा छ । त्यसैले मेरो जबाफ पनि सधैं एउटै हुन्छ— सिजनको अन्त्यसम्म हाम्रो उपाधि आशा जीवित नै हुन्छ,’ माउरिन्होले भने, ‘मे महिनाको मध्यमा हुने यस सिजनको अन्तिम खेलमा हामीले घरेलु मैदान ओल्ट ट्राफोर्डको सामना गर्दै छौ र त्यसैले हामी त्यस खेलसम्म आफूले खेलेका सबै खेलमा निश्चित जित हात पार्न चाहन्छौ ।’
‘सम्भवतः फराकिलो अग्रता भएकाले सिटीले केही समय आराम गर्ला तर हामी  निरन्तर अभ्यासमा हुनेछौ,’ थप गर्दै माउरिन्होले भने, ‘हामी अन्तिम खेलसम्म हिम्मत हार्देनौ ।’ २७औं मिनेटमा लुकाकुले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । लुकाकुले मार्कुस रासफोर्डको पासलाई  पोस्टको दिशा दिएका थिए ।
मध्यान्तर हुन १० मिनेट बाँकी छँदा लिंगार्डले हुवाँ  माटाको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।
७७औं मिनेटमा बेरीले गोल गर्दै वेस्ट ब्रोमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । बेरीले जोनी इभान्सको पासलाई जाली चुमाएका थिए । यस जितपछि १८ खेलको समाप्तिमा ४१ अंक जोडेको युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा यथावत् छ । समान खेलमा ५२ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम छ । त्यस्तै ३८ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । १४ अंक जोडेको वेस्ट ब्रोम १९औं स्थानमा छ ।
यता वेस्ट ब्रोमविरुद्धको खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएपछि युनाइटेडले कप्तान एन्टोनियो भ्यालेन्सियाको फिटनेस जाँच गर्ने बताइएको छ । भ्यालेन्सिया ६६औं मिनेटमा ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिएका थिए ।
भ्यालेन्सिया बुधबार ब्रिस्टोल सिटीविरुद्ध हुने लिग कपको क्वार्टरफाइनल र शनिबार लेस्टर सिटीविरुद्ध हुने लिग खेलमा मैदान उत्रने सम्भावन न्यून छ ।
‘भ्यालेन्सियाको चोटलाई म ‘डिसेम्बर चोट’ को संज्ञा दिन चाहन्छु,’ माउरिन्होले भने, ‘यो निरन्तर खेलका कारण भएको थकाइ हो । उनको ह्यामस्ट्रिङको समस्या सामान्य हो वा गम्भीर भन्ने फिटनेस जाँचपछि थाहा हुन्छ ।’
 

 

प्रकाशित: ४ पुस २०७४ ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App