२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

लागू औषध बेच्ने मेडिकल सञ्चालक ५० हजार धरौटीमा रिहा

धरौटीमा रिहा भएका मेडिकल व्यवसायी झा।

औषधि पसलबाट प्रतिबन्धित लागू औषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेर औषधि विभाग पठाइएका उदयपुरका एक मेडिकल व्यवसायी ५० हजार धरौटीमा रिहा भएका छन्।

प्रहरी र नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीको छड्के अनुगमनमा रंगेहात पक्राउ परेका चौदण्डीगढी नगरपालिका ७ बेलटार बजारस्थित गोपीकृष्ण मेडिकल हलका सञ्चालक ५० वर्षीय वीरेन्द्रकुमार झालाई औषधि व्यवस्था विभागले ५० हजार धरौटी लिएर छाडेको हो।

मेडिकलबाटै लागू औषधको बिक्री वितरण गर्ने गरेको स्थानीयको आरोपपछि प्रहरी र नगर कर्मचारीको संयुक्त टोलीले साता दिनअघि छापा मार्दा ३ किसिमका प्रतिबन्धित औषधिसहित झा पक्राउ परेका थिए।

पक्राउपछि इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा रहेका झालाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको र निको भएपछि धरौटी बुझाउने सर्तमा आफन्तको जिम्मा लगाइएको थियो।

जस अनुसार स्वास्थ्य ठिक भएपछि प्रहरीमा हाजिर भएका झालाई बुधबार थप अनुसन्धान गर्न भन्दै बरामद औषधिसहित औषधि व्यवस्था विभाग विराटनगर पठाइएको थियो। विभागले बुधबार साँझै उनलाई ५० हजार धरौटी लिएर हाजिर जमानीमा छाडेको इप्रका बेलटारका प्रमुख इन्स्पेक्टर ओमप्रकाश पुनले बताए।

पुनका अनुसार उनको मेडिकलमा बरामद औषधि पूर्ण प्रतिबन्धित नभई चिकित्सकको प्रेसक्राईप (सिफारिस) का आधारमा प्रयोग गर्न मिल्ने औषधि हो। त्यस्तो औषधि बिक्री वितरण गर्ने व्यक्तिको हकमा प्रहरीलाई कारबाहीको अधिकार नभएकाले विभाग पठाउनु परेको इन्स्पेक्टर पुनले बताए।

आफ्नै घरमा सञ्चालन गर्दै आएको मेडिकलमा प्रतिबन्धित लागू औषध बेच्ने गरेको विशेष सुराकीका आधारमा इप्रकाका निरीक्षक पुन नेतृत्वको प्रहरी र नगर स्वास्थ्य शाखा उपप्रमुख लक्ष्मीप्रसाद चौधरी टोलीले असोज २ गते ४ः०० बजे खानतलासी लिँदा मेडिकलको औषधि राख्ने गोदाममा ३ खालका लागू औषध फेला परेको थियो।

गोदामबाट ट्रामाडोल १० बट्टामा ३ सय २ पत्ताको ३ हजार २० ट्याब्लेट, स्पासेन ४ बट्टामा २ सय १६ पत्ताको २ हजार १ सय ६० ट्याब्लेट र ओपिडोल १५ बट्टामा २ सय १० पत्ताको २ हजार १ सय गरी २९ बट्टामा ७ सय २८ थानमा ७ हजार २ सय ८० ट्याब्लेट बरामद भएको थियो।

मेडिकलबाट बरामद २९ बट्टामा ७ सय २८ थानको ७ हजार २ सय ८० ट्याब्लेट औषधिसहित झालाई कारबाहीका लागि विभाग पठाउँदा धरौटीमा रिहा भएका हुन्। धरौटीमा छाडिए पनि तारेखमा राखिएका झालाई विभागले नै अदालतमार्फत कारबाही गर्न सक्ने पुनले बताएका छन्।

प्रकाशित: ११ आश्विन २०८० १६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App