१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

मचुङबुङ फुटबलको उपाधि हलेसी तुवाचुङलाई

विजयी खेलाडी टिमलाई पुरस्कार दिदै सांसद र वडाध्यक्ष । तस्विरः महेश्वर

पहाडी गाउँपालिका लिमुचुङबुङमा आयोजित फुटबल प्रतियोगितामा खोटाङको हलेसी तुवाचुङको टिमले जितेको छ। लिमुचुङबुङ २ तामलिछको तामलि खेलमैदान छतिवनेमा दुईसातासम्म सञ्चालित प्रतियोगिताको बिहीबार सम्पन्न फाईनल खेलमा हलेसी तुवाचुुङ आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।

हलेसीले तामलिछालाई टाईब्रेकरमा ९–८ गोलले हराएर उपाधि हात पारेको हो । निर्धारित ९० मिनटको खेलमा हलेसी तुवाचुङका खेलाडी सागर बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका थिए।

मध्यान्तरपछिको खेल सुरु भएको ७ औं मिनेटमै आयोजक तामलिछाका संरक्षण राईले गोल फर्काएर बराबरी भएपछि खेल अवधिभर दुवैपक्षबाट गोल हुन नसक्दा नतिजा निकाल्न टाईब्रेकरको सहारा लिन परेको हो।सुरुवाती चरणदेखि एकार्काले दबावमा राखेका दुवै टिम अन्ततः बराबरीमा पुगेपछि टाईब्रेकरमा भिडाएर नतिजा निकाल्नु परेको आयोजक लिमुचुङबुङ २ वडा खेलकुद विकास समितिले जनाउको छ । टाईब्रेकरमा हलेसी तुवाचुङसँग आठौँ प्रहारसम्म बराबरी गोल गरेको तामलिछाले अन्तिममा टिम क्याप्टेन बिसन राईको एउटा प्रहार चुकेसँगै उपबिजेतामा सीमित हुनु परेको हो।

विजेता टिमलाई ४० हजार नगद, ट्रफि र प्रमाणापत्र प्रदान गरियो भने उपविजेताले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडी टिमलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य नारायण बुर्जामगर र वडाध्यक्ष राईले संयुक्त रुपमा ट्रफि तथा पुरस्कार वितरण गरे।सांसद बुर्जाले लिमचुङबुङको खेलकुदलाई प्रोत्साहन गर्न खेलमैदान व्यवस्थापनका लागि प्रदेश सरकारसँग आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने पनि बताए।

दशैं तिहारको उपलक्षमा आयोजित प्रतियोगिता कात्तिक ११ गतेदेखि सुरु भएर १५ गते फाईनल स्पर्धा गराइएको वडाध्यक्ष जितेन्द राईले वताए।उनका अनुसार प्रतियोगिताले चाडवाडमा रौनकता बढाउनुका साथ वडाबासीहरुलाई जमघट, अन्तरघुलन गराउदै खुसी साटासाट गर्ने अबसर दिन खेलकुद कार्यक्रम राखिएको हो । लिमुचुङबुङको कृषि र पर्यटनलाई आन्तरिक र बाह्य जिल्लाबासीसँग जोड्न छिमेकी जिल्लाका स्थानीयतहहरुलाई पनि प्रतियोगितामा निम्ता दिइएको अध्यक्ष राईले बताए।  

स्थानीय तामलि स्पोटर्स क्लब छतिवने खेलमैदानमा आयोजित प्रतियोगितामा हलेसी तुवाचुङ ७ हलेसी, हलेसी तुवाचुङकै ५ नं. वडाको किरात युबा समाज गणेसटार र हलेसी तुवाचुङकै ११ नं. वडा राजापानी चपलेटी टिमको सहभागिता थियो।त्यस्तै खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिका १ बतासे र चुमाखु स्पोर्टस क्लब, द्रिपुङ चुईचुम्माकै वारेमतुङ स्पोर्ट्स क्लब बतासे, रातमाटे स्पोर्ट्स क्लब रातमाटे तथा उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडे, लिमचुङबुङ १ बास्बोटेका ए र बी, आयोजक ताम्लिछा ए र तामली स्पोर्टस क्लब ताम्लिछा बी गरी १३ टिमको सहभागिता रहेको वडा खेलकुद विकास समितिका अध्यक्ष मण्डल राईले बताए। 

अध्यक्ष राईले प्रतियोगितामा वडा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रकम र स्थानीय तथा प्रबासबाट संकलित ७० हजार गरी २ लाख २० हजार खर्च भएको बताए।

प्रकाशित: १६ कार्तिक २०८० १६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App