१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

फिलिपिन्सको विश्वकप इतिहासकै पहिलो जित

आयोजक न्युजिल्यान्डविरुद्ध गोल गरेपछि फिलिपिन्सकी सरिना बाल्डेन (बायाँ)। तस्बिर: एपी

एसियन राष्ट्र फिलिपिन्सले आफ्नो विश्वकप फुटबल इतिहासमा नै पहिलो जित निकाल्दा मंगलबार आयोजक न्युजिल्यान्डलाई स्तब्ध बनाएको छ।

फिलिपिन्सका प्रशिक्षक एलेन स्टेजिचले न्युजिल्यान्डविरुद्ध खेलको पूर्वसन्ध्यामा नै घरेलु टोलीलाई स्तब्ध बनाउने प्रतिक्रिया दिएका थिए। वेलिङ्टनमा ३२ हजार तीन सय ५७ समर्थकका सामु उनको टोलीले न्युजिल्यान्डलाई १–० ले हराउँदै सोही किसिमको नतिजा पनि निकाल्यो।

सरिना बोल्डेनले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्यो। त्यो गोलले फिलिपिन्सको खेलकुद इतिहासमा नै यादगार विजय सुनिश्चित गरायो। उक्त जित फिलिपिन्सको पुरुष या महिला विश्वकपकै पहिलो हो। अर्को खेलमा स्विट्जरल्यान्ड र सन् १९९५ को विश्व च्याम्पियन नर्वेले गोलरहित बराबरीको नतिजा सामना गर्‍यो।

खेल सुरु हुनुअघि नै आफ्ना स्टार स्ट्राइकर एडा हगरबर्ग चोटका कारण बाहिरिएपछि नर्वेलाई अर्को झड्का लागेको थियो। वर्षा भएको खेलमा स्विस टोलीले बराबरीको नतिजाका बावजुद समूह ‘ए’ को शीर्ष स्थान ओगटेको छ।

एसियन राष्ट्र फिलिपिन्सले आफ्नो विश्वकप फुटबल इतिहासमा नै पहिलो जित निकाल्दा मंगलबार आयोजक न्युजिल्यान्डलाई स्तब्ध बनाएको छ।

यो नतिजासँगै स्विट्जरल्यान्डको चार अंक छ भने आयोजक न्युजिल्यान्ड र डेब्युटेन्ट फिलिपिन्स एक अंकले पछाडि छन्। अहिलेसम्म जारी विश्वकपमा गोलविहीन नर्वेले एक अंक बटुलेको छ। स्विट्जरल्यान्डले आइतबार आयोजक न्युजिल्यान्डसँग हार जोगाउँदा नै उसलाई अन्तिम १६ को यात्रा तय गर्न पर्याप्त हुनेछ।

फिलिपिन्सले पनि अविश्वसनीय तवरबाट नकआउट चरणको यात्रा तय गर्न सक्छ। यद्यपि, अघिल्लो हप्ता फिलिपिन्सले नर्वेलाई हराउँछ या हराउँदैन भन्दा पनि आयोजक राष्ट्रलाई स्तब्ध बनाएको नतिजा जुगौंजुगसम्म पनि यादगार बन्नेछ। ‘हामीले यो प्राप्त गर्‍यौं मलाई विश्वास नै लागिरहेको छैन,’ खुसीका आँसुले भरिएकी फिलिपिन्सकी मिडफिल्डर सरा इगेसभिकले भनिन्। यता, न्युजिल्यान्डका खेलाडी भने पीडाका आँसुका साथ बाहिरिए।

‘टोलीका सबै खेलाडीका लागि यो नतिजा निकै पीडादायी हो,’ न्युजिल्यान्डकी प्रशिक्षक जिट्का क्लिमकोभाले भनेकी थिइन्। विश्वकप उद्घाटन खेलमा नर्वेलाई १–० ले स्तब्ध बनाएपछि उनको टोली न्युजिल्यान्डले विश्वकपको पहिलो जित दर्ता गरेको थियो। तर, दोस्रो खेलमा भने आयोजकले सो लय जारी राख्न सकेन। ‘हामीले खेलको अन्त्यसम्म संघर्ष गर्‍यौं। तर, त्यो पर्याप्त भएन,’ चेक प्रशिक्षक जिट्काले भनिन्।

नयाँ जीवन पाएकी १८ वर्षीया काइसेडो

दिनको सुरुआतमा नै सिड्नीमा भएको खेलमा अर्को एसियाली राष्ट्र दक्षिण कोरिया भने कोलम्बियासँग २–० ले स्तब्ध भयो। १८ वर्षीया लिन्डा काइसेडो, जो तीन वर्षअगाडि मात्र क्यान्सरबाट फर्किएकी थिइन्, उनले नै कोलम्बियाका लागि दोस्रो गोल गरेकी थिइन्।

 त्यसअघि पहिलो गोल भने पेनाल्टीमार्पmत क्याटलिना युस्मेले गरेकी थिइन्। दक्षिण कोरियाकी प्रशिक्षक कोलिन बेलले दोस्रो हाफमा अमेरिकामा जन्मेकी खेलाडी क्यासे फेरलाई मैदान पठाए पनि सफलता पाउन सकिनन्। १६ वर्ष २६ दिनकी क्यासे महिला विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी भने बनिन्।

