१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फिलिपिन्सलाई बलियो चुनौती दिन तयार

काठमाडौं- नेपालका प्रशिक्षक ग्योटुको कोजीले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।
सोमबार एन्फा मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा बोल्दै कोजीले पहिलो रोजाइका रक्षक आदित्य चौधरी र दीपेन्द्र तामाङको चोटका कारण टोलीमा उनीहरूको अनुपस्थिति खड्के पनि आफूहरू घरेलु मैदानमा फिलिपिन्सलाई बलियो चुनौती  दिन तयार भएको बताएका हुन् ।
‘आदित्य र दीपेन्द्र टोलीका प्रमुख खेलाडी हुन् । उनीहरूको अनुपस्थितिले हामी पुरानै रणनीतिमा फर्कन बाध्य भएका छांै,’ कोजीले भने, ‘हामी  विगतका खेलमा गरेको कमजोरी सुधार गर्दै सुखद नतिजा निकाल्ने प्रयास गर्नेछांै ।’
यसअघि कोजीले गत महिना ताजकिस्तानविरुद्धको दोस्रो लेगको खेलमा ३–५–२ को नयाँ रणनीतिमा टोली उतारे पनि सफल हुन सकेका थिएनन् । रक्षापंक्तिको गल्तीमा नेपालले ताजकिस्तानलाई ३–० को नतिजा सुम्पिएको थियो । मंगलबारको खेलमा टोली ४–४–२ को पुरानै रणनीतिमा फर्कनेछ ।
पहिलो रोजाइका दुई रक्षकको अनुपस्थितिमा कोजीले मिडफिल्डर रोहित चन्द र राजेन्द्र रावललाई रक्षापंक्तिको जिम्मेवारी दिँदै सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।
घोषित टोलीमा चन्द र रावलसँगै विराज महर्जन, अनन्त तामाङ, कमल क्षेष्ठ, जितेन्द्र कार्की र दिनेश राजवंशी रक्षापंक्तिको जिम्मेवारी सम्हाल्नेछन् ।
त्यस्तै मिडफिल्डर जगजित श्रेष्ठले दुई वर्षपछि टोलीमा पुनरागमन गर्दा गोलकिपर विशाल श्रेष्ठले पनि टोलीमा पुनरागमन गरेका छन् । कोजीले मिडफिल्डमा जगतजितसहित सुजल श्रेष्ठ, विशाल राई,  विक्रम लामा, अन्जन विष्ट, हेमन गुरुङ, हेमन्त थापा र सुनील बललाई समावेश गर्दा गोलकिपर श्रेष्ठले किरणकुमार लिम्बु र विकेश कुथुसँगै टोलीमा स्थान पक्का गरेका हुन् ।
यता कप्तान तथा स्ट्राइकर अनिल गुरुङले पनि टोलीमा पुनरागमन गरेका छन् । फिलिपिन्ससँगको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्ने भएकाले गुरुङका लागि राष्ट्रिय टोलीबाट यो अन्तिम खेल हुनेछ । उनले सन् २००८ मा ओमानविरुद्धको विश्वकप छनोट खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
गुरुङसँगै विमल घर्तीमगर, नवयुग श्रेष्ठ, भरत खवास र जर्ज प्रिन्स कार्कीले पनि टोलीमा स्थान बनाएका छन् ।
‘पछिल्लो खेलमा हाम्रो प्रमुख समस्या रक्षापंक्तिमा देखिएको थियो,’ कोजीले भने, ‘त्यसैले हामीले रक्षापंक्तिमा भएका कमीकमजोरी सुधार्ने गरी तयारी गरेका छौं ।’
समूह ‘एफ’ मा ४ खेलको समाप्तिमा एक अंक मात्र जोडेको नेपाल  अन्तिम स्थानमा छ र टोली छनोट चरणबाट बाहिरिसकेको छ ।  यता समान खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको फिलिपिन्स ८ अंकका साथ समूहको शीर्ष स्थानमा छ । समान खेलमा समान ६÷६ अंक जोडेका यमन र ताजकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
यसअघि सम्पन्न पहिलो लेगमा नेपालले फिलिपिन्सलाई ४–१ को नतिजा सुम्पिएको थियो ।
फिलिपिन्सका प्रशिक्षक थोमस डोलीले नेपाललाई कमजोर टोलीका रूपमा नलिने बताए ।
पछिल्लो खेलमा हात पारेको नतिजाको कुनै अर्थ छैन,’ डोलीले भने, ‘यो खेल हाम्रा लागि महŒवपूर्ण खेल हो । नेपाल घरेलु टोली भएकाले उनीहरूविरुद्धको खेल सहज हुनेछैन तर पनि हामी यस खेलमा स्पष्ट तीन अंक जोड्दै एएफसी एसियन कपमा स्थान पक्का गर्न चाहन्छौं ।’
बुधबार हुने समूहको अन्य खेलमा यमनले ताजकिस्तानको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह उपविजेताले पनि एसियन कपमा स्थान पक्का गर्ने भएकाले दुवै टोली तीन अंक जोड्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछन् ।

प्रकाशित: २८ कार्तिक २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App