२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला फुटबलमा चासो र लगानी बढ्ने आशा

अनिश्चित भविष्य बोक्दै महिला विश्वकपबाट स्वदेश फर्किएका कयौं राष्ट्रका महिला खेलाडी एक महिना लामो प्रतिस्पर्धाले खेलमा नयाँ चासो र लगानी बढाउने आशामा छन्।  

सम्पन्न विश्वकपमा नाइजेरिया, फिलिपिन्स र जमैकाले अपर्याप्त लगानीका कारण निकै संघर्ष झेल्नुपर्यो। तर, पनि यस विश्वकपमा आफ्नो छाप छाडेका यी राष्ट्रका खेलाडी आफ्नो देशको सरकारले सहयोग र चासो राख्ने आशासहित देश फर्किएका छन्। राम्रो लगानी पाएका जर्मनी, ब्राजिल, क्यानडा र अमेरिका भने विश्वकपमा कुन पक्षमा चुक भयो भन्ने अध्ययनको आवश्यकतासहित घर फर्किए। फाइनलमा स्पेनसँग १–० ले स्तब्ध हुँदा पहिलो महिला विश्वकप उचाल्ने लक्ष्य अपूरो बनेको इङ्ल्यान्ड पनि आफ्नो खेलबारे पुनरवलोकन गर्न चाहन्छ।

‘यो महिला विश्वकपपछि हामी सबै तयार रहनुपर्छ। किनकि यो संस्करणले हरेक देशमा महिला विश्वकप टोली निस्कन सक्छ,’ फिफाको महिला फुटबलकी प्रमुख साराई बेरमेनले भनिन्, ‘यो विश्वकपपछि विश्वभरका लाखौं महिलाहरू पहिलो पटक विश्वकप खेल्ने सपना देख्न थालेका छन्। त्यसका लागि सबै एक ठाउँमा उभिनुपर्छ। विशेष त हरेक राष्ट्र एसोसिएसन, फेडेरेसन र कन्फेडेरेसनले आवश्यक लगानीसँगै सोहीअनुसार संरचना पनि निर्माण गर्नुपर्छ।’ अब महिला फुटबलको ठूलो प्रतिस्पर्धा आगामी वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक हो। फ्रान्स सहआयोजक राष्ट्र अस्ट्रेलियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै यस विश्वकपबाट बाहिरिएको टोली हो।  

यस विश्वकपमा नाइजेरिया, फिलिपिन्स र जमैकाले अपर्याप्त लगानीका कारण निकै संघर्ष झेल्नुपर्यो। तर, पनि यस विश्वकपमा आफ्नो छाप छाडेका यी राष्ट्रका खेलाडी आफ्नो देशको सरकारले सहयोग र चासो राख्ने आशासहित देश फर्किएका छन्।

तर, यो विश्वकप सुरु हुनुअघि फ्रान्सेली फुटबल उथलपुथल भएको थियो। किनकि उसकी एक सदस्य वेन्डी रेनार्डले विश्वकप नखेल्ने चेतावनी दिएकी थिइन्। त्यसलगत्तै फ्रेन्च फुटबल फेडेरेसनले तत्कालीन प्रशिक्षक कोरिने डिएस्रलाई बर्खास्त गर्दै हर्भे रेनाल्र्डलाई प्रशिक्षकमा नियुक्त गरेको थियो। कतारमा सम्पन्न पुरुष विश्वकपमा साउदी अरेबियालाई केही सफलता पनि दिलाएकाले रेनार्डले सो नियुक्ति पाएका हुन्। हर्भेको सम्झौता अर्को वर्षसम्म छ र उनले पनि आगामी ओलम्पिकतर्फ लक्षित रहेको संकेत गरिसकेका छन्। ‘हामीलाई कुनै पश्चात्ताप छैन,’ उनले भने, ‘आगामी वर्ष हामी घर (फ्रान्स ओलम्पिक) मार्फत फर्कनेछौं। त्यहाँबाट केही नयाँ प्राप्त गर्ने लक्ष्यसहित आउनेछौं।’

यता, चार पटकको विश्वविजेता अमेरिका पनि यस महिला विश्वकपबाट छिटै घर फर्कनुपरेकाले आफ्नो अवस्था पुनरवलोकन गर्ने पक्षमा छ। प्रशिक्षक भ्लात्को एन्डोनोवस्कीले विश्वकपमा असफलतासँगै राजीनामा दिइसकेका छन्। त्यसैले अमेरिका छिट्टै नयाँ प्रशिक्षक नियुक्त गर्ने योजनामा छ। किनकि अमेरिका पनि फ्रान्स, ब्राजिल र कोलम्बियासँगै ओलम्पिकमा छनोट भइसकेको राष्ट्र हो। यी टोलीमध्ये ब्राजिलले सन् १९९५ पछि पहिलो पटक समूहचरण पार गर्न सकेन। त्यस कारण उसका लिजेन्ड स्ट्राइकर मार्टा आँसु बोक्दै आफ्नो छैटौं विश्वकपमार्फत करियरको अन्त्य गर्न बाध्य भइन्।

