१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

कुस्ती टोलीको भारतमा प्रशिक्षण

उन्नाइसाैं एसियाली खेलकुदको तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ।

चीनको हाङझाउ सहरमा हुने एसियाडको तयारीका लागि नेपालका चार खेलाडीसहित पाँच सदस्यीय टोली भारतमा प्रशिक्षण गर्न जाने भएको हो। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो तयारी गर्न उत्पे्ररित गर्दै आइतबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

वैदेशिक प्रशिक्षणका लागि जान लागेका चारै खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिलामा शिवाङ्गी दुवे (५७ केजी) र सुशीला चन्द (६२ केजी) छन्।

१३औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत पदक जितेका थिए। कुस्तीका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी उनीहरूसँगै भारत जानेछन्। नेपाली टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जानेछ। नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जानेछ। उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म खेलाडी प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउँदा सबै खेलाडी उत्साहित भएको प्रतिक्रिया दिए। आगामी सेप्टेम्बर २३ देखि सुरु हुने १९औं एसियाडमा नेपालका २९ खेलमध्ये कुस्तीले पनि चुनौती प्रस्तुत गर्दै छ।

प्रकाशित: ८ श्रावण २०८० ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App