६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

क्याप्शन

एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको क्यान्डीस्थीत पालेकेले रंगशालामा हुने यो खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।खेल सुरु हुन आधा घण्टा अघि टस हुनेछ।

नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच कसले टस जित्ने हो भन्ने कुरा पनि नेपालीको लागि महत्त्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ। भारतको सिनियर टोलीसँग नेपालको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।  सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो। मलेसियामा भएको उक्त यु १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो। अब नेपालले सिनियर टोलीमा पहिलो पटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ।

एसिया कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन। एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ।  

समूह ए मा रहेका नेपाल र भारतले समान एक एक खेल छन्। जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो। वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन्।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ। त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो। भारतको एक खेलमा एक अङ्क छ। एक खेल खेलेको नेपाल अङ्कविहीन छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा भारतविरुको खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ। अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन्। सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्। 

प्रकाशित: १८ भाद्र २०८० ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App