न्युयोर्क- न्युयोर्कमा कीर्तिमानी छैटौं पटक उपाधि जित्ने आशा जीवित राख्ने क्रममा रोजर फेडेररले मंगलबार अमेरिकी किशोर फ्रांक्स टियाफोविरुद्ध पाँच सेटसम्म चलेको संघर्षमय खेलमा जित हासिल गर्दै युएस ओपनको दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
करियरको २०औं तथा यो वर्षको तेस्रो ग्रान्ड स्लाम उपाधि पछ्याइरहेका ३६ वर्षे स्विस स्टारले टियाफोलाई ४–६, ६–२, ६–१, १–६, ६–४ को जित हासिल गरे । संघर्षमय खेलमा जित हासिल गर्दै उनी २००३ को फ्रेन्च ओपनपछि पहिलो पटक ग्रान्ड स्लामको पहिलो चरणबाट बाहिरिने खतराबाट जोगिए ।
भारी वर्षाका कारण मंगलबारका लागि तय गरिएकामध्ये ९ खेल मात्र सम्पन्न हुँदा ५५ खेल स्थगित भए । आर्थर आशे रंगशालामा मंगलबार पाएको यो जितपछि फेडेररले दोस्रो चरणमा रूसका मिखाइल योज्नी वा स्लोभेनियाका क्लाज काभसिकको सामना गर्नेछन् ।
‘यो एउटा कडा परीक्षाभन्दा कम थिएन, तर हामी दुवैले कोर्टमा मजा लियौं । पूरा समय दुवैले जितका लागि प्रयास जारी राख्यौं । समग्रमा खेल निकै रोचक भयो,’ चोटका कारण गत वर्षको प्रतियोगितामा अनुपस्थित रहेपछि पहिलो पटक १५ करोड डलर लागतमा निर्मित आर्थर आशे रंगशालाको छानोमुनि खेलेका फेडेररले भने, ‘मेरो सुरुआत गतिलो हुन सकेको थिएन । मलाई पिठ्युँको चोटले पनि चिन्ता लागिरहेको थियो । तर अहिले म पूर्ण रूपमा फिट महसुस गरिरहेको छु र यो खेलले मलाई ठूलो आत्मविश्वास दिएको छ ।’
तेस्रो वरीयताका फेडेररको न्युयोर्कमा पहिलो चरणमा यो लगातार १७औं जित थियो । उनले युएस ओपनको पहिलो चरणमा अहिलेसम्म पराजित हुनुपरेको छैन । यसै गरी विश्व नम्बर एक स्पेनिस स्टार राफेल नाडालले पनि न्युयोर्कमा पहिलो चरणको जितको संख्या १३औंं खेलमा पु¥याएका छन् । यो वर्ष फ्रेन्च ओपन जितेका दुई पटकका युएस ओपन विजेता नाडालले सर्बियाका डुसान लाजोभिचलाई ७–६(८÷६), ६–२, ६–२ को सोझो सेटमा पराजित गरे ।
वर्षाले प्रभावित दिन छानोमुनि खेलेर दोस्रो चरण पुग्ने सात महिलाको सूचीमा जापानकी नाओमी ओसाकाले पनि नाम लेखाइन् । विश्व वरीयताक्रमको ४६औं स्थानमा रहेकी हाइटीका पिता तथा जापानी आमाकी १९ वर्षे पुत्री ओसाकाले साबिक विजेता एन्जेलिक केर्बेरमाथि ६–१, ६–१ को सनसनीपूर्ण जित दर्ता गराइन् । यो नतिजापछि २००५ मा स्येटलाना कुज्नेतसोभापछि युएस ओपनको पहिलो चरणबाटै बाहिरिने छैटौं वरीयताकी केर्बेर पहिलो साबिक विजेता बनिन् । सोमबार दोस्रो वरीयताकी सिमोना हालेप र विश्व नम्बर सात खेलाडी योहाना कोन्टा पराजित भइसकेको अवस्थामा पहिलो चरणमै स्तब्ध हुने केर्बेर तेस्रो शीर्ष खेलाडी भइन् ।
विश्व नम्बर एक एवं गत वर्षकी उपविजेता क्यारोलिना प्लिस्कोभाले भने पोल्यान्डकी माग्दा लिनेटेलाई ६–२, ६–१ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरिन । त्यस्तै फ्रेन्च ओपन च्याम्पियन जेलेना ओस्टापेन्कोले स्पेनकी लारा अरुवाबेरेनालाई ६–२, १–६, ६–१ को नतिजामा हराउँदा चेक गणतन्त्रकी बार्बोरा स्ट्रिकोभाले जापानकी मिसाकी डोईमाथि ६–१, ६–३ को जित दर्ता गराइन । यसै गरी अमेरिकाकी म्याडिसन केइज, रोमानियाकी सोराना क्रिस्टी र बेल्जियमकी यानिना विकमेयरले पनि पहिलो चरणका खेल जित्दै दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
प्रकाशित: १५ भाद्र २०७४ ०३:१६ बिहीबार