काठमाडौं- मञ्जु गुरुङ नेपाली भलिबलमा पछिल्लो दुई दशककै सबभन्दा ठूलो स्टार नाम हो। लामो समयदेखि भलिबल सुस्ताइरहँदा व्यक्तिगत प्रयासमा भएका केही प्रतियोगिताले नेपालमा यो खेललाई जीवित राखेका थिए। अनि मञ्जु, सिपोरा र परीक्षा गुरुङलगायतका सुन्दरीको उपस्थितिले समर्थकबीच यो खेललाई लोकप्रिय बनाइरहेको थियो।
नेपालमा मृतप्राय अवस्थाको भलिबललाई जीवित राख्नुका साथै लोकप्रियता बढाउन मञ्जु र उनको पुस्ताका महिला खेलाडीको ठूलो योगदान रह्यो।
पछिल्लो समय संघ आफैं पनि जुरमुराएर क्रियाशील हुँदा अहिले भलिबल नेपालको राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको छ। भलिबललाई जनस्तरमा लोकप्रिय बनाउन उल्लेख्य योगदान गर्ने पुस्ताकी मञ्जु अहिले खेलजीवनको उत्तरार्द्धमा छिन्।
भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि यो खेलको विगत, वर्तमान र भविष्य तथा खेलाडीको अपेक्षाविषयमा नागरिकका लागि कमल खत्रीले मञ्जुसँग गरेको कुराकानीको संक्षेप :
भलिबलले राष्ट्रिय खेलको मान्यता पाउँदा खेलाडीको नाताले कस्तो महसुस गरिरहनुभएको छ?
आफूले खेलेको खेलले राष्ट्रिय मान्यता पाउँदा खुसी लागेको छ। भलिबल राष्ट्रिय मान्यता पाउने हकदार खेल हो। राष्ट्रिय खेलको मान्यता पाएपछि यसको अवस्था अहिलेभन्दा पक्कै राम्रो हुनेछ। भलिबल अझै पनि गाउँमा धेरै खेलिन्छ। राष्ट्रिय स्तरमा सीमित छन् भलिबलका गतिविधि। अब अन्तर्राष्ट्रिय स्तरमा हाम्रो नतिजा थप राम्रो हुँदै जाने विश्वास लिएकी छु। लोकप्रियता र इतिहासमा हामी अगाडि छौं। तर उपलब्धि थोरै छन्। अब उपलब्धि बढ्ने हामीले आशा गरेका छौं।
उच्च फर्ममा रहँदा भलिबलले यस्तो मान्यता पाएको भए हुन्थ्यो जस्तो लाग्दैन?
मलाई त्यस्तो लाग्दैन। फेरि एउटा खेलाडी र टिमको इच्छाअनुसारले भलिबलले मान्यता पाउने पनि थिएन। तर पहिला भएको भए केही राम्रो हुने थियो। भलिबलको विकास छिटो हुने थियो होला। तर अझै पनि केही ढिला भएको छैन। राष्ट्रिय टोलीको लागि अझै केही वर्ष म योगदान गर्न सक्छु। भलिबल टिम खेल हो। हामीले एकताबद्ध रूपमा मिहिनेत गरे पश्चिमाञ्चलले राम्रो नतिजा निकाल्न सक्छ। केही वर्षअघि नै भलिबलले मान्यता पाएको भए अन्तर्राष्ट्रिय स्तर र दक्षिण एसियाली खेलकुदमा थप राम्रो नतिजा निकाल्न सकिन्थ्यो होला।
राष्ट्रिय खेलको मान्यता पाएपछि के होला भन्ने लाग्छ?
उत्तर– यसलाई हामीले सकारात्मक भएर सोच्नुपर्छ। पक्कै पनि भलिबल अब देशको खेल भएको छ। राज्यको रोजाइमा परेको छ। यसले नयाँ खेलाडी र भलिबलको विकासमा लाग्ने सबैलाई केही खुसी र हौसला दिएको छ। राष्ट्रिय खेलको मान्यता पाएपछि सरकारले भलिबलका लागि केही छुट्टै विशेष योजना बनाउँछ। त्यसले नेपालको अन्तराष्ट्रिय सहभागिता र पदक पनि बढाउने सम्भावना धेरै हुन्छ। हाम्रो अन्तर्राष्ट्रिय सहभागिता पछिल्लो समय बढिरहेको छ। सरकारको सहयोग भए थप बढ्नेछ।
भलिबल विकासका लागि अबका दिनमा संघ र राखेपबाट के हुनुपर्छ?
भलिबल खेलाडी धेरै जसो गाउँबाट आउने गर्छन्। स्वस्फूर्त रूपमा जिल्ला र क्षेत्रीय स्तरका प्रतियोगिताले हरेक वर्ष नयाँ प्रतिभा उत्पादन गरिरहेका छन्। तर जिल्ला र क्षेत्रमा पूर्वाधारको कमी छ। योजनाबद्ध रूपमा प्रतियोगिता र प्रशिक्षण हुन सकेको छैन। यसमा संघ र राखेपले सहयोग गर्न जरुरी छ। खेलाडीको सुविधा, सामाजिक सुरक्षा र सम्मानजस्ता पक्षले खेलको विकासमा भूमिका खेलेको हुन्छ। भलिबलमा त्यसको कमी छ। अझै पनि गाउँघरमा खेलेर के हुन्छ, प्रतियोगिता किन गर्नुपर्यो भन्ने सोच छ। खेलाडीलाई खेल्ने वातावरण बन्नुपर्छ। खेलाडी त्यतिकै उत्पादन हँुदैन। त्यसमा समाजको पनि भूमिका हुन्छ। अर्को कुरा नेपालको भलिबल विकासमा सुरुदेखि क्षेत्रका स्कुल र क्लबले मुख्य भूमिका खेलेका छन्। जस्तै पोखराको ज्ञानुबाबा, फिस्टेल, काठमाडौंको न्यु डायमन्ड, ढोरपाटन स्पोर्ट्स क्लबको योगदान महत्वपूर्ण छ। यस्ता क्लब र भलिबलमा काम गर्न खोज्ने अन्य क्लबलाई संघ र सरकारले हौसला दिनुपर्छ। उनीहरूलाई व्यावसायिक रूपमा काम गर्ने वातावरण बनाइदिनुपर्छ।
तपाईं अब कहिलेसम्म कोर्टमा सक्रिय हुनुहुन्छ?
त्यो कुरा अहिले नै सोचेको छैन। खेलमा भन्न सकिन्न। तर मेरो लक्ष्य एसियन खेलकुद प्रतियोगिता खेल्ने हो। एसियन खेलकुद अर्को वर्ष हुने कुरा छ। त्यसपछि खेल करियरको बारेमा सोच्नेछु।
खेलाडीको वैवाहिक जीवनबारे समर्थकलाई चासो नहुने कुरै भएन। यसको समयबबारे केही बताइदिनुहुन्छ?
विवाह भन्ने कुरा ठ्याक्कै भन्न सकिन्न (हाँस्दै....)। तर छिटै तपाईंहरूले थाहा पाउनुहुन्छ। सम्भवत १–२ वर्षभित्र।
राष्ट्रिय खेलको मान्यता पाएपछि सरकारले भलिबलका लागि केही छुट्टै विशेष योजना बनाउँछ। त्यसले नेपालको अन्तराष्ट्रिय सहभागिता र पदक पनि बढाउने सम्भावना धेरै हुन्छ।
प्रकाशित: २५ जेष्ठ २०७४ ०३:३६ बिहीबार