४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण एसियाली प्रतियोगितामा भाग लिन जाने खेलाडीको बिदाइ

भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ। 

आज महानगरपालिकाले १० जना खेलाडी र ३ जना अम्पायरसहित १३ सदस्यीय टोलीलाई बिदाइ गरेको हो। प्रतियोगितामा कोशी प्रदेशका रजिना मगर भोजपुर, वीरबहादुर तामाङ भोजपुर, आलोक राई पाँचथर र रोशन मगर झापा रहेका छन्। त्यस्तै मोरङबाट नितेश खवास, केरिसा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा र कुसुम राजवंशी छन्। 

साउन १९ देखि २१ गतेसम्म हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले बिदाइ गरिन्। खेलाडीहरूलाई राष्ट्र र राष्ट्रियताका लागि खेल्दै भाग लिएका सबै इभेन्ट पदक प्राप्त गरी देशको नाम राख्नु हुन्छ भन्नेमा ढुक्क भएको बताउँदै, कार्यवाहक प्रमुख कार्कीले भनिन्, ‘मार्सल आर्ट खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक जितेको इतिहासलाई कायम राख्न तपाईँहरू सक्षम हुनुहुन्छ।’  

प्रतियोगितामा कोशी प्रदेशका खेलाडीसहित नेपालबाट ५१ जना महिला र पुरुष खेलाडी र २० जना अम्पायरका साथै अफिसियल गरी ७१ जनाको सहभागिता हुनेछ। नेपालका खेलाडीहरुले एक्ल स्पारिङ, ग्रुप स्पारिङ, एक्ल प्याटन, ग्रुप प्याटन, सेल्फ डिफेन्स र पावर ब्रेकिङ गरी ६ इभेन्टमा प्रतिस्पर्धा गर्ने नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए। 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिप्सका खेलाडीहरूको सहभागिता रहने छ। 

प्रकाशित: १६ श्रावण २०८० १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App