१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

‘८० मिनेटको’ त्यो विश्वकप फुटबल

पहिलो महिला विश्वकप फुटबलको उपाधिका साथ अमेरिकी टोली। त्यो फाइनलमा अमेरिकाले नर्वेमाथि २–१ को जित निकालेको थियो। तस्बिर: एएफपी

सन् १९९१ मा पहिलो महिला विश्वकपमा सहभागी यासुको ताकाकुरालाई अहिले निर्धारित समयको खेल ९० मिनेटको हुने भए पनि सो प्रतियोगिता ८० मिनेट मात्र खेलाइएको कुरा अझै पनि आश्चर्यजनक लाग्छ। त्यो समयमा फुटबललाई पुरुषले मात्र खेल्ने खेलका रूपमा लिइन्थ्यो।

१२ राष्ट्रको मात्र सहभागिता रहेको पहिलो संस्करणबारे ताकाकुरा भन्छिन्। अस्ट्रेलिया र न्युजिल्यान्डले जुलाई २० देखि अगस्ट २० सम्म महिला विश्वकपको नवौं संस्करण आयोजना गर्दै छ, जहाँ यसपटक ३२ राष्ट्र सहभागी हुनेछन्। सम्भवत् महिला विश्वकपले चर्चा बटुलेको यो नै पहिलोपटक हो। ताकाकुरालाई अझै पनि महिला विश्वकपको पहिलो संस्करणका केही घटना याद छ। सन् १९९१ र १९९५ गरी दुई संस्करणमा जापानबाट विश्वकपमा प्रतिनिधित्व गरेकी ताकाकुराले सन् २०१९ मा भने राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेकी थिइन्। सन् १९९१ को विश्वकप गुनदोङमा भएको थियो।

६३ हजार दर्शकसामु भएको विश्वकपको फाइनलमा अमेरिका नर्वेमाथि २–१ को जितसहित पहिलो विश्वविजेता बनेको थियो। महिला फुटबलमा दर्शकको आकर्षण कम भएसँगै फाइनल खेल दौरान निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।

सन् १९९१ मा पहिलो महिला विश्वकपमा सहभागी यासुको ताकाकुरालाई अहिले निर्धारित समयको खेल ९० मिनेटको हुने भए पनि सो प्रतियोगिता ८० मिनेट मात्र खेलाइएको कुरा अझै पनि आश्चर्यजनक लाग्छ।

‘सायद महिला खेलाडी शारीरिक रूपमा कमजोर हुन्छन् र ९० मिनेट खेल्न सक्दैनन् भनेर ८० मिनेटको खेल खेलाइएको होला,’अमेरिकाकी पूर्वस्ट्राइकर मिचेली एकर्सले भनेकी थिइन्। धेरै राष्ट्रले पुरुष र महिला विश्वकप फुटबल ९० मिनेटकै हुनुपर्ने माग गरेसँगै ८० मिनेटको खेलतालिकामा परिवर्तन आएको हो।

यासुको ताकाकुरा

‘पहिलो संस्करणपछि नै महिला पनि पुरुषजस्तै फुटबल खेल्न सक्छन् भन्ने वातावरण बन्दै गयो, जसले महिला खेलाडीप्रतिको दृष्टिकोणमा नै परिवर्तन गरायो,’ ताकाकुराले भनिन्,‘पहिलो संस्करणमा निर्धारित समयको खेल घटाइए पनि मैदानको आकार भने घटाइएको थिएन।’

पहिलो संस्करण लगत्तै फिफाले महिला फुटबलका केही नियमहरू परिवर्तन गरेको थियो। धेरै टोलीका लागि महिला खेलाडीलाई आवश्यक बुट र गोलकिपिङ ग्लोब्ससमेत पाउन कठिन थियो।

पहिलो संस्करणको महिला विश्वकप भनिए पनि फिफाले सो प्रतियोगिताको नाम महिला विश्वकपभन्दा पनि फिफा वुमन्स वल्र्ड च्याम्पियनसिपको रूपमा आयोजना गरेको थियो।

ताकाकुरा हाल संघाईको महिला लिगको शीर्ष डिभिजन क्लबको प्रशिक्षकका रूपमा कार्यरत छिन्। ‘सन् १९९१ पछि फिफाको साधारणसभामा नर्वेकी एक प्रतिनिधिले महिला विश्वकप भन्न फिफा किन डराएको भन्ने प्रश्नसमेत गरेकी थिइन्,’ताकाकुराले भनिन,‘जसले गर्दा फिफामाथिको दबाब बढाएको थियो।’ विश्वकप आयोजनाले नै महिला फुटबललाई बचाइराखेको ताकाकुराको विश्वास छ। ‘महिला विश्वकपले नै महिला फुटबललाई जीवन्त बनाएको छ,’ताकाकुराले भनिन्, ‘पहिलापहिला युरोपकै केही राष्ट्र महिला फुटबलप्रति नकारात्मक थिए। तर, प्रतियोगिताको निरन्तरतासँगै अहिले सो धारणामा परिवर्तन आइसकेको छ।’ 

प्रकाशित: २४ असार २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App