२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कतारको विश्वकप आशा जीवित

दोहा- कतारले मंगलबार दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै रूसमा अर्को वर्ष हुने विश्वकपमा छनोट हुने आशा जीवित राखेको छ। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएइ), बहराइन र इजिप्टसहितका छिमेकी राष्ट्रहरूले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग कूटनितिक सम्बन्ध विच्छेद गर्नुका साथै आर्थिक नाकाबन्दी गरेपछि हाल खाडी मुलुकमा चरम कूटनीतिक संकट उत्पन्न भएको छ।

एसियाली छनोटअन्तर्गत मंगलबार सम्पन्न समूह 'ए’ को खेलको २५औं मिनेटमा हसन अल हाइडोसको गोलमा कतारले अग्रता लिएको थियो। ५१औं मिनेटमा अक्रम अफिफले गोल गर्दै कतारको अग्रता दोब्बर पारेका थिए।

६२औं मिनेटमा दक्षिण कोरियाका सुङ युङ कीले गोल गर्दै गोलअन्तर कम गरेका थिए। ७०औं मिनेटमा हि चन ह्वाङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काएका थिए।

तर त्यसको पाँच मिनेटपछि नै हाइडोसले गोल गर्दै कतारका लागि महत्वपूर्ण ३ अंक पक्का गरेका थिए।

छनोट चरणको आठ खेलमा कतारको यो दोस्रो जित हो। यस जितपछि ७ अंक जोडेको कतार अंकतालिकाको पाँचांै स्थानमा उक्लिएको छ। यससँगै कतारले समूहको तेस्रो स्थानमा रहँदै विश्वकको प्लेअफ खेल्ने सम्भावना जीवित राखेको छ। समूह ‘ए’ र 'बी’ का शीर्ष २ मा रहने टोली स्वतः अर्को वर्ष रूसमा हुने विश्वकपमा छनोट हुनेछन् भने तेस्रो स्थानमा रहेका टोलीले प्लेअफ खेल्नेछन्। ८ खेलको समाप्तिमा २० अंक जोडेको इरान शीर्ष स्थानमा रहँदै यस समूहबाट विश्वकपमा छनोट भइसकेको छ। हालसम्म एसियाली राष्ट्रबाट रूस विश्वकपमा छनोट हुने इरान एक मात्र टोली हो। समान खेलबाट १३ अंक जोडेको दक्षिण कोरिया दोस्रो, १२ अंक जोडेको उज्वेकिस्तान तेस्रो र ९ अंक जोडेको सिरिया चौथो स्थानमा छन्। ६ अंक जोडेको चीन अंकतालिकाको पुछारमा छ।

त्यस्तै समूह 'ए’ को अर्को खेलमा चीन सिरियासँग २–२ को बराबरीमा रोकिएको छ।

१२औं मिनेटमा मोहम्मद अल मावसले पेनाल्टीमा गरेको गोलमा सिरियाले अग्रता लिएको थियो। ६८औं मिनेटमा लि जियाओले पेनाल्टीमा गोल गर्दै चीनलाई खेलमा फर्काएका थिए। ७५औं मिनेटमा छि उले गोल गदर्ैै चीनलाई अग्रता दिलाएका थिए।

तर अन्तिम मिनेटमा अहमद अल सालीले फ्रि–किकमा गोल गर्दै सिरियालाई खेलमा फर्काएपछि स्पष्ट तीन अंक जोड्ने दाउमा रहेको चीन निराश बनेको थियो।

चीन हालसम्म एक पटक मात्र विश्वकपमा छनोट भएको छ। यस बराबरीसँगै सन् २००२ को विश्वकपमा छनोट भएको चीनको अर्को वर्ष हुने विश्वकपमा छनोट हुने सम्भावना क्षीण बनेको छ। समूह चरणमा अन्तिम २ खेल बाँकी रहँदा स्पष्ट ६ अंक जोड्ने र गोलअन्तर कम गर्ने सम्भावना कम रहेकाले चीनको तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्ने आशा पातलिएको हो।

यता समूह ‘बी’ को खेलमा जापान इराकसँग १–१ को बराबरीमा रोकिएको छ। आठौं मिनेटमा युया ओसाकोको गोलमा जापानले अग्रता लिएको थियो। तर ७३औं मिनेटमा मेहदी कामेलले गोल गर्दै इराकलाई खेलमा फर्काएका थिए।

यस बराबरीपछि ८ खेलको समाप्तिमा १७ अंक जोडेको जापान शीर्ष स्थानमा छ। समान खेलबाट समान १६ अंक जोडेका साउदी अरेबिया र अस्ट्रेलिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन्। १० अंक जोडेको युएई चौथो, ५ अंक जोडेको इराक पाँचौं र २ अंक जोडेको थाइल्यान्ड अंकतालिकाको पुछारमा छ। युएई र थाइल्यान्डले पनि १–१ को बराबरी खेलेका हुन्।

छनोट चरणको आठ खेलमा कतारको यो दोस्रो जित हो। यस जितपछि ७ अंक जोडेको कतार अंकतालिकाको पाँचांै स्थानमा उक्लिएको छ। यससँगै कतारले समूहको तेस्रो स्थानमा रहँदै विश्वकको प्लेअफ खेल्ने सम्भावना जीवित राखेको छ।

प्रकाशित: १ असार २०७४ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App