२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

२५ वर्षपछि एसियाडमा नेपाललाई पदक

२५ वर्षपछि एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी करातेकी खेलाडी एरिका गुरुङले सो पदक देशलाई समर्पित गरेकी छन् ।

एरिकाले जारी १९औं एसियाली खेलकुदमा शनिबार करातेको महिला ६८ केजीमाथि रजत पदक जितेकी हुन् । लिनपियाङ स्पोर्टस सेन्टरमा शनिबार भएको फाइनलमा भने उनी कजाखस्तानकी सोफिया बरुलत्सेभासँग ३–० ले पराजित हुन पुगिन् । फाइनलमा पराजयपछि उनले यो पदक देशका लागि समर्पित गर्दै यो सफलतासम्म आइपुग्न मिहिनेत गर्ने प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद् र नेपाल कराते महासंघलाई धन्यवाद दिइन् । उनी पदक वितरण समारोहमा विपक्षीलाई स्वर्ण पदक लगाउँदा केही भावुक पनि भएकी थिइन् । सोही प्रश्न खेलपछि गर्दा उनको गला बसेको थियो ।

‘देशको झन्डा माथि उठाउँदा केही भावुक भएकी हुँ । मेरो देशको झन्डा सबैभन्दा माथि भइदिएको भए हुन्थ्यो भन्ने लाग्यो । स्वर्ण जितेको भए झन्डा माथि हुन्थ्यो । तर मैले चाहेको जस्तो हुन सकेन,’ पदक वितरण समारोहमा उनले भनिन्, ‘तर मेरो यात्रा यहीं रोकिने छैन । अर्को पटक स्वर्ण पदक जित्ने लक्ष्यका साथ अगाडि बढ्नेछु ।’ सन् १९९८ मा सविता राजभण्डारीले एसियाडमा देशका लागि तेक्वान्दोमा पहिलोपटक रजत पदक दिलाएकी थिइन् ।

करातेमा पदक वितरण समारोहमा एरिका

गत संस्करण पनि नेपालले सो सफलता पाएको थियो । तर, इन्डोनेसियामा सन् २०१८ मा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङको पुरुष टिममा रजत पदक जितेको हो । एरिकाको यो सफलताको यात्रा यादगार नै रह्यो । शनिबार नै उनले दुई प्रतिद्वन्द्वीलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेकी हुन् । क्वार्टरफाइनल प्रतिस्पर्धा झनै रोमाञ्चक रह्यो । उनकी पहिलो प्रतिद्वन्द्वी थिइन्, विश्वको पाँचौं वरीयतामा रहेकी जापानकी युजिकी सावाए । त्यो खेलअगाडि एरिका केही नर्भस भने भएकी थिइन् । तर उनले जापानकी प्रतिद्वन्द्वीसँग १–१ स्कोरको बराबरी गरिन् ।

एरिकाले यो खेलमा पहिलो अंक पाएकी हुन् । त्यो नै उनका लागि भाग्यशाली साबित भइदियो । बराबरीपछि पहिलो अंक प्राप्त गरेका आधारमा उनी विजेता घोषित भइन् । त्यसपछि सेमिफाइनल प्रतिस्पर्धामा भने एरिका नै हाबी देखिन् । उनले हङकङकी हो काई यानलाई ८–४ ले हराइन् । यससँगै उनले एसियाली खेलकुदको सन् १९९८ पछि व्यक्तिगत स्पर्धामा पहिलो पटक नेपाललाई स्वर्ण पदकको यात्रा तय गराइन् । फाइनलमा उनको प्रतिद्वन्द्वी थिइन्, कजाखस्तानकी सोफिया बरुलत्सेभा । उनी सन् २०२० को टोकियो ओलम्पिकको स्वर्ण विजेता र विश्व नम्बर एक खेलाडी हुन् ।

उनले एसियन च्याम्पियनसिपमा दुई पटक स्वर्ण पदकसमेत जितेकी थिइन् । त्यसैले उनीविरुद्ध जित निकाल्नु उनका लागि सहज भने थिएन । तर, अघिल्ला खेलमा पाएको जित नै उनका लागि बलियो आत्मबल थियो । यद्यपि, फाइनलको नतिजा उनको पक्षमा रहेन । एरिका कजाखस्तानकी अनुभवी सोफियासँग ३–० ले पराजित भइन् । त्यससँगै एरिका पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउनबाट चुकिन् । खेलपछि उनले देशका लागि पहिलो स्वर्ण जित्न जतिसक्दो प्रयास गरे पनि प्रतिद्वन्द्वी आफूभन्दा निकै बलियो रहेकाले सफल हुन नसकेको बताइन् ।

‘मैले सक्दो प्रयास गरेँ । तर, प्रतिद्वन्द्वी मभन्दा बलियो र अब्बल देखिइन् । मेरो लक्ष्य पूरा हुन सकेन,’ ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेपछि एरिकाले भनिन्, ‘तर, हामीले गर्न खोज्यौं भने सफलता प्राप्त हुने रहेछ भन्ने लाग्यो । मेरो यात्रा यहाँसम्म रोकिने छैन । आगामी दिनमा पनि मिहिनेत गर्नेछु ।’ सन् १९५१ को पहिलो एसियाली खेलकुददेखि नै नेपालले सहभागिता जनाउँदै आएको हो । तर, नेपालले पहिलो पदक जित्न भने सन् १९८६ सम्म कुर्नुप¥यो । त्यसयता, नेपालले जारी १९औं एसियाली खेलकुदसम्म आइपुग्दा पदक जितेको छ । जारी एसियाली खेलकुदमा दुई पदकसहित नेपालले कुल २६ पदक प्राप्त गरिसकेको छ ।

