१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

संन्यासको मुडमा अनिल

काठमाडौं- राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले घरेलु मैदानमा हुने एएफसी एसिया कप छनोट खेलको दौरान संन्यास लिने भएका छन् ।
एसिया कप छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा कात्तिक २८ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा फिलिपिन्सविरुद्ध खेल्दै छ ।
छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेको नेपालको एसिया कप छनोट खेल खेल्ने सम्भावना सकिइसकेको छ । प्रतियोगितामा नेपालले १ अंक मात्र जोड्दै अंकतालिकाको पुछारमा छ ।
करिब एक दशकभन्दा बढी नेपाली राष्ट्रिय टोलीबाट खेलेका अनिलले भारत, लन्डनबाट व्यावसायिक फुटबल खेलेका छन् ।
उनले घरेलु फुटबलमा एनआरटी, लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी क्लब, बिग्रेड ब्वाइज क्लब, थ्री स्टारलगायतबाट उच्च स्तरको खेल प्रदर्शन गरेका छन् । पोखरेली स्ट्राइकर अनिल सहारा एकेडेमीका उत्पादन हुन् । उनले भारतीय लिगमा सिलोङ लाजोङबाट खेलेका छन् ।
तीव्र गतिका अनिललाई नेपाली फुटबलमा मिहिनेती स्ट्राइकरको रूपमा लिइन्छ । पछिल्लो समय अनिल राष्ट्रिय टोलीका अनुभवी स्ट्राइकर हुन् । राष्ट्रिय टोलीमा उनी पेनाल्टी टेकर पनि हुन् ।
फिलिपिन्सविरुद्धको संन्यास लिने खेल अनिलको ५०औं अन्तराष्ट्रिय खेल हो । संन्यास लिने पक्का भएको अनिलले नागरिकलाई बताए । अनिलले राष्ट्रिय टोली जापानमा अभ्यास खेल खेल्न गएको बेला संन्यास लिने योजना बनाएका थिए । घाइते भएका कारण उनले त्यति बेला संन्यास लिने निर्णयलाई केही समयका लागि स्थगित गरेका थिए । नयाँ पुस्ता र नेपाली फुटबलका लागि आफूले सन्यास लिने निर्णयमा पुगेको अनिलले बताए ।
उनले भने, ‘हरेक खेलाडीको संन्यास लिने समय आउँछ । खेल्न मन लाग्छ । तर उमेर सँगै अरू धेरै कुराले साथ दिनुपर्छ । मेरा लागि अब संन्यास लिने समय उपयुक्त हो लागेर यो निर्णयमा पुगेको हँु ।’
‘घरेलु मैदानमा संन्यास लिन पाउनु खुसीको कुरा हो । मैले एन्फा र आफ्नो साथीसँग संन्यास लिने बारेमा कुरा गरेको छु,’ अनिलले भने, ‘संन्यास लिने समय सही नहुन सक्छ । तर अब संन्यास लिने समय आएको छ जस्तो लाग्छ । फुटबलका लागि मैले अब संन्यास लिनुपर्छ । नयाँ भाइहरू राम्रा छन् । उनीहरूले अब अवसर पाउनुपर्छ । मैले फरक ढंगबाट फुटबलमा सक्रिय हुने निर्णय गरेको छु ।’

प्रकाशित: २१ कार्तिक २०७४ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App