२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्पेनका महिला फुटबलरले प्रशिक्षण बहिष्कार गर्ने

महिला विश्वकप विजेता स्पेनका खेलाडीले स्पेनिस फुटबल फेडेरेसनमा परिवर्तन नभएसम्म राष्ट्रिय टोलीको प्रशिक्षण नै बहिष्कार गर्ने भएका छन्।  

विश्वकपको उपाधि समारोहमा स्पेनिस फुटबल फेडेरेसनका तत्कालीन अध्यक्ष लुइस रुबियल्सले आफ्नो टोलीकी खेलाडीलाई चुम्बन गरेपछि उनीहरू आन्दोलित हुँदै आएका छन्। उक्त घटनापछि विश्व फुटबल महासंघ (फिफा) ले रुबियल्समाथि प्रतिबन्ध पनि लगाएको छ। यस क्रममा फेडेरेसनले भने महिला खेलाडीले अध्यक्ष रुबियल्सलाई बदनाम गराउन तथ्यहीन आरोप लगाएको भन्दै प्रतिक्रिया दिएको थियो। त्यससँगै महिला खेलाडीहरू फेडेरेसनप्रति रुष्ट हुँदै आएका छन्। उक्त घटनापछि फेडेरेसनले विश्वकप विजेता स्पेनिस महिला टोलीका प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त गरेको थियो।

उनको स्थानमा नियुक्त भएका नयाँ प्रशिक्षक मोन्ट्से टोमेले शुक्रबार राष्ट्रिय टोली घोषणा गर्ने तयारी गरे पनि खेलाडीहरूले बहिष्कार गर्ने भएका हुन्। ‘नयाँ प्रशिक्षक टोमेले बोलाएको टोलीमा कोही खेलाडी पनि आउने छैनन्,’ फेडेरेसनको एक स्रोतले भन्यो। स्पेनले नेसन्स लिगको खेलमा स्विडेन र स्विट्जरल्यान्डसँग क्रमशः सेप्टेम्बर २२ र २६ मा खेल्दै छ। स्पेनले गत अगस्ट २० मा अस्ट्रेलियामा सम्पन्न महिला विश्वकप फाइनलमा इङ्ल्यान्डलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो।

पुरस्कार समारोहका क्रममा रुबियल्सले स्पेनिस टोलीकी मिडफिल्डर जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए। त्यसलगत्तै हर्मोसोले रुबियल्सको उक्त व्यवहारले अपमानित महसुस गरेको प्रतिक्रिया दिएपछि स्पेनिस फुटबलका प्रमुखको विश्वभर आलोचना भएको थियो। रुबियल्सले पछि माफी मागे पनि खेलाडीहरूले उनको राजीनामा नै मागेका थिए। तर, घटनाले उग्र रूप लिएपछि रुबियल्स र स्पेनिस फेडेरेसनले खेलाडी हर्मोसोले नै चुम्बन गर्न उक्साएको आरोप लगाएका थिए। त्यससँगै रुबियल्समाथि स्पेनको एक अदालतमा मुद्दा पनि दर्ता भयो।  

गत महिना विश्वकप विजेता टोलीका २३ सदस्यसहित ८१ जना खेलाडीले फेडेरेसनमा परिवर्तन नभएसम्म राष्ट्रिय टोली नै बहिष्कार गर्ने भन्दै हस्ताक्षर अभियान चलाएका थिए। साथै स्पेनिस महिला खेलाडीले विश्वकप उपाधिमा नै दाग लागेको प्रतिक्रिया दिएलगत्तै फिफाले रुबियल्समाथि अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको हो। भिल्डाकै सहायक प्रशिक्षक टोमेले अन्तर्राष्ट्रिय प्रतियोगिताअगाडि खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने तयारी गरे पनि खेलाडीले बहिष्कार गर्ने भएपछि उनी पनि दबाबमा परेका छन्।  

प्रकाशित: ३० भाद्र २०८० ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App