२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जित्नैपर्ने दबाबमा भारत

लन्डन- भारतीय कप्तान विराट कोहलीले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने समूहचरणको अन्तिम खेलमा आफ्नो टोली दबाब चिर्दै अघि बढ्न सक्षम रहेको बताएका छन्।

बिहीबार समूह चरणको दोस्रो खेलमा श्रीलंकासँग अप्रत्याशित रूपमा ७ विकेटले पराजित भएपछि समूह ‘बी’ बाट अन्तिम ४ मा स्थान सुरक्षित गर्नका लागि भारतसामु ओभलमा दक्षिण अफ्रिकालाई पराजित गर्नुको विकल्प हुने छैन।

साबिक विजेता भारतलाई प्रतियोगिताकै दाबेदारको रूपमा हेरिएको थियो। तर पहिलो खेलमा पाकिस्तानमाथि १ सय २४ रनको सानदार जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरे पनि दोस्रो खेलमा उक्त प्रदर्शनलाई कायम राख्न नसकेपछि उपाधि रक्षा गर्ने भारतको लक्ष्य केही कठिन बनेको छ।

यद्यपि समूहचरणबाटै बाहिरिएपछि हुने आलोचनाका बारेमा जानकार रहेका कोहली भने दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्नेमा आशावादी देखिएका छन्।

‘प्रतियोगिता रोमाञ्चक मोडमा आएको छ। अबका सबै खेल क्वार्टरफाइनल सरह छन्,’ कोहलीले भने, ‘हाम्रो समूहमा सबै टोलीको समान २ अंक रहेको छ र अर्को चरणमा प्रवेश गर्नका लागि तपाईंले अर्को खेल जित्नैपर्छ। हामी अघिल्लो चरणको समीकरणका बारेमा प्रस्ट छांै। पक्कै पनि यस समीकरणले सबै टोलीका लागि अघिल्लो चरण प्रवेशको दौड खुला राखेको छ।’

‘हामी क्षमतावान् टोलीविरुद्ध मैदान उत्रँदै छांै, त्यसैले हामीलाई उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ,’ कोहलीले भने।

यता समूहचरणको दोस्रो खेलमा पाकिस्तानसँग १९ रनको लज्जास्पद हार व्यहोरेपछि दबाबमा परेको दक्षिण अफ्रिका उक्त खेलमा गोल्डेन डक आउट भएका कप्तान एबी डी भिलियर्सको लयलाई लिएर थप दबाबमा परेको छ। एकदिवसीय खेलजीवनमा डी भिलियर्स गोल्डेन डक आउट भएको यो पहिलो पटक हो। उनले हालसम्म प्रतियोगितामा ४ रन मात्र जोडेका छन्।

यद्यपि दक्षिण अफ्रिकाका प्रशिक्षक रुसेल डोमिङ्गोले डी भिलियर्स चाँडै लयमा फर्कने विश्वास व्यक्त गरे।

‘उनी क्षमतावान् खेलाडी हुन्, सबै खेलाडी कुनै न कुनै समय पहिलो बलमा पवेलियन फर्कन्छन् तर उनी २ सय खेलपछि मात्र पहिलो बलमा पवेलियन फर्किए। डी भिलियर्ससँग मेरो कुनै गुनासो छैन,’ उनले भने, ‘उनी ह्यामस्ट्रिङको समस्याबाट केही पीडित छन् तर स्वास्थ्य टोलीले उनको थप परीक्षण गर्न बाँकी छ। तर उनले आइतबार राम्रो प्रदर्शन गर्नेमा म आशावादी छु। उनी यस्ता खेलाडी हुन्, जसले टोलीलाई आवश्यक पर्दा खेलको नतिजा आफ्नो पक्षमा पार्न सक्षम छन्। यसमा म विश्वस्त छु।’

समूहचरणबाटै बाहिरिएपछि हुने आलोचनाका बारेमा जानकार रहेका कोहली दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्नेमा आशावादी देखिएका छन्।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App