काठमाडौं- राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नेपालले १९औं एसियन युथ, २४औं जुनियर महिला र ३१औं जुनियर पुरुष भारोत्तोलन च्याम्पियनसिपको यात्रा टुंगाएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालका प्रकाश केसी, सन्जु चौधरी र कमला श्रेष्ठले राष्ट्रिय कीर्तिमानमा सुधार गरे।
प्रकाशले जुनियर ६९ केजी, सन्जुले समूह 'बी'को ५३ केजी र कमलाले ५८ केजी तौल समूहको जुनियर विधामा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। आइतबार सुरु भएको प्रतियोगितामा २७ राष्ट्रबाट १ सय ४८ पुरुष तथा १७ राष्ट्रबाट ९३ महिला खेलाडी सहभागी थिए। चाइनिज ताइपेइबाट सबैभन्दा बढी १४ पुरुष र १४ महिला गरी २८ खेलाडी सहभागी थिए। टिमोर लिस्टेबाट सबैभन्दा कम १ खेलाडी मात्र सहभागी थिए। नेपालबाट ९ पुरुष र ४ महिला गरी १३ खेलाडी सहभागी थिए। युथ र जुनियरको पुरुष तथा महिलामा समान ८/८ गरी जम्मा ३२ तौल समूहमा प्रतिस्पर्धा भएका थिए।
प्रतियोगिताको अन्तिम दिन शुक्रबार नेपालका विशाल सिंह विष्टले ८५केजी तौल समूहमा १०औं स्थान हासिल गरेका छन्। उनले स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १ सय १८ केजी सहित कुल २ सय ११ केजी तौल उठाएका थिए। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका नेपाली खेलाडी जैदी कोजुले ९४ केजीको स्न्याचमा ७८ केजी र क्लिन एन्ड जर्कमा १ सय केजी उचाले।
राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवं भारोत्तोलनका पूर्व ओलम्पियन खेलाडी सुरेन्द्र हमालले प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्नु नेपालको सबभन्दा ठूलो जित भएको बताए।
'जुयिनर एसियन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो सबभन्दा ठूलो जित हो। यसबाट हामी विश्व स्तरको प्रतियोगिता गर्न सक्षम छौं भन्ने प्रमाणित भएको छ। प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाएको छ। संघलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने अनुभव बढेको छ,' हमालले भने, 'हामीले पदक जित्न सकेनौं। त्यसका लागी थप मिहिनेत आवस्यक छ। तर नेपाली खेलाडीले सिनियरको कीर्तिमानलाई तोडे। जुन नेपाली भारोत्तोलनको लागी खुसीको कुरा हो। यसले भविष्यमा हामी राम्रो सफलता हासिल गर्न सक्छौं भन्ने देखाएको छ।'
प्रकाशित: १४ श्रावण २०७४ ०२:४७ शनिबार