काठमाडौं- निर्वाचनमा ‘बी’ र ‘सी’ डिभिजन क्लब प्रतिनिधि संख्या बढाउनुका साथै अन्य महŒवपूर्ण निर्णय गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सकिएको छ ।
साधारणसभाले निर्वाचन प्रतिनिधिको संख्या, कार्यकारी समिति सदस्य, नैतिक समितिका बारेमा नयाँ प्रावधान राख्दै थ्री स्टार क्लबलाई क्षतिपूर्तिस्वरूप १ करोड ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय ग¥यो । साधारणसभाले काठमाडौं उपत्यकाका ‘ए’ डिभिजन क्लबलाई मतदान गर्ने अधिकार यथावत् गरे पनि जिल्लाबाट ‘ए’ डिभिजन फुटबल खेलिरहेका क्लबलाई भने निर्वाचनमा सहभागी हुनबाट वञ्चित गर्ने निर्णय गरेको छ । मोफसलबाट झापा, मोरङ, रूपन्देही र कैलालीका टिमले ‘ए’ डिभिजन फुटबल खेलिरहेका छन् ।
एएफसी र फिफा प्रतिनिधिको सुपरिवेक्षणमा बसेको सभामा ४५ जिल्ला, १४ ए डिभिजन क्लबका प्रतिनिधिले निर्वाचनमा मतदान गर्न पाउने निर्णयलाई यथावत् गरेको छ । सभाले ‘बी’ र ‘सी’ डिभिजन क्लबबाट आउने प्रतिनिधि संख्या भने बढाएको छ । आगामी पुसमा हुने निर्वाचनमा ‘बी’ डिभिजन क्लबबाट ९ र ‘सी’ डिभिजन क्लबबाट ५ जना प्रतिनिधिले सहभागिता जनाउनेछन् । यसअघि ‘बी’ डिभिजनबाट ५ र ‘सी’ डिभिजनबाट ३ जनाले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था थियो । एन्फा सदस्य पंकज नेम्वाङले साधारण सभाले मोफसलबाट ए डिभिजन खेलिरहेका क्लबविरुद्ध अन्यायपूर्ण निर्णय गरेको बताए । उनले भने, ‘काठमाडौंबाट खेलिरहेका क्लबले मात्र ‘ए’ डिभिजनको अधिकार पाउने तर जिल्लाका क्लबले किन त्यो नपाउने ? फुटबलको विकासमा यस्तो निर्णयले दीर्घकालीन रूपमा असर गर्न सक्छ । यो निर्णय सही भएको छैन ।’
यसै गरी कार्यसमिति गठनको बारेमा लचकता अपनाउँदै साधारणसभाले एन्फाको कार्यकारी समितिमा उमेदवारी दिने व्यक्ति फुटबलको गतिविधिमा ५ वर्षदेखि आबद्ध भएर २ वर्षयता सक्रिय भएको हुनुपर्ने निर्णय गरेको छ । त्यसमा २५ वर्ष पुगेको व्यक्तिले उमेदवारी दिन सक्नेछ । नयाँ निर्णयअनुसार एन्फा पदाधिकारी पदमा चुनाव लड्ने प्रक्रिया थप सहज बनेको छ । यसअघि एन्फाको पदाधिकारीमा उमेदवारी दिन कार्यसमितिको पदाधिकारी वा मताधिकारसहित साधारणसभाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो ।
संशोधन गरिएको नयाँ विधानमा अध्यक्षलगायतका पदमा चुनाव लड्न चुनावी साधारणसभाभन्दा अघिको पाँच वर्षमध्ये दुई वर्ष कुनै न कुनै रूपमा फुटबलमा सक्रिय भएको हुनुपर्ने र निजको प्रस्तावक र समर्थक भने साधारणसभाको प्रतिनिधि हुनुपर्ने प्रावधान राखिएको छ ।
यसअघि एन्फाको क्षेत्राधिकारभित्र बसोबास गरेको २५ देखि ७० वर्षसम्मको व्यक्तिले कार्यकारी समितिमा उमेदवारी दिन सक्ने व्यवस्था थियो । एन्फा प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले फुटबलमा नयाँ अभ्यास गर्ने उद्देश्यले उमेदवारी दिने प्रक्रियालाई सहज बनाएको बताए । उनले भने,‘हामीले नयाँ अभ्यास गर्न खोजेको छौं । यसअघि साधारणसभाको सदस्यले मात्र कार्यसमितिमा उमेदवारी दिन पाउने व्यवस्था थियो । तर अहिले त्यसमा लचकता अपनाउँदै फुटबलमा २ वर्ष सक्रिय भएको व्यक्तिले पनि उमेदवारी दिन सक्नेछ ।’
