४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

मंसिर दोस्रो साता पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक प्रतियोगिता

पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ। माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ। माउण्टेन बाईक प्रतियोगिता पोखरा महानगरपालिका वडा नं १३ स्थित आर्वाविजयको डाँडामा हुनेछ।

झण्डै १४ सय मिटरको उचाईबाट डाउनहिल शैलीको पोखरा एन्डुरो हुने डन टिल डस्कका संस्थापक सुनिलचन्द्र शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पोखराको आर्वामा आयोजना गरिएको पोखरा एन्डुरो माउण्टेन बाईक प्रतियोगिता पहिलो हो। यसअघि डाउन हिल, रोड रेस, पोखरा आईभी लगायतका साईक्लिङ प्रतियोगिता हुदैं आएका छन्।

खासगरी एन्डुरामा सडक सञ्जाल छोएको हुनुपर्ने छ। जुनसुकै ट्रेलमा साईक्लिङ प्रतिस्पर्धा गरेपनि बाटोको पहँुच पुगेको ठाँउमा मात्रै एन्डुरो प्रतिस्पर्धा हुने उनको भनाई थियो। डाउन हिल प्रतिस्पर्धामा बाटोको पहुँच नभएपनि प्रतियोगिता सञ्चालन गर्न भने सकिने प्राविधिकहरु बताउँछन्। ‘एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एकमात्रै स्थल हो,’ कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने, ‘एन्डुरो आफैंमा रोमाञ्चक र साहसिक प्रतिस्पर्धा हो ।’  

डन टिल डस्कका संस्थापक शर्माका अनुसार एन्डुरो प्रतिस्पर्धाको लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ। ६ वटा ट्रेल खास गरी १.८ किलोमिटर, २ किलोमिटर लगायतको दुरीको छ। ‘ट्रेलमा साईक्लिष्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टाईने छ,’ उनको भनाई थियो। प्रतियोगितामा नेपालसहित विभिन्न ११ देशका साईक्लिष्टले सहभागिता जनाउने छन्। भारत,सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स तथा न्युजिल्याण्ड लगायतका साईक्लिष्टको सहभागिता रहने उनले जानकारी दिए।  

‘५३ जना राईडरले सहभागिता शुल्क बुझाईसकेका छन। दर्ता भने ८१ जना भन्दा बढीले गरेका छन,’ उनले भने–‘दर्ता गरेका राईडरले शुल्क बुझाउन बाँकी छ।’ तीन दिने प्रतिस्पर्धाको लागि ९ हजार शुल्क तोकिएको छ । तोकिएको शुल्कमा साईक्लिष्टलाई पोखराको लेकसाईडबाट ल्याउने, लैजान सहित आवासिय सुविधा प्रदान गरिने आयोजकले जनाएको छ।  

प्रतियोगितामा इलिट पुरुष तर्फको जुनियर(१२–१८वर्ष), माष्टर्स क(३०–३९ वर्ष) माष्टर्स ख(४०–४९ वर्ष), भेट्रान तर्फ (५० वर्षमाथि), महिला ओपन र ई–बाईक गरी जम्मा ७ इभेण्टमा प्रतिस्पर्धा गराईने छ। इभेण्ट अनुसार ट्रेल तय गरिएसकिएको आयोजक संस्थाले जनाएको छ। आयोजक संस्थाका अनुसार पूर्वाधार बनाउन मात्रै ५० लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको छ।  

प्रतियोगितालाई पोखरा महानगरपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको छ। पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालले यो वर्ष थोरै बजेट छुट्टाएको जनाउँदै आगामी वर्षदेखि महानगरको रातो किताबमै राखेर बजेट विनियोजन गर्ने उदघोष गरे। उनले एन्डुरो प्रतियोगिता आफैंमा साहसिक भएको उल्लेख गर्दै पोखरालाई साहसिक खेलको हब बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरे। आयोजक संस्था डन टिल डस्कका अनुसार विजेताहरुलाई अमेरिका, सिंगापुर र नेपालको कम्पनीले नगद पुरस्कार उपलब्ध गराउने छ।  

प्रकाशित: १८ कार्तिक २०८० १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App