२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

संसदीय छानबिन समितिद्वारा सहकारीकर्मीसँग छलफल

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सरोकारवालासँग छलफल गरेको छ। समितिले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी एवम् कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा मंगलबार छलफल गरेको हो।

समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरूपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा छलफल भएको थियो। समितिका सभापति सूर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारावालसँग छलफल जारी रहेको बताए। उनले विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न नहुने बताए।

सो छलफलमा सांसद ध्रुवबहादुर प्रधन, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरूमा देखिएको संकट समाधानका लागि गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिएका थिए। महासंघका अध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरूको विषयमा जानकारी गराउँदै लिखित रूपमा समेत बुझाइन्।  

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंको उपस्थिति थियो।

प्रकाशित: १९ असार २०८१ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App