१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

श्रेष्ठ र मगरलाई जुडोमा कांस्य

काठमाडौं- नेपाली खेलाडी इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले थाइल्यान्डमा जारी इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।

इन्द्रले ६६ केजीमा फिलिपिन्सका मेरालेस नाथानिइललाई २.२० सेकेन्डमा वाजारी र इप्पोनका आधारमा पराजित गरेको नेपाली टोलीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठले बताए। श्रेष्ठका अनुसार ६६ केजी तौलसमूहमा ९ देशको खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पहिलो चरणमा इन्द्रले आयोजक थाइन्ल्यान्डका फुयनसुक कवेतलाई १.२२ सेकेन्डमा वाजारी इपोनका आधारमा हराउँदै क्वार्टरफाइनलमा पुगेका थिए। क्वार्टरफाइनलमा इन्द्रले  हङकङका चोइसिङ योङलाई वाजारी इपोनमा पराजित गरेका थिए। सेमिफाइनलमा भने इन्द्र युएईका ओक्सिवाई अलिखानसँग पूरा समय खेल्दै वाजारीको आधारमा पराजित भएका थिए।

यसै गरी नेपाललाई पदक जिलाउने क्रममा उमेश ६० केजीमा क्यामरुनका खेलाडीसँग पराजित हुंदै कांस्यमा सीमित भएका थिए।

उमेशले पहिलो चरणको खेलमा थाइल्यान्डका जाइवान कुराकोरनलाई वाजारी इपोनमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए।

क्वार्टरफाइनलमा भियतनामी खेलाडी न्गुयन होङसँग गोल्डेन स्कोरमा पराजित भई रिपाचेजमा थाई खेलाडीबाट वाकओभर प्राप्त गरेका थिए। क्यामरुनका खेलाडीसँग पूरा समय प्रतिस्पर्धा गर्दा १ सिदो पाएका उनले गोल्डेन स्कोरमा अर्को सिदो पाउँदा खेलमा उमेशले आफ्नो नियन्त्रण गुमाएका थिए।

दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता नेपाली खेलाडी फुपुल्हामु खत्री प्रतियोगितामा पराजित भएकी छिन्। १२औं सागकी स्वर्ण विजेता खेलाडी फुपुल्हामुले आइतबार ६३ केजीमा प्रतिस्पर्धा गरेकी थिइन्। फुपुलाई आयोजक राष्ट्र थाइल्यान्डकी सेनाथन ओरापिनले पूरा समय खेलेर वाजारीको आधारमा हराइन्।

फुपुले उत्कृष्ट प्रदर्शन गरे पनि २ वाजारीको आधारमा पराजित भएको नेपाली टोलीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठले बताए।

यसै गरी प्रतियोगितामा नेपालकी सुनीता ताम्राकार जारी प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएकी छिन्।

७० केजी तौलसमूहमा सुनीता लावसकी खेलाडीसँग पराजित भइन्। सुनीतालाई लावसकी थिफाकोन सिहामोङसँग ३ वाजारी र इपोनमा पराजित गरेकी हुन्। सुनीताले कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा भियतनामकी थु्रओङ थि थानह थाउसँग ३.४० सेकेन्डमा ओसाइकोमी इपोनमा हारको सामना गरिन्।

प्रतियोगिताको पहिलो चरणमा सुनीताले आयोजक थाइल्यान्डकी थाम्माफोरन अनोगतनसँग वाजारीको आधारमा सफलता हासिल गरेर अगाडि बढेकी थिइन्। 

यसै गरी महिला ५७ केजीमा मनिता श्रेष्ठ प्रधान थाइल्यान्डकी वारासिहा युरिकोसँग इपोनमा पराजित भइन्। जारी प्रतियोगितामा नेपालका ५ खेलाडीले भाग लिएका थिए। बिहीबार थाइल्यान्ड गएको नेपाली टोलीबाट पुरुष ६० केजीमुनिमा उमेश मगर, ६६ केजीमा इन्द्रबहादुर श्रेष्ठ, महिला ६३ केजीमुनि फुपुल्हामु खत्री, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि सुनीताले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १६ श्रावण २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App