२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको खराब ब्याटिङ यथावत्

आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर नजिकिँदै गर्दा नेपालले खराब ब्याटिङलाई निरन्तरता दिएको छ। मलेसियामा जारी चारदेशीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा पनि खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल घरेलु टोलीसँग डकवर्थ लुइस नियमका आधारमा ६ विकेटले पराजित हुन पुग्यो। विश्वकप छनोटको तयारीस्वरूप खेलिएको शृंखलामा हारका बावजुद नेपाल फाइनलमा पुगेको छ। शुक्रबार वर्षाका कारण १८ ओभरमा खेलाइएको खेलमा ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो। यद्यपि, त्यो जितका बावजुद मलेसिया फाइनलमा पुग्न सकेन।  

चार टोली सम्मिलित शृंखलामा समान चार अंक भए पनि नेट रनरेटका आधारमा मलेसिया तेस्रो स्थानमा खुम्चियो। नेपाल र हङकङ भने शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुग्न सफल भए। यी दुईबीच शनिबार नै फाइनल खेल हुनेछ। मलेसियाकी आइना हमिजाले अविजित ३७ रन जोड्दै घरेलु टोलीलाई जित दिलाए पनि त्यो फाइनल पुग्न पर्याप्त भएन। मध्यक्रमकी माहिरा इजातीले २१ रन बनाउँदै आइनालाई साथ दिइन्। नेपालको बलिङमा पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान एक विकेट लिए पनि मलेसियाको जित रोक्न सकेनन्।  

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दियो। खराब सुरुआत गरेको नेपालले १८ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो। नेपालले पहिलो ओभरमा नै ओपनर पूजालाई १ रनमा नै गुमाउन पुग्यो। विकेटका बावजुद नेपालले दोस्रो, तेस्रो र चौथो ओभर मध्यम ब्याटिङ ग¥यो। चार ओभर सकिँदा नेपाल २०÷१ को अवस्थामा थियो। त्यसपछि भने सुस्त ब्याटिङ गरेको नेपालले सातौं ओभरमा दोस्रो विकेट पनि गुमाएपछि दबाबमा प¥यो। नेपालका कुनै पनि ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्।

कप्तान रुबिनाको २३ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। इन्दु बर्माले २० रनको योगदान दिँदा ओपनर काजोल श्रेष्ठले १८ रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। अनुभवी ब्याटर सीता तेस्रो खेलमा पनि चल्न सकिनन्। उनी ९ रनमा आउट भइन्। जारी शृंखलामा यो नै उनको सर्वाधिक ठूलो रन हो। तर, बलिङमा भने सीताले शृंखलामा सर्वाधिक सात विकेट लिएकी छन्। जारी शृंखलामा नेपालका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेका छैनन्। सम्झनाकुमारी खड्काको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो। आगामी अगस्ट ३१ देखि मलेसियामा नै एसिया क्वालिफायर सुरु हुँदै छ।

छनोट नजिकिँदै गर्दा खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालको छनोट हुने सम्भावना कमजोर बन्ने देखिएको छ। एसिया क्वालिफायरमा रहेका १० टोलीमध्ये शीर्ष दुई राष्ट्रले ग्लोबल छनोटमा स्थान बनाउनेछन्। एसिया क्वालिफायरमा ट्वान्टी–२० विश्वकप खेलिसकेको थाइल्यान्डसँगै पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया पनि खेलिरहेका छन्। यता, नेपालले भने पहिलो पटक विदेशी प्रशिक्षक भिœयाए पनि ब्याटिङमा सुधार गर्न सकेको छैन। विश्वकप छनोटको तयारीका लागि नेपालले भारतीय प्रशिक्षक देविका पल्सिकरलाई नियुक्त गरेको छ। 

प्रकाशित: ९ भाद्र २०८० ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App