१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

उत्सुकतापूर्वक आयोजनाको प्रतीक्षा

एसियन गेम्स सुरु हुन २९ दिन बाँकी

चीनको हानझाउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स सुरु हुन २९ दिन मात्र बाँकी रहँदा एसियाभरका राष्ट्रहरू उत्सुकतापूर्वक उक्त आयोजनाको प्रतीक्षा गरिरहेका छन्।  

हानझाउ एसियन गेम्समा ५४ वटा खेलस्थलमा हुने कुल ४० खेलका चार सय ८३ विधामा प्रतिस्पर्धा हुँदै छ। चीनले ओलम्पिक काउन्सिल अफ एसियाको सबैभन्दा ठूलो आयोजना एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि चीनले  

सन् १९९० को बेइजिङ र सन् २०१० गोङ्झाउ एसियन गेम्स आयोजना गरेको थियो। चीनमा तेस्रो पटकको आयोजना हुन लागेको एसियाडका लागि ४६ राष्ट्र लामो समयदेखि प्रतीक्षा गरिरहेका छन्। आगामी एसियाड जापानको नागोया सहरमा आयोजना हुँदै छ।

सोही एसियन गेम्सको आयोजक कमिटीका सहायक महासचिव यासुहिरो इनोमाताले हानझाउमा एसियन गेम्सबाट धेरै आशा राखिएको उल्लेख गर्दै सफलतापूर्वक आयोजना हुने विश्वास व्यक्त गरे। ‘हरेक खेलस्थल उत्कृष्ट छन्। त्यहाँका कर्मचारी र स्वयम्सेवक पनि राम्रा छन्। खेलस्थलसम्म जाने अतिरिक्त बाटाहरू पनि राम्रोसँग बनाइएको छ। त्यहाँको वातावरण पनि राम्रो छ,’ गत अप्रिलमा हानझाउ भ्रमण गरेका इनोमाताले भने। थाइल्यान्ड ओलम्पिक कमिटीका उपाध्यक्ष चारोइन वातानासिनले ‘हार्ट टु हार्ट एट फ्युचर’ नामको स्लोगनको निकै प्रशंसा गर्दै एकआपसमा समझदारीबाट मात्र भविष्य सम्भव हुने बताए।  

उनीहरूसँगै देश देशका डेलिगेट्सले पनि चीनको तयारीबारे प्रशंसा गर्दै आआफ्ना टोली एसियन गेम्सको प्रतीक्षामा रहेको बताएका छन्। ‘हामी एसियन गेम्समा ठूलो टोली पठाउँदै छौं। हाम्रा खेलाडीले पनि लक्ष्य राखेका छन्,’ सिंगापुरका सेफ दी मिसन कोह कुन टेकल भने, ‘उनीहरूले राम्रो प्रशिक्षणसँगै हानझाउमा प्रदर्शन गर्न सके नतिजा ल्याउन सक्छन्।’ पछिल्लो १० वर्षदेखि भुटानमा सुटिङ खेलिरहेका लेन्छु कुइनझाङले हानझाउमा करियरकै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। पुरुष १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्न लागेका लेन्छुले आफूलाई पदकको दाबेदारका रूपमा तयार गरिरहेका छन्।  

हङकङ ओलम्पिक कमिटीले पनि पौडी, फेन्सिङ, साइक्लिङ र एथलेटिक्समा आफ्नो बलियो टोली पठाउने जनाएको छ। दक्षिण कोरियाले अहिलेसम्मकै ठूलो (११८० सदस्य) टोली चीन पठाउँदै छ। आपैmँले आयोजना गरेको सन् २०१४ को इन्चोन एसियन गेम्सभन्दा धेरै संख्यामा दक्षिण कोरियाली चीन जान लागेका हुन्। ‘कोभिडको महामारीपछि हामीले बल्ल यति ठूलो आयोजनालाई स्वागत गर्न पाएका छौं,’ सिओलमा बस्ने ली सङ हुईले भने, ‘त्यसैले लामो समयदेखि यस किसिमको आयोजनामा दर्शक जान पाएनन्। त्यसैले यस पटक हानझाउमा दर्शकले ठूलो उत्सव मनाउन पाउनेछन्।’  

ओसिएका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले हानझाउ एसियन गेम्स यादगार र ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन्। ‘हानझाउ एसियन गेम्सको आयोजक कमिटीले योजना र तयारीका हिसाबले धेरै राम्रो गरिरहेको छ। हानझाउ १९औं एसियन गेम्सलाई स्वागत गर्न तयार छ। झेजियाङ राज्यका पाँच सहरले केही हप्ता यो आयोजना उत्कृष्ट बनाउनेछन्,’ रणधीर सिंहले भने। 

प्रकाशित: ८ भाद्र २०८० ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App