१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डर्टमन्ड र बायर्न दोस्रो चरणमा

बर्लिन – पिरे इमेरिक औबामेयाङले ह्याट्रिक गरेको दिन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेपछि बोरुसिया डर्टमन्ड र बायर्न म्युनिख शनिबार जर्मन कपको दोस्रो चरण प्रवेश गरेका छन्। 

औबामेयाङको ह्याट्रिक प्रेरित साबिक विजेता डर्टमन्डले छैटौं डिभिजनको रेसालिंगेन आर्लेनमाथि ४–० को जित हासिल गर्दा लेवान्डोवस्कीको बायर्नले तेस्रो डिभिजनको चेम्निजलाई ५–० ले हरायो। 

लेवान्डोवस्कीको डिफ्लेक्टेड फ्रि–किकमा २०औं मिनेटमा खाता खोलेको बायर्नले मध्यान्तरलगत्तै किङस्ले कोम्यानको गोलबाट अग्रता दोब्बर पार्‍यो । तेस्रो गोलका लागि कीर्तिमानी रकममा अनुबन्धित गरिएका कोरेन्टिन टोलिसोले अवसर सिर्जना गरे । उनको लो क्रसलाई लेवान्डोवस्कीले सहज ट्यापमार्फत गोलमा परिणत गरेका थिए । जित पक्का भइसकेको अवस्थामा फ्र्यांक रिबेरीले समय सकिन ११ मिनेट बाँकी रहँदा फ्रि किकमा सोझै गोल गरे भने माट हुमेल्सले समय सकिनै लाग्दा बायर्नका लागि पाँचौं गोल गरे। 

‘आजको सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामी दोस्रो चरण पुगेका छौं,’ बायर्नका लागि दुई गोल गरेका पोलिस स्ट्राइकर लेवान्डोवस्कीले भने, ‘पहिलो गोल गर्दा सधैं विशेष आनन्द आउँछ। किनकि पहिलो गोल गर्नु सधैँ गाह्रो हुन्छ । चेम्निजले रक्षात्मक खेलेकाले आजको खेल हाम्रा लागि सहज भएन।’

अर्को खेलमा डर्टमन्ड पूरा समय विपक्षीमाथि हाबी रह्यो । रक्षक मार्क बार्टाले १२औं मिनेटमा पिटर बोस्जको टोलीलाई अग्रता दिलाए । औबामेयाङले मध्यान्तर हुनै लाग्दा अग्रता दोब्बर पारे । औबामेयाङले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने समय सकिन १० मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरे। 

‘जितले मलाई धेरै खुसी दिएको छ,’ औबामेयाङले भने, ‘हामीले जस्तो रणनीति बनाएका थियौं, त्यहीअनुसारको प्रदर्शन गर्‍यौं । आजको समग्र प्रदर्शनबाट हाम्रो टोली सन्तुष्ट हुनुपर्छ।’

लिभरपुलविरुद्ध मंगलबार च्याम्पियन्स लिग प्लेअफको पहिलो लेग खेल्ने तयारीमा रहेको होफेनहेइमको प्रदर्शन शनिबार चित्तबुझ्दो हुन सकेन । जुलियन नागेल्सम्यानको टोलीले तेस्रो डिभिजनको रट विस इफर्टमाथि १–० को जित हासिल गर्न निकै संघर्ष गर्नुपर्‍यो।

‘हामीले जस्तो रणनीति बनाएका थियौं, त्यहीअनुसारको प्रदर्शन ग¥यौं । आजको समग्र प्रदर्शनबाट हाम्रो टोली सन्तुष्ट हुनुपर्छ।’

प्रकाशित: ३० श्रावण २०७४ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App