१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

कुशल भुर्तेलले बलिङ र ब्याटिङमा यादगार प्रदर्शन गरेको दिन नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि तीन विकेटको जितसहित जारी एसिसी मेन्स इमर्जिङ कपको यात्रा टुङ्ग्याएको छ।

श्रीलंकाको कोलम्बोमा जारी इमर्जिङ कपमा सुरुआती दुई खेलको नतिजा सुम्पिएको नेपाल समूहको अन्तिम खेलमा युएईविरुद्ध जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा थियो। यो समूह ‘बी’ बाट भारत र पाकिस्तानले सेमिफाइनल यात्रा तय गर्दा नेपाल र युएईको यात्रा समूहचरणमा नै सीमित बनेको थियो। त्यसैले दुवै टोली अन्तिम खेल जित्न चाहन्थे। यद्यपि, कुशलको अलराउन्ड प्रदर्शनमा नेपालले युएईको युवा टोलीमाथि तीन विकेटको सहज जित निकाल्यो। ओपनर कुशलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले १ सय ५८ रनको लक्ष्य २७ ओभर बाँकी छँदा नै पूरा गर्यो।

नेपालको जितमा कुशलले ६ विकेट लिएर ७१ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे। पार्ट टाइम बलर कुशलको बलिङ प्रेरणामा नेपालले युएईलाई ४४ ओभरमा १ सय ५७ रनमै अलआउट गर्यो। जबाफी ब्याटिङ गरेको नेपालका लागि कुशलले सर्वाधिक ७१ रनको योगदान गर्दै जित आधार तय गरेका हुन्। मध्यम लक्ष्य पाए पनि नेपालको सुरुआत निकै खराब रह्यो। इनिङको पहिलो बलमा नै ओपनर अर्जुन साउद खाता नखोल्दै पवेलियन फर्किए। त्यससँगै नेपाल निकै दबाबमा पर्यो।

तर, अर्का ओपनर कुशलले आक्रामक ब्याटिङ गर्दै उल्टै युएईका बलरमाथि दबाब बनाउने प्रयास गरे। उनले दोस्रो विकेटका लागि देव खनालसँग ९८ रनको साझेदारी गरेका थिए। मोहम्मद फराजुद्दिनको बलमा दोस्रो विकेटका रूपमा आउट हुनुअघि कुशलले ४३ बलमा ९ चौका र चार छक्का प्रहार गरे। खातामा थप पाँच रन जोड्दा देव पनि २४ रनमा पवेलियन फर्किए। त्यसपछि नेपालले राम्रो साझेदारी बनाउन नसके पनि मध्यम लक्ष्य भेट्टायो। यस क्रममा सन्दीप जोराले २४ रन र गुल्सन झाले ११ रन जोड्दै नेपाललाई जितनजिक पुर्याए।

तर, जितका लागि १० रन आवश्यक हुँदा नेपालले लगातार तीन विकेट गुमाए पनि ठूलो क्षति भने बेहोर्नुपरेन। यस क्रममा गुल्सनसहित कप्तान रोहित पौडेल ९ रन र पवन सर्राफ खाता नखोल्दै पवेलियन फर्किए। युएईका बलर मोहम्मद फराजुद्दिन एक्लैले पाँच विकेट लिँदा मोहम्मद जवादउल्लाहको नाममा दुई विकेट रह्यो। त्यसअघि टस हारेर बलिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको यादगार बलिङमा निर्धारित ५० ओभर सकिन ६ ओभर बाँकी छँदा नै युएईलाई १ सय ५७ रनमा नै अलआउट गर्यो।

नेपालका स्पिनरले नै युएईको १० विकेट लिएका हुन्। ओपनर लभप्रीत सिंहले ५२ रन बनाउनुबाहेक अन्यले युएईका लागि उल्लेख्य योगदान गर्न सकेनन्। लभप्रीत कुशलकै बलमा चौथो विकेटका रूपमा आउट भए। त्यसअघि उनले ८२ बलमा ६ चौका र एक छक्का प्रहार गरे। इनिङको सुरुआतदेखि नै कसिलो बलिङ गरेको नेपालले युएईमाथि दबाब बनाए पनि पहिलो विकेटका लागि भने ११औं ओभरसम्म कुर्नुपर्यो। स्पिनर कुशल मल्लले आर्यान्स शर्मालाई १४ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन्। तर, एक छेउबाट लभप्रीतले इनिङ अगाडि बढाए।

लभप्रीतले २५.३ ओभरमा कुशल भुर्तेलको बलमा दुई रन लिँदै युएईको इनिङलाई सय रनको आँकडा पार गराए। त्यसको दुई बलपछि नै लभप्रीत आउट हुन पुगे। त्यसपछि भने युएईको इनिङ नेपालका स्पिनरसामु निरीह बन्यो। खातामा थप ५७ रन जोड्न युएईले सात विकेट गुमाउँदा नेपालले सहज लक्ष्य पायो। कुशलले भुर्तेलले १० ओभर बलिङ गर्दै ४० रन खर्चिंदा सातवटा वाइड फ्याँके। अन्य स्पिनर श्याम ढकालले दुई तथा पवन सर्राफ र कुशल मल्लको नाममा समान एक विकेट रह्यो। पवनले १० ओभरमा तीन मेडन राख्दै १९ रन मात्र बेहोरे।  

प्रकाशित: ४ श्रावण २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App