करातेमा नेपालका लागि यो चौथो पदक हो । पछिल्लो पटक सन् २०१६ को इन्चोन एसियाली खेलकुदमा करातेकी विमला तामाङले कांस्य पदक दिलाएकी थिइन् । त्यसअघि सीता राईले सन् १९९४ मा जापानको हिरोसिमामा सम्पन्न एसियाली खेलकुद र समरबहादुर गोलेले सन् १९९८ को बैंकक एसियाडमा नेपाली करातेलाई कांस्य पदक दिलाएका थिए । नेपाली टोलीका सेभ दी मिसन राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले एरिकालाई ऐतिहासिक पदक जित्न सफल भएकोमा बधाई दिँदै एरिकाले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए ।

नेपाली कराते टोलीका प्रशिक्षक एवं साग स्वर्णधारी कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रूपमा रजत दिलाउन पाउँदा निकै खुसी लागेको धारणा राखे । ‘करातेले ऐतिहासिक पदक जितेको छ । हामीले जसको भिडियो हेरेर खेलेका थियौं, फाइनलमा उसैसँग खेल्न पाएका छौं । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्ण पदक जित्न सकिन्छ,’ कुशलले भने । शनिबारै नेपालका सन्तोष श्रेष्ठ पुरुष ६७ केजीमुनि तौल समूहको प्रि–क्वार्टरफाइनलमा थाइल्यान्डका फियन्डी चाइवाटसँग ३–२ अंकले पराजित भएका थिए ।  

कबड्डी : शनिबार पदक वितरण

नेपालले महिला कबड्डीमा जितेको ऐतिहासिक कांस्य पदक शनिबार पाएको छ ।

महिला कबड्डीतर्फ फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनिज ताइपेईलाई २६–२५ अंकले हराउँदै स्वर्ण जित्यो । नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । नेपालले जारी एसियाडको १५औं दिनमा आएर शनिबार औपचारिक रूपमा कांस्य पदक ग्रहण गरेको छ । नेपाल समूहचरणमा बंगलादेशलाई ३७–२४ अंकले हराएर पदकनजिक पुगेको थियो । समूह ‘बी’ को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अंकले पराजित भएको थियो । समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अंकले चुकेको थियो ।

एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीका खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी ९कप्तान०, मानमती विष्ट, जयन्ती बडु, सुनीता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, ईशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त छन् । एसियाडमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौं खेल हो । यसअघि कराते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाइडिङले नेपाललाई पदक दिलाइसकेका छन् । महिला कबड्डीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

पदक वितरणपछि सामूहिक तस्बिरमा कबड्डी टोली 

भलिबल : नेपालको सान्त्वना जित

नेपालले महिला भलिबलमा अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको क्लासिफिकेसन खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा हराउँदै सान्त्वना जित निकालेको हो । नेपालले मंगोलियामाथि १७–२५, २५–१८, २५–२१, १८–२५, १५–१२ को जित दर्ता गर्यो । जितसँगै नेपाल ११औं स्थानमा रह्यो । महिला भलिबलमा १३ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला भलिबल टोलीले पहिलो पटक एसियाड खेलेको हो । जारी १९औं एसियाली खेलकुदमा नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवै टोलीले प्रतिस्पर्धा गरेका थिए । यद्यपि, समूहचरणमा दुवै टोलीले एक खेल पनि जित्न सकेनन् । वरीयताको अन्तिम खेलमा भने नेपालको महिला भलिबल टोलीले सान्त्वाना जित निकाल्यो ।

 क्यानोइङ : गणेश आठौं स्थानमा खुम्चिए

नेपालका गणेश गुरुङ जारी १९औं एसियाली खेलकुदको क्यानोइङमा शनिबार आठौँ स्थानमा खुम्चिएका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडीमध्ये गणेश आठांै भएका हुन् । शनिबार नै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए । क्यानोइङमा चीन काक्वानसिनले स्वर्ण, जापानका तानाकायुकीले रजत र चाइनेज ताइपेईका उ साओले हसुनले कांस्य जिते । क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।

क्यानोइङमा फाइनल प्रतिस्पर्धा गर्दै गणेश गुरुङ 

कुस्ती : राज र चुनारा पराजित

नेपालका राज यादव र सुरेश चुनारा जारी १९औं एसियाली खेलकुदमा कुस्तीको पहिलो खेलमा नै पराजित भएका छन् ।

हाङझाउस्थित लिनान स्पोर्ट्स एन्ड कल्चर एक्जिबिसन सेन्टरमा शनिबार भएको पुरुष फ्रिस्टाइल ८१ केजी तौलसमूहको प्रिक्वार्टरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए । पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वार्टरफाइनलमा सुरेश चुनारा तुर्कमिनिस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । महिलातर्पm शिवाङ्गी दुवे र सुशीला चन्द पहिलो खेलमै पराजित भएका थिए ।

प्रकाशित: २१ आश्विन २०८० ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App