१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कनवे र मिचेलको शतकमा न्युजिल्यान्ड विजयी

तस्वीर: डेभन कनवे / ड्यारिल मिचेल

डेभन कनवे र ड्यारिल मिचेल दुवैले शतक प्रहार गरेपछि न्युजिल्यान्डले पहिलो एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डमाथि आठ विकेटको जित निकालेको छ।

सन् २०१९ मा लडर््समा सम्पन्न विश्वकप क्रिकेटको फाइनलमा भिडेपछि पहिलो पटक यी दुई राष्ट्र यो फरम्याटको प्रतिस्पर्धामा उत्रिएका थिए। जहाँ, कनवे र मिचेलको १ सय ८० रनको साझेदारीमा न्युजिल्यान्डले घरेलु टोली इङ्ल्यान्डमाथि रबाफिलो जित निकाल्यो। सोफिया गार्डेन्समा २ सय ९२ रनको लक्ष्य न्युजिल्यान्डले २६ बल बाँकी छँदा नै पूरा गर्‍यो।

यस क्रममा कनवेले १ सय ११ रन र मिचेलले १ सय १८ रन प्रहार गर्दै चौथो एकदिवसीय शतक पनि पूरा गरे। न्युजिल्यान्ड र इङ्ल्यान्डबीच चार खेलको एकदिवसीय शृंखला हुँदै छ। यी दुई राष्ट्रले अहमदाबादमा अक्टोबर ५ मा एकअर्काविरुद्ध खेल्दै आगामी विश्वकपको सुरुआत गर्नेछन्।

यो शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्ड आगामी विश्वकपमा बलियो टोलीका रूपमा प्रस्तुत हुन चाहन्छ। चार खेलको ट्वान्टी-२० शृंखलामा २-२ को बराबरीपछि दुवै राष्ट्र यो फरम्याटमा सफलता निकाल्ने लक्ष्यमा छन्।

‘यो विश्वकप त होइन। तर, आगामी विश्वकपअगाडि बलियो र राम्रो टोली इङ्ल्यान्डविरुद्ध खेल्न पाउनु राम्रा लागि अवसर हो,’ कनवेले भने, ‘अभैm हामीसँग तीन वटा अवसर छन्। त्यसमा राम्रो गर्न चाहन्छौं।’

आगामी विश्वकपअगाडि संन्यास फिर्ता लिँदै बेन स्टोक्स इङ्ल्यान्डको टोलीमा फर्किएका छन्।

स्टोक्ससहित डेविड मलान, जस बट्लर र लियाम लिभिङ्स्टन गरी चार ब्याटरले अर्धशतक प्रहार गर्दै इङ्ल्यान्डको ब्याटिङ पनि मजबुत रहेको संकेत दिएका छन्। स्टोक्सले ५२ रन जोड्दा मलानले पनि आक्रामक ब्याटिङ गर्दै ५४ रन बनाए। जोनी बेयरस्टो र जेसन रोयको चोटका कारण मलानले ह्यारी ब्रुकसँग ओपनिङ साझेदारीको विकल्प पाएका हुन्। न्युजिल्यान्डले जो रुटलाई ६ रनमा पवेलियन फर्काउँदै इङ्ल्यान्डलाई २१औं ओभरमा १०१/३ को अवस्थामा पुर्‍याएको थियो। तर, कप्तान बट्लर र स्टोक्सले इनिङ समाले। ३३औं जन्मदिनको अवसरमा स्टोक्सले ६८ बलमा ७२ रन जोडे।

यस क्रममा उनले स्टोक्ससँग ८८ रनको साझेदारी गरे। ठूला सट खेल्दै लियामले ४० बलमा तीन छक्कासहित ५२ रन बनाए। उनले पनि बट्लरसँग ७७ रनको साझेदारी गरे। यी दुवै टिम साउथीको बलमा एकै ओभरमा आउट हुन पुगे।

डेविड विलेले पनि २१ रन जोड्दै इङ्ल्यान्डको चुनौतीपूर्ण लक्ष्य बनाउन मद्दत गरे। न्युजिल्यान्डका स्पिनर रचिन रविन्द्राले तीन विकेट लिँदा लोकी फर्गुसनको नाममा एक विकेट रह्यो। जबाफी ब्याटिङ गरेको न्युजिल्यान्डले रनरेटमा जहिल्यै अग्रता बनाउँदै लक्ष्य पछ्यायो।

ओपनर विल योङले २९ रन बनाउँदा अर्का ब्याटर हेनरी निकोलसले २६ रनको योगदान दिए। कनवे र मिचेलको जोडी आउनुअघि न्युजिल्यान्ड ११७/२ को अवस्थामा थियो। यी दुईले आक्रामक ब्याटिङ गर्दै जित दिलाए। इङ्ल्यान्डका बलर अदिल रसिदले एक विकेट लिँदा ७० रन खर्चिंदै महँगो साबित भए। मिचेल उनीमाथि आक्रामक रूपमा प्रस्तुत भए। कनवेले भने लिभिङस्टनको टाउको माथिबाट छक्का प्रहार गर्दै जित सुरक्षित गरेका थिए। यी दुईबीच दोस्रो एकदिवसीय खेल साउथह्याम्पटनमा आगामी आइतबार हुनेछ।

 

प्रकाशित: २४ भाद्र २०८० ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App