‘अहिले नै महिला विश्वकप सकिएको छैन। ब्राजिलका लागि पनि महिला विश्वकप यहाँबाट सकिएको हैन। हामीले यो कुरामा ध्यान दिनुपर्छ,’ मार्टाले भनेकी थिइन्। नाइजेरियाले विश्वकपबाट प्राप्त हुने बोनस सबै खेलाडीलाई दिलाउने वातावरण सिर्जना गर्न फुटबलरको अन्तर्राष्ट्रिय एसोसिएसन फिफप्रोलाई आग्रह गरेको थियो। नाइजेरियाका सबै खेलाडीले नकआउट चरणसम्म पुगेबापत ६० हजार अमेरिकी डलर पाउनेछन्। नाइजेरिया अन्तिम १६ मा इङ्ल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो। फिफप्रोले बोनस मात्र होइन, सन् २०२१ देखि नाइजेरियाका खेलाडीले पाउनुपर्ने पारिश्रमिक दिलाउनसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ।

विश्वकपमा सहभागी सबै राष्ट्रका खेलाडीले समान ३० हजार अमेरिकी डलर पाउनेछन्। विजेता स्पेनका खेलाडीले भने दुई लाख ७० हजार अमेरिकी डलर प्राप्त गर्दा स्पेनिस फुटबल संघले ४.२९ मिलियन डलर पुरस्कार फिफाद्वारा पाउनेछ। पहिलो पटक विश्वकप खेल्ने आठ राष्ट्रमध्ये फिलिपिन्स पनि एक टोली थियो, जसले समूहचरणमा न्युजिल्यान्डलाई १–० ले हराउँदै ऐतिहासिक विजय दर्ता गर्यो। तर, त्यो नतिजाले फिलिपिन्सलाई समूहचरण पार गर्न पर्याप्त भएन। गत ओलम्पिकमा स्वर्ण विजेता क्यानडा पनि आफ्नो फुटबल फेडेरेसनसँग करार सम्झौता विवादका बीच विश्वकप खेल्न आएको टोली हो।  

तर, क्यानडाले पनि समूहचरण पार गर्न सकेन। क्यानडाको टोली एक वर्षका लागि करारविहीन छ। तर आन्तरिक स्रोतबाट विश्वकपमा पारिश्रमिक पाउने सम्झौतासहित उनीहरू अस्ट्रेलिया पुगेका थिए। क्यानडाले पनि धेरै पक्षमा काम गर्नुपर्नेछ। किनकि सेप्टेम्बरको अन्त्यमा क्यानडाले ओलम्पिक क्वालिफायरका लागि जमैकालाई आतिथ्यता गर्दै छ। जमैकाले पनि विश्वकप यात्रामा निकै कठिनाइ बेहोर्नुपरेको थियो। कुनै पनि मैत्रीपूर्ण खेलबिना जमैकाले विश्वकप खेल्नुपर्यो। तयारी निकै फितलो थियो भने खेलाडी र फुटबल संघबीच तनावको अवस्था थियो।

जनताबाट सहयोग रकम उठाउँदै खेलाडीको यातायात र बासका लागि खर्च गरिएको थियो। तर, पनि ऐतिहासिक रूपमा पहिलो पटक महिला विश्वकपको नकआउट चरणमा पुग्न सफल जमैकाले नयाँ चासो र आशा राख्दै स्वदेश फर्किएको छ। खेलाडीहरू पनि फेडेरेसनबाट लगानी बढाउने आशा राखेका छन्। ‘यो विश्वकप पछि धेरै साना राष्ट्रले पनि महिला खेलाडीका लागि लगानी गर्न सक्ने वातावरण बन्न सक्छ,’ जमैकाका प्रशिक्षक लोर्ने डोनाल्ड्सनले भने, ‘सबै देशका सरकारले पनि त्यसतर्फ ध्यान दिएर अगाडि बढ्नेछन्। हरेक देशका सरकारले खराब प्रवृत्ति हटाउँदै महिला फुटबललाई अगाडि बढाउनेमा विश्वस्त छु।’  

प्रकाशित: ९ भाद्र २०८० ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App