सदस्य नेम्वाङले साधारण सभामा प्रनितिधि नभएको व्यक्तिले उमेदवारी दिनु पनि न्यायसंगत नभएको आरोप लगाए । उक्त निर्णय संघसंस्था ऐनविपरीत भएको उयनको भनाइ थियो ।
यसै गरी विशेष साधारणसभाले पहिलो पटक महŒवपूर्ण अधिकार दिँदै नेपाली फुटबल संघमा नैतिक समिति गठन गर्ने निर्णय गरेको छ । फिफाको विधानलाई अनुसरण गरिएको नैतिक समितिले एन्फाले बनाएको नियमावलीअनुसार काम गर्नेछ । त्यस समितिमा कम्तीमा तीन जना सदस्यको उपस्थितिमा समितिले निर्णय गर्नेछ । कुनै विवादको बारेमा नियमावलीमा उल्लेख भएको अवस्थामा समितिको सभापतिले एक्लैले निर्णय गर्न सक्नेछ । समितिले एन्फा सदस्य, पदाधिकारी, खेलाडी, क्लब, खेल तथा खेलाडीको प्रतिनिधिको बारेमा छानबिन र निर्णय गर्न सक्नेछ ।
सोमबार साधारणसभाले विधानको २० वटा धाराका ३८ वटा बुँदा संशोधन गरेको हो । एन्फाले उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन समिति तयार पारेको थियो । समितिले तयार पारेको मस्यौदालाई क्लब, जिल्ला, फिफा र एएफसी प्रतिनिधिको सुपरिवेक्षणमा संशोधनका लागि साधारणसभामा पेस गरिएको थियो । यसै गरी साधारणसभाले अहिलेको संरचनालाई पालना गर्दै भविष्यमा एन्फाको कार्यसमिति प्रादेशिक संरचनामा लैजाने प्रक्रिया सुरु गर्ने एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा हामी प्रादेशिक संरचनामा जान सक्दैनौं । केही समय लाग्छ । नयाँ विधान बनाएर जानुपर्छ ।’
यसै गरी एन्फाले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरूप १ करोड ५० लाख दिने निर्णयलाई साधारणसभाबाट अनुमोदन गराएको छ । एन्फाको लापरबाही कारण एएफसी कप फुटबलमा छनोट भएर पनि थ्री स्टार प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो । जसको क्षतिपूर्तिस्वरूप थ्री स्टारले ६ करोड रुपैयाँ माग गर्दै फुटबलका गतिविधिमा सहभागिता जनाएको थिएन । एन्फाले उक्त रकम तीन किस्तामा उपलब्ध गराउने बताएको छ ।
थ्री स्टारलाई रकम उपलब्ध गराउने बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा र क्लबबीच १ करोड ५० लाखमा सहमति भएको थियो । त्यो सहमतिलाई अनुमोदनका लागि मात्रै साधरणसभामा प्रस्तुत गरिएको अध्यक्ष श्रेष्ठले बताए । तर साधारणसभामा थ्री स्टारलाई उपलब्ध गराउने रकमको बारेमा छलफल नगराएर अध्यक्षले अनुमोदन गराएको एन्फा सदस्य नेम्वाङले आरोप लगाए । उनले भने, ‘थ्री स्टारलाई क्षतिपूर्तिस्वरूप रकम दिने बारेमा हामी विरोध गर्दैनौं । तर त्यसको बारेमा साधारणसभा प्रतिनिधिले प्रश्न उठाउँदा समेत छलफल भएन । अध्यक्षको दबाबमा प्रस्ताव पारित भएको छ ।’
प्रकाशित: २४ आश्विन २०७४ ०४:५५ मंगलबार