१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आइसल्यान्डको सपना साकार

 पेरिस– कोसोभोलाई पराजित गर्दै आइसल्यान्डले सोमबार पहिलो पटक विश्वकप खेल्ने सपना साकार पार्दा वेल्स छनोट चरणबाटै बाहिरिएको छ ।आइसल्यान्डले युरोपेली छनोट चरणको अन्तिम खेलमा कोसोभोलाई २–० ले स्तब्ध पार्दै रूस विश्वकप २०१८ को टिकट काटेको हो ।
४०औं मिनेटमा मिडफिल्डर गिल्फी सिगुर्डसनले गरेको गोलमा आइसल्यान्डले अग्रता लिएको थियो ।
६८औं मिनेटमा जोन गुडमोन्डसनले गोल गर्दै आइसल्यान्डको अग्रता दोब्बर पारेका थिए । ३ लाख ३३ हजार जनसंख्या भएको आइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्रसमेत बनेको छ । आइसल्यान्ड ठूला प्रतियोगितामा छनोट भएको यो दोस्रो अवसर हो । यसअघि टोली सन् २०१६ को युरो कपमा छनोट भएको थियो । उक्त प्रतियोगितामा आइसल्यान्डले आश्चर्यजनक नतिजा निकाल्ने क्रममा इङ्ल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
‘युरो कप २०१६ पछि हामीले आफूलाई सोही लयमा टिकाइरहनु चुनौतीपूर्ण थियो,’ आइसल्यान्डका प्रशिक्षक हेमिर हाल्ग्रिमसनले भने, ‘समूह चरणमा क्रोएसिया, टर्की, युक्रेन र फिनल्यान्डजस्ता बलियो टोलीका चुनौती पार गर्दै विजेताका रूपमा स्वतः विश्वकपमा छनोट हुनु धेरैै कठिन थियो । तर हामीले आत्मविश्वास गुमाएनांै र अन्ततः इतिहास रच्न सफल भयौं । यो उपलब्धि नै सबै कुरा होइन । हाम्रो यात्रा अझै लामो छ र हामी यात्रा थप सार्थक पार्न धेरै मिहिनेत गर्नेछांै ।’
युरोपेली छनोटको प्रत्येक समूहको विजेता स्वतः विश्वकपमा छनोट हुँदा दोस्रो स्थानको टोलीले प्लेअफको मौका पाउनेछ ।
यस जितपछि १० खेलको समाप्तिमा २२ अंक जोडेको आइसल्यान्डले समूह ‘आई’ को विजेताका रूपमा विश्वकपमा स्थान सुरक्षित गरेको हो । समान खेलमा २० अंक जोडेको क्रोएसिया उपविजेताका रूपमा प्लेअफमा स्थान बनाउन सफल भयो ।
यस क्रममा क्रोएसियाले युक्रेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाको जितमा आन्द्रेज कारामिकले दुई गोल गरेका थिए ।
सोमबारै सम्पन्न अर्को खेलमा फिनल्यान्ड र टर्कीले २–२ को बराबरी खेलेका छन् ।
यता समूह ‘डी’ को खेलमा आठ वर्षपछि विश्वकपमा स्थान सुरक्षित गर्ने क्रममा सर्बियाले जर्जियाको चुनौती पाखा लगाएको छ । सर्बियाले जर्जियामाथि १–० को जित हात पार्दै रूस विश्वकपको टिकट पक्का गरेको हो । ७४औं मिनेटमा एलेक्सान्डर प्रिजोभिचले गरेको गोल सर्बियालाई समूहविजेता बनाउन पर्याप्त भयो ।
‘अन्तिम खेलले हाम्रो छनोट पक्का गरे पनि हामी विश्वकप खेल्न सक्षम टोली हौं । हामीले यसका लागि कठिन यात्रा गर्नुप¥यो,’ सर्बियाका प्रशिक्षक साभोल्जोभ मुस्लिनले भने ।
यस जितपछि १० खेलको समाप्तिमा २१ अंक जोडेको सर्बिया समूह विजेता बन्यो । समूहको अन्तिम खेलमा वेल्सलाई पराजित गर्दैै १९ अंकका साथ दोस्रो स्थानमा उक्लिएको आयरल्यान्डले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
बराबरीको नतिजाले पनि वेल्सले प्लेअफमार्फत पुनः एक पटक विश्वकपको ढोका ढकढक्याउने मौका पाउने थियो । तर ५७औं मिनेटमा आयरल्यान्डका जेम्स म्याक्लिनले गरेको गोलमा वेल्सको सपना तुहिएको थियो ।
यता समूह ‘जी’ बाट इटालीले उपविजेताका रूपमा प्लेअफमा स्थान सुरक्षित गरेको छ । यस समूहबाट स्पेन समूह विजेताका रूपमा यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । छनोट चरणको अन्तिम खेलमा इटालीले अल्बानियामाथि १–० को नतिजा निकाल्यो । ७३औं मिनेटमा एन्टोनियो चान्डरेभाले गरेको गोल नै इटालीको जितमा पर्याप्त भयो ।
यस जितपछि १० खेलको समाप्तिमा २८ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा रहँदा समान खेलमा २३ अंक जोडेको इटाली उपविजेता बनेको हो । सोमबार सम्पन्न समूहका अन्य खेलमा स्पेनले इजरायललाई १–० ले पराजित गर्दा मेसेडोनियाले लिट्चेनस्टिनलाई ४–० ले पराजित गरेको छ ।

‘समूह चरणमा क्रोएसिया, टर्की, युक्रेन र फिनल्यान्डजस्ता बलिया टोलीका चुनौती पार गर्दै विजेताका रूपमा स्वतः विश्वकप छनोट हुनु धेरैै कठिन थियो । तर हामीले आत्मविश्वास गुमाएनाैं र अन्ततः इतिहास रच्न सफल भयौं ।’

प्रकाशित: २५ आश्विन २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App