२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रविधिमा चिनियाँ शक्ति प्रदर्शनसहित एसियाड उद्घाटन

एसियाली खेलकुदमा मार्चपास्टगर्दै नेपाली टोली खेलाडी।तस्बिर: नागरिक

एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी १९औं एसियाली खेलकुद चीनको हानझाउ सहरस्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा एक भव्य समारोहबीच औपचारिक रूपमा सुरु भएको हो। करिब ८० हजार क्षमता रहेको कमलको पूmल आकारको स्टेडियममा भएको उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए। सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाको सबैभन्दा ठूलो खेल प्रतिस्पर्धा तेस्रो पटक चीनमा औपचारिक रूपमा सुरु भएको हो।

चीनले यसअघि सन् १९९० मा बेइजिङ र सन् २०१० मा ग्वाङझाउमा यो खेलकुद आयोजना गरेको थियो। चीनले तेस्रो एसियाली खेलकुदको आयोजनामा गर्दा भने प्रविधिको शक्ति प्रदर्शन नै गरेको छ। चीनले ठूला आतिसबाजीको सट्टा उच्च स्तरको प्रविधि प्रयोग गर्दै आधुनिक किसिमका थ्री डी प्रकाश, एनिमेसन र भर्चुअल टर्चवाहक प्रयोग गरेको थियो। सो दृश्यलाई चीनका राष्ट्रपतिले उत्साहका साथ हेरे। चीनका समर्थकले ताइवान, उत्तर कोरिया र हङकङ टोली मार्चपास्टमा सहभागी हुँदा ठूलो आवाज गुञ्जन गर्दै स्वागतसमेत गरेका थिए। नेपालले यस एसियाली खेलकुदमा कुल २९ खेल विधामा सहभागिता जनाएको छ। त्यसका लागि एक २६ पुरुष र १ सय २७ महिला गरी कुल २ सय ५३ खेलाडीले हानझाओ एसियाडमा प्रतिस्पर्धा गर्दैछन्। तीन खेलाडीको प्रतिनिधित्व गर्दै तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसुकी निमा घर्तिमगरले सो मार्चपास्टमा नेपालको झन्डा बोकेका थिए। तालिवानको प्रतिबन्धका बावजुद अफगानी महिला खेलाडी पनि सो मार्च पास्ट सहभागी भए। तालिवान सरकारले पुरुष खेलाडीलाई मात्र एसियाडमा सहभागिता जनाउन दिए पनि महिला खेलाडीको छुट्टै टोलीले हानझाउमा खेल्ने भएका छन्।  

अफगानी महिला सहभागितासँगै उत्तरको कोरियाको सहभागिता पनि सबैका लागि आकर्षक बन्यो। किनकि उत्तर कोरियाले लामो समयपछि यति बेला आयोजनाको उद्घाटन समारोहमा देखिएको हो। कोरोना महामारी पैmलिएपछि उत्तर कोरियाले सबैखाले प्रतियोगिताबाट हात झिकेको थियो। जसका कारण गत टोकियो ओलम्पिक नखेलेको उत्तर कोरियालाई चीनमा नै आयोजना भएको बेइजिङ विन्टर ओलम्पिकमा भने प्रतिबन्ध लगाइएको थियो।  

मार्च पास्ट लगत्तै चीन राष्ट्रपति जिङपिङले औपचारिक रूपमा रूपमा १९औं एसियाली खेलकुद सुरु भएको घोषणा गरेका थिए। चीनका ओलम्पिकमा स्वर्ण विजेता पौडीबाज वाङ सुनले झेजियाङ प्रान्तका ११ सहर घुमाएर ल्याइएको ओलम्पिक टर्च बालेका थिए। चर्चित व्यापारी तथा अलिबाबामा संस्थापक ज्याक माको सहरसमेत रहेको हानझाओलाई उद्घाटन सत्रमा विभिन्न प्रविधि प्रयोग गरेर आकर्षक प्रकाशबाट सजाइएको थियो।

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना भएको १९औं एसियाडमा एसियाका विभिन्न राष्ट्र नेता तथा सरकारका उच्च स्तरका पदाधिकारी पनि सहभागी भए।  युद्वमा रहेको सिरियाका राष्ट्रपति बसार अल असाद, कम्बोडियाका राजा नोरादम सिहामोनी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले प्रत्यक्ष रूपमा १९औं एसियाली खेलकुदको भव्य उद्घाटनलाई हेरे। पछिल्ला समय बाच र ओलम्पिक काउन्सिल अफ एसियाबीच खराब सम्बन्ध रहँदै आएको छ। साथै बाचले आगामी पेरिस ओलम्पिकमा पनि प्रतिबन्ध लगाएको रसियासँग चीनका राष्ट्रपति सीको घनिष्ठ सम्बन्ध रहँदै आएको छ। यी सबै घटनाका बीच पनि बाच चीनमा उपस्थित भए।  

यस एसियाडमा एसियाका ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा प्रतिस्पर्धा गर्दै छन्। लामो समयदेखि एसियाली खेलकुदको पदकतालिकामा दबदबा बनाउँदै आएको चीनले पाँच वर्षअगाडि जाकार्तामा करिब ३०० पदक जितेको थियो। चीनलाई जापान र दक्षिण कोरियाले चुनौती दिनेछन्।

प्रकाशित: ७ आश्विन २०८० ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App