१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियामाथि अफगानी बलरको प्रश्न

स्टार क्रिकेटर स्टिभ स्मिथले ‘डबल स्ट्यान्डर्ड’ को आरोप लागेको अस्ट्रेलियाले विश्वकपमा अफगानिस्तानसँग खेल्ने निर्णय आफ्नो तलब र श्रेणीभन्दा माथिको कुरा रहेको बताएका छन् ।

यसै वर्षको सुरुआतमा क्रिकेट अस्ट्रेलिया (सिए) ले अफगानिस्तानसँग तालिबानी भूमिमा तय तीन खेलको एकदिवसीय शृंखला रद्द गरेको थियो । सन् २०२१ मा तालिबान सत्तामा आएपछि महिलालाई आवश्यक शिक्षा र काम गर्ने अवसरबाट वञ्चित गर्दै मानव अधिकार हनन गरेको भन्दै सिएले अफगानिस्तानसँगको शृंखला रद्द गरेको हो । महिला क्रिकेटरलाई पनि खेल्नबाट वञ्चित गरेकाले अस्ट्रेलिया सो भ्रमणबाट पछि हटेको थियो । मंगलबार निकै महत्त्वपूर्ण खेलमा अफगानिस्तान र अस्ट्रेलिया मुम्बईमा खेल्दै छन् ।

यो खेलअगाडि अफगानिस्तानका बलर नवीन उल हकले सामाजिक सन्जालमा एकदिवसीय खेलहरू त्याग्ने, तर विश्वकप खेल्ने भन्दै सिएलाई खराब तत्त्व भनेपछि उक्त पोस्टले चर्चा पाएको छ । ‘शृंखलाका खेल्न अस्वीकार गरियो । तर, विश्वकप खेल्न भने अस्ट्रेलिया तयार हुनु आश्चर्यको कुरा हो,’ नवीनले इन्स्टाग्राममा लेखेका छन् । साथै उनले ह्यासट्याग स्ट्यान्टर्ड, ह्यासट्याग ह्युमन राइट अर टु पोइन्ट भन्दै सिएलाई व्यंग्य गरेका छन् । मुम्बईको वाङ्खडे स्टेडियममा सोमबार भएको पत्रकार सम्मेलनमा अस्ट्रेलियाका पूर्वकप्तान स्मिथलाई अफगानी बलरको आरोपबारे प्रश्न गर्दा उनले यो आफूले पाउने पारिश्रमिक भन्दा माथिको कुरा रहेको बताए ।

‘घरेलु मैदानमा भएको ट्वान्टी–२० विश्वकपमा पनि अफगानिस्तानसँग खेलेका थियौं । अब मंगलबार हुने विश्वकप खेलमा पनि उनीहरूसँग खेल्छौं । तर, यो प्रश्न मेरा लागि हुन सक्दैन । यो मैले पाउने पारिश्रमिकभन्दा माथिको कुरा रह्यो,’ स्मिथले भनेका छन् । नवीनको उक्त पोस्टबारे क्रिकेट अस्ट्रेलियाले आफूहरूले अफगानिस्तानसँगको तीन खेलको शृंखला नरोकेको भन्दै तालिबानले महिलाको अधिकारमाथि गरेको अन्यायविरुद्ध सो कदम चालेको प्रतिक्रिया दिएको छ ।  

‘अफगानिस्तानसँग क्रिकेट खेल्नु सिएको नियन्त्रणमा हुने कुरा हो । तर, विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजना हो र उसको नियममा खेल्नुपर्छ,’ सिएले भनेको छ । मंगलबारको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । विश्व क्रिकेटमा उदाउँदो राष्ट्र अफगानिस्तान अझै जारी विश्वकपको सेमिफाइनलमा दाबेदार छ । समूहमा सात खेलमध्ये चार जित निकालेपछि अफगानिस्तानले यो दाबेदारी प्रस्तुत गरेको हो ।  

पाँच पटकको च्याम्पियन अस्ट्रेलियालाई पनि सेमिफाइनलमा पुग्न बाँकी दुई खेलमध्ये एकमा जितको आवश्यक छ । अस्ट्रेलिया अफगानिस्तान र बंगलादेशसँग जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । विश्वकप इतिहासमा बहिष्कार र वाकओभरका घटनाहरू छन् ।  

सन् १९९६ को विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलंकामा खेल त्यागेका थिए । इङ्ल्यान्डले पनि सन् २००३ मा सहआयोजक जिम्बाब्वेसँग खेल्न अस्वीकार गरेको थियो । 

प्रकाशित: २१ कार्तिक २०८० ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App