यता, महिला फुटबलकै उत्कृष्ट अट्याकर काइसेडोका लागि भने विशेष बन्यो। किनकि उनी यु–१७ महिला विश्वकप, यु–२० महिला विश्वकपका साथै सिनियरको विश्वकपमा पनि गोल गर्न सफल भइन्। कोलम्बियाकी सहायक प्रशिक्षक नेल्सन अबाडियाले काइसेडोलाई ‘असाधारण खेलाडी’ भन्दै प्रशंसा गरेकी थिइन्।

दिनको सुरुआतमा नै सिड्नीमा भएको खेलमा अर्को एसियाली राष्ट्र दक्षिण कोरिया भने कोलम्बियासँग २–० ले स्तब्ध भयो। १८ वर्षीया लिन्डा काइसेडो, जो तीन वर्षअगाडि मात्र क्यान्सरबाट फर्किएकी थिइन्, उनले नै कोलम्बियाका लागि दोस्रो गोल गरेकी थिइन्।

‘उनी बल आफ्नो नियन्त्रणमा राख्छिन्। उनी कहिल्यै हार मान्दिनन्। उनी अर्कै ग्रहबाट आएकी हुन्,’ उनले भनिन्। यो नतिजापछि समूह ‘एच’ को कोलम्बियाले जर्मनीसँगै तीन अंक बटुल्यो। जर्मनीले भने सोमबार मोरक्कोमाथि ६–० को रबाफिलो जित निकालेको थियो।

‘सपना पूरा हुँदै छ’

विश्वकप फुटबलमा ऐतिहासिक जितपछि मंगलबार फिलिपिन्सका कयौं समर्थकले उत्सव मनाए भने कोही खुसीका आँसु झार्दै रोएका थिए। विश्व फुटबलका ठूलो प्रतिस्पर्धामा अपरिपक्व मानिँदै आएको फिलिपिन्सले वेलिङ्टनमा आयोजक न्युजिल्यान्डलाई १–० ले स्तब्ध बनाउँदा त्यहाँबाट आठ हजार किलोमिटर टाढा ठूलो विजयोत्सव मनाइएको थियो। फिलिपिन्सका राजधानी मनिलाको युपी टाउन सपिङ सेन्टरमा रहेको ठूलो स्क्रिनमा फिलिपिनीले उक्त खेल प्रत्यक्ष प्रसारण हेरेका थिए।

आफ्नो देशका खेलाडीले अविश्वसनीय नतिजा निकालेलगत्तै उनीहरूले आँसु खसाल्दै खुसी मनाए। ‘म मेरो देशको विश्वकपकै पहिलो जित प्राप्त भएकाले केही भावुक भएको छु,’ फिलिपिन्सकी गोलकर्ता बोल्डेनको ठूलो पोस्टरअगाडि रहेकी २१ वर्षीया बेथानी टेलबटले भनिन्, ‘यहाँ भएका सबै केटीहरूलाई पनि यही महसुस भइरहेको छ। म अहिले निशब्द भएकी छु।’

विश्वकप फुटबलमा ऐतिहासिक जितपछि मंगलबार फिलिपिन्सका कयौं समर्थकले उत्सव मनाए भने कोही खुसीका आँसु झार्दै रोएका थिए।

जितको नतिजासँगै नीलो, सेतो र रातो रंगका फिलिपिन्सको राष्ट्रिय जर्सी लगाएका समर्थकहरू उफ्रिए, चिच्च्याए र एकअर्कामा अंकमाल गरेका थिए। पहिलो हाफमा बोल्डेनले गोल गर्दा पनि उनीहरूको उत्साह उस्तै रह्यो।

एयरकन्डिसन जडान गरिएको मलमा पनि न्युजिल्यान्डको आक्रमण हुँदा उनीहरूमा गर्मीको महसुस देखिएको थियो। फिलिपिन्समा बास्केटबल र बक्सिङजस्तो फुटबल लोकप्रिय छैन। तर, पनि महिला फुटबललाई सेवा सुविधा बढाउनुपर्ने धेरैले माग गरेका छन्। ‘विश्वकप खेल्नु नै सपना थियो। तर, जित नै प्राप्त हुनु अद्भुत हो,’४० वर्षे एन्ड्य्रु डाटुले भने, ‘सपनाहरू पूरा हुँदै छन्। अब हामी फिलिपिन्सले पनि विश्व फुटबलमा केही गर्न सक्छ भन्न सक्नेछौं।’

एयरकन्डिसन जडान गरिएको मलमा पनि न्युजिल्यान्डको आक्रमण हुँदा उनीहरूमा गर्मीको महसुस देखिएको थियो। फिलिपिन्समा बास्केटबल र बक्सिङजस्तो फुटबल लोकप्रिय छैन। तर, पनि महिला फुटबललाई सेवा सुविधा बढाउनुपर्ने धेरैले माग गरेका छन्।

यता, फिलिपिन्स फुटबल फेडेरेसनले आफ्ना समर्थकलाई धैर्य राख्न आग्रह गर्दै संघर्ष अहिल्यै नै पूरा भइनसकेको जनाएको छ। 

प्रकाशित: १० श्रावण २०८० ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App