२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।

नेपाल भलिबल संघले आज एक कार्यक्रम आयोजना गर्दै बङ्गलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदक विजेता महिला र पुरुष खेलाडीलाई सम्मान गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पदक विजेता महिला टोली कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोली दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन्। उनीहरूलाई नगद २५ हजार र सम्मान पत्रद्वारा सम्मान गरिएको हो।

 सोही अवसरमा संघले टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो।सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बङ्गलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जितेका थिए। च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदक विजेतालाई पुरस्कार दिन ढिलाइ भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडीलाई प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

टोलीकी व्यवस्थापक जुनु पुन मगरले आफूले पाएको पुरस्कार रकम १९ औं एसियाडको तयारीमा रहेका खेलाडीका लागि खर्च गर्ने घोषणा गरिन।उक्त कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलाडीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सम्मान र पुरस्कार आवश्यक रहेको उल्लेख गर्दै राज्यको तर्पmबाट पनि यस्ता काम उचित समयमा हुनुपर्ने बताए। 

साथै कोइरालाले नेपालको राष्ट्रिय खेल भलिबलबाट आम मानिस र राज्यले नै ठूलो आशा र भरोसा गरेको उल्लेख गर्दै अन्य खेलको तुलनामा नेपालको भलिबलले धेरै पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। राज्य र आम समर्थकले नै राष्ट्रिय खेल भलिबलबाट धेरै आशा राखेको र सोहीअनुरूप संघले काम गरिरहेको बारेमा आफू जानकार रहेको कोइरालाको भनाइ थियो। संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले ऐतिहासिक पदक विजेता नेपाली बीच भलिबल टोलीलाई बधाई दिए। 

साथै अध्यक्ष चन्दले भलिबलका लागि पाँच हजार दर्शक क्षमता भएको कभर्डहल निर्माण गर्ने उद्देश्य अनुरूप आफ्नो कार्य समिति लागि परेको र त्यसमा राखेपको पनि सहयोग भइरहेको पनि उल्लेख गरे। आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा हुने १९ औं एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोलीको पनि सहभागिता हुनेछन्। सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ। 

प्रकाशित: ५ श्रावण २०८० १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App