२ असार २०८१ आइतबार
image/svg+xml
खेल

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ :खेलकुदमन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन।

राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे।

उनले विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकाका लागि खेलसम्बन्धी शिक्षा दिँदै सोही क्षेत्रबाट खेलकुदको विकास तथा विस्तारको थालनी गर्ने बताए। मन्त्री लिम्बूले देशका लागि पसिना बगाउने खेलाडीमा बीमाको समस्या रहेको भन्दै खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाउने गृहकार्य भइरहेको बताए।

उनले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै एकाई निर्माण गर्ने तयारी गरेको जानकारी दिए।

उनले बच्चादेखि सिनियर नागरिकसम्मको चासो रहेको क्रिकेटको विकासका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मूलपानी, विराटनगर र नारायणी रङ्गशाला पर्साको भौतिक पूर्वाधारका निर्माणमा पूर्णता कायम गर्न आवश्यक रहेको भन्दै यसो गर्न सके नेपालमा १२ महिना नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने बताए।  

प्रकाशित: २८ असार २०८० १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App