८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेटः यी चार टोली जसले सेमिफाइनलमा गरे स्थान सुरक्षित

सन् २०२३ को आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ। बुधवार र बिहीवार खेलिने पहिलो र दोस्रो सेमिफाइनलको समिकरण पूरा भएसँगै विश्वकप क्रिकेट पनि अन्तिम चरणमा पुगेको छ। 

प्रतियोगितामा भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र अस्ट्रेलियाले स्थान सुरक्षित गरेसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो।

आइतवार भारत र नेदरल्यान्ड्सबीचको खेल सकिएसँगै समूह चरणका खेलहरू समाप्त भएका छन्। भारतको विभिन्न सहरमा आयोजित सन् २०२३ को विश्वकप क्रिकेटमा १० टोलीले सहभागिता जनाएका थिए। जसमा ४ टोली सेमिफाइनलमा पुगेको छ।  

समूह चरणमा ९/९ खेल खेलेको प्रत्येक टोलीमध्ये भारत एक्लो ९ वटै खेलमा जित निकाल्ने टोली बनेको छ। त्यस्तै दक्षिण अफ्रिकाले ९ मध्ये ७ मा जित हात पार्यो भने अस्ट्रेलियाले पनि ७ मा जित हात पर्यो। जबकी न्युजिल्यान्डले ९ मध्ये ५ मा जित हात पार्यो।

भारतले सेमिफाइनलमा अब साविक उपविजेता न्युजिल्यान्डसँग खेल्ने छ। भारत र न्युजिल्यान्डबीचको खेल बुधवार दिउँसो २: १५ मा मुम्बईको वानखेडे स्टेडियममा हुनेछ। जित्ने टोलीले फाइनलमा उपाधिका लागि स्थान सुरक्षित गर्नेछ।

यस्तै बिहीवार हुने अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। कोलकोत्ताको इडन गार्डेनमा हुने यी दुई टोलीबीचको खेल दिउँसो २ः १५ मा सुरु हुनेछ। जित्ने टोलीले भारत र न्युजिल्यान्डमध्यको विजेतासँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।  

विश्वकप क्रिकेटको उपाधिका लागि आइतवार १९ नोभेम्बरमा अन्तिम भिडन्त हुनेछ।  

यसपटकको विश्वकप प्रतियोगितामा भारत सबैभन्दा बलियो उपाधिको दावेदार देखिएको छ र उसलाई दवाव पनि छ। घरेलु मैदानमा उपाधि जित्नका लागि राम्रो सम्भावना रहेको विश्लेषण गरिएको छ।  

भारतले हालसम्म २ पटक मात्रै विश्वकप उपाधि जितेको छ। त्यसकारण पनि यसपटक भारतको प्रदर्शनले पनि उसले उपाधि उचाल्ने सम्भावना बढी छ। तर, उसलाई कडा टक्कर दिनका लागि अन्य टिम पनि तयार छन्।

विश्वकपको उपाधिका लागि राम्रो दावेदावर मानिएको साविक विजेता इङ्ग्ल्यान्ड, पाकिस्तान र श्रीलङ्काले निराशाजनक प्रदर्शन गर्यो भने अफगानिस्तानको प्रदर्शनले सबैलाई चकित बनायो।  

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले पनि खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उसले मध्यम प्रदर्शनबाट सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।  

यसपटकको विश्वकप क्रिकेटमा साविक विजेता इङ्ग्ल्यान्ड लगायत अन्य टोलीको खासै राम्रो प्रदर्शन देखिएन। बरु कमजोर र सानो भनिएका टोलीले उत्कृष्ट प्रदर्शन गर्दा दर्शकको मन जित्न सफल भएका छन्।  

प्रकाशित: २७ कार्तिक २०८० ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App