१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

रोनाल्डो फिफा वर्ष खेलाडी

लन्डन(एएफपी)– पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सात आफ्नो भाग्यशाली नम्बर भएको भन्दै सात पटक फिफा वर्ष खेलाडीको पुरस्कार जित्ने लक्ष्य भएको बताएका छन्।

सोमबार लन्डनमा पाँचौं पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्दै चिर प्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको कीर्तिमानसँग बराबरी गरेपछि रियाल मड्रिडका स्ट्राइकर रोनाल्डोले यस्तो प्रतिक्रिया दिएका हुन्।

फिफाले गत वर्षबाट फ्रान्सेली म्यागजिन बालन डी अरसँगको ६ वर्षे सम्झौता तोड्दै त्यसको सट्टा फिफा वर्ष खेलाडीको नाममा अवार्ड दिन सुरु गरेको थियो । रोनाल्डोले गत वर्ष पनि फिफा वर्ष खेलाडीको उपाधि जितेका थिए । पछिल्लो चार वर्षमा रोनाल्डोले हात पारेको यो तेस्रो वर्ष खेलाडीको उपाधि हो ।

रोनाल्डोले गत वर्ष रियाललाई ला लिगा र च्याम्पियन्स लिग गरी दोहोरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। बितेको वर्ष २०१६ मा उनले क्लब र देशका लागि गरी कुल ४८ खेलमा ४४ गोल गरेका थिए ।

यस पटक रोनाल्डोले अवार्ड हात पार्ने क्रममा मेसी र पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिली स्ट्राइकर नेइमारलाई पछि पारेका थिए । तर म्यानचेस्टर युनाइटेड हँुदै रियाल आएका रोनाल्डो क्लब फुटबलमा हात पारेको ठूलो सफलतापछि पनि सन्तुष्ट देखिएनन्।

‘म सातौं पटक फिफा वर्ष खेलाडीको उपाधि जित्न चाहन्छु । पाँच पटक यो उपाधि जित्नु पनि कम उपलब्धि होइन। तर सात मेरो भाग्यशाली नम्बर हो । त्यसैले सातौं पटक वर्ष खेलाडीको उपाधि जित्न सके त्यो अद्भुत हुनेछ ।’

‘मलाई भोट गर्ने सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिन चाहन्छु,’ अर्जेन्टिनी पूर्वकप्तान डिएगो म्याराडोना र ब्राजिलका रोनाल्डोबाट वर्ष खेलाडीको अवार्ड हात पारेपछि क्रिस्टियानो रोनाल्डोले भने, ‘म लियोनेल मेसी र नेइमारलाई पनि सम्झन चाहन्छु । म रियालका सम्पूर्ण समर्थक, टिम सहयात्री तथा प्रशिक्षक र प्रशिक्षण टोलीका सबै सदस्यलाई वर्षभरि दिएको साथ र समर्थनका लागि धन्यवाद दिन चाहन्छु ।’

‘मैले फिफा वर्ष खेलाडीको उपाधि जितेको यो लगतार दोस्रो पटक हो,’ रोनाल्डोले थपे, ‘मेरा लागि यो ठूलो उपलब्धि हो । मेरो उत्कृष्ट लय आगामी दिनमा पनि कायम हुनेमा आशावादी छु ।’

त्यस्तै रियाललाई गत सिजन दोहोरो उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदानले फिफा वर्ष प्रशिक्षको उपाधि हात पारेका छन् ।  उनको प्रशिक्षणमा रियाल च्याम्पियन्स लिग इतिहासमा साबिक विजेताको हैसियतले उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो । वर्ष प्रशिक्षकको उपाधि जित्ने क्रममा जिदानले चेल्सीका एन्टोनियो कोन्टे र युभेन्ट्सका मासिमिलियानो एलेग्रीलाई पछि पारे ।

‘खेलाडीको सहयोग र साथबिना मैले क्लबलाई च्याम्पियन्स लिग इतिहासमा साबिक विजेताको हैसियतले उपाधि रक्षा गर्ने पहिलो टोली बनाउन सम्भव थिएन । त्यसैले म उनीहरूलाई धन्यवाद दिन चाहन्छु,’ उपाधि जितेपछि जिदानले भने ।

यता युभेन्ट्सका इटालियन गोलकिपर जियानलुइजी बुफोनले फिफा वर्ष गोलकिपरको उपाधि जिते । यस क्रममा उनले रियालका केलोर नाभास र बायर्न म्युनिखका म्यानुअल नुयुरलाई पछि छोडे ।

त्यस्तै फिफा वर्ष टोलीमा पनि रियालकै खेलाडीको बर्चस्व रहयो । फिफा–११ मा रियालका रोनाल्डोसहित टोनी क्रुज, लुका मोडरिच, मार्सेलो र सर्जियो रामोस परेका थिए । बुफोन गोकिपरका रुपमा टोलीमा पर्दा एसी मिलानका लियोनार्दो बोनुची र पिएसजीका ड्यानी आल्भेस रक्षकका रूपमा परे । त्यस्तै बार्सिलोनाका मिडफिल्डर आन्द्रियास इनियस्टा तथा स्ट्राइकर मेसी र पिएसजीका नेइमार पनि फिफा–११ मा अट्न सफल भए ।

यता आर्सनलका स्ट्राइकर ओलिभर जिरौडले उत्कृष्ट गोल गरेबापत पाउने पुस्कास अवार्डको उपाधि जिते । गत सिजन प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्धको खेलमा ‘स्कर्पियन किक’ मा गोल गरेका थिए ।

त्यस्तै नेदरल्यान्डस्की  लेकी मार्टिन्सले फिफा महिला वर्ष खेलाडी र प्रशिक्षक सारिना व्येगम्यानले फिफा महिला वर्ष प्रशिक्षको उपाधि जिते ।

फिफा फेयर प्लेको अवार्ड  फ्रान्सिस्को कोनेहलह हात पारे ।  चेक लिग दौरान उनले अर्धचेत हुँदै मैदानमा ढलेका गोलकिपर मार्टिन बोर्कोभेकको जीवन बचाएका थिए । त्यस्तै सेल्टिकका समर्थकलाई फिफा वर्ष समर्थकको उपाधि प्रदान गरियो ।

फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक र पत्रकारले गरेको मतका आधारमा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा अन्य विधाको विजेता चयन गरिन्छ ।

‘म सातौं पटक फिफा वर्ष खेलाडीको उपाधि जित्न चाहन्छु । पाँच पटक यो उपाधि जित्नु पनि कम उपलब्धि होइन । तर सात मेरो भाग्यशाली नम्बर हो । त्यसैले सातौं पटक वर्ष खेलाडीको उपाधि जित्न सके त्यो अद्भुत हुनेछ ।’

 

प्रकाशित: ८ कार्तिक २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App