६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बाबरको कप्तानीमाथि प्रश्न

पाकिस्तानका कप्तान बाबर आजमको विकेटका लागि अपिल गर्दै श्रीलंकाली बलर दसुन सनका।तस्बिर ः एपी

एसिया कपको फाइनलमा पुग्न जित्नैपर्ने खेलमा श्रीलंकासँग दुई विकेटको हार बेहोरेपछि पाकिस्तानका पूर्वक्रिकेटरहरूले बाबर आजमको कप्तानीप्रति प्रश्न उठाएका छन्।

बिहीबार कोलम्बोमा श्रीलंकासँग दुई विकेटले स्तब्ध भएपछि पाकिस्तानको जारी एसिया कपमा फाइनलमा पुग्ने सपना अधुरै रह्यो। पाकिस्तानको त्यो हारसँगै पूर्वक्रिकेटरहरू रमिज राजा, सोएब अख्तर र रासिद लतिफ र कमरन अकमलले आफ्ना कप्तान बाबरको नेतृत्वक्षमता र टिम छनोटप्रति प्रश्न उठाएका हुन्। पूर्वकप्तान तथा पाकिस्तान क्रिकेट बोर्ड

(पिसिबी)का पूर्वप्रमुख समेत रहेका राजाले भारतसँगको हारबाट आफ्नो टोली माथि उठ्न नै नसकेको बताएका थिए।  

‘भारतसँग फराकिलो हारपछि पाकिस्तानी टोलीमा मानसिक असर परेको छ। त्यस कारण पनि जितनजिक पुग्दा पाकिस्तानले त्यसको सदुपयोग गर्न सकेन,’ राजाले भनेका छन्। उनले लयमा नरहेका फखर जमानलाई टोलीमा छनोट गर्नु र बाबरको कप्तानीमा पनि प्रश्न उठाएका छन्। ‘फखरको हाउभाउ ठीक छैन। फखर आपैmँले राम्रो खेल्न आफूलाई रोकेका छन्। त्यसैले उनको विकेट गइरहेको छ,’ उनले भने, ‘बाबरले पनि आफ्नो कप्तानीमा अर्को लेभलमा सुधार गर्नुपर्छ।’ रमिज राजाले इमाम उल हक र साउद सकिलले पनि राम्रो खेल्न नसकेको भन्दै उनीहरूको आलोचना गरे।

पाकिस्तानका पूर्वक्रिकेटर सोएब अख्तरले मध्यक्रममा राम्रो ब्याटर नहुनु र स्तरीय स्पिनर उपलब्ध हुन नसक्नु हारको कारण भएको धारणा राखेका छन्।    

यस क्रममा रमिजले सन् १९९२ को विश्वकपमा इन्जामाम उल हकले घाइते हुँदा पनि खेलेको विजयी इनिङको प्रसंग कोट्याए। ‘त्यो विश्वकपमा इन्जी सेमिफाइनल खेल्न मानेका थिएनन्। किनकि उनको पेटमा धेरै दुखाइ भैइरहेको थियो। तर, पनि उनले जबरजस्ती खेल्नुपर्यो,’ राजाले भने, ‘त्यस्तो अवस्थाका बावजुदले इन्जीले उत्कृष्ट प्रदर्शन गरे। यदि कोही खेलाडी महान् बन्नु छ भने त्यस किसिमको प्रदर्शन हुनुपर्छ।’  

पाकिस्तानका तीव्र गतिका पूर्वबलर सोएब अख्तरले पनि श्रीलंकासँगको हार निकै लज्जास्पद रहेको उल्लेख गर्दै छिटै टिम व्यवस्थापकले पाकिस्तानको प्लेइङ ११ मा सुधार गर्नुपर्ने बताए। फाइनलका लागि पाकिस्तान योग्य हुँदाहुँदै पनि अप्रत्याशित रूपमा बाहिरिनु परेको अख्तरको बुझाइ छ। ‘पाकिस्तान फाइनलका लागि योग्य टोली हो। यो टोली दाबेदार पनि थियो। तर, पनि भारत र पाकिस्तानबीचको एसिया कप फाइनल हुन सकेन। श्रीलंकाले पाकिस्तानको गल्तीमा राम्रोसँग खेल्यो,’ अख्तरले भनेका छन्।  

अख्तरले मध्यक्रममा राम्रो ब्याटर नहुनु र स्तरीय स्पिनर उपलब्ध हुन नसक्नु हारको कारण भएको धारणा राखेका छन्। पाकिस्तानको तीव्र गतिका बलर पनि पूर्ण रूपमा असफल भएको र त्यसप्रति टिम व्यवस्थापकले काम गर्नुपर्ने अख्तरले औंल्याए। पाकिस्तानका अर्का पूर्वकप्तान रसिद लतिफले पनि लयमा रहेका इख्तिखर अहमदभन्दा अगाडि मोहम्मद हेरिस र मोहम्मद नवाजलाई ब्याटिङमा गर्न पठाउने निर्णयप्रति आलोचना गरेका छन्। उनको त्यो आलोचनामा पाकिस्तानका पूर्वविकेटकिपर कमरन अकमलले पनि सहमति जनाएका छन्।  

अकमलले २ सय ५२ रनको लक्ष्य ठूलो रहे पनि बलरको असफलता कारण पनि लज्जास्पद हार सामना गर्नुपर्ने औंल्याएका छन्। एसिया कपको फाइनलमा पुग्न नसक्नु पाकिस्तानका लागि निकै चिन्ताको विषय रहेको अकमलको भनाइ छ।  

प्रकाशित: ३० भाद्र २०८० ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App