२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्रीको आग्रहपछि संन्यास फिर्ता

प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि बंगलादेशका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको संन्यासको निर्णय फिर्ता लिएका छन्।

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले शुक्रबार तमिमले संन्यासको निर्णय फिर्ता गरेको पुष्टि गरेको हो। ‘प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको संन्यासको निर्णय फिर्ता गरेका छन्,’बिसिबीका निर्देशक जलाल युनुसले भने।  

तमिमले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला जारी रहँदा इकबालले सबै संरचनाको क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।  

‘मंगलबार अफगानिस्तानविरुद्धको तीन एकदिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल नै मेरा लागि अन्तिम रह्यो,’तमिमले भनेका थिए, ‘म अहिलेबाट लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गर्दछु।’  

तमिमले आइतबार आफू पूर्ण रूपमा फिट नभए पनि अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखला खेल्ने घोषणा गरेका थिए। सो निर्णयसँगै उनको चर्को आलोचना भएको थियो। पहिलो एकदिवसीय खेलमा बंगलादेशले अफगानिस्तानलाई नतिजा सुम्पिएको थियो। तमिमले पहिलो एकदिवसीय खेलमा २१ बलमा १३ रन मात्र जोडेका थिए। जुन खेल अफगानिस्तानले १७ रनले जितेको थियो। तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्। त्यस्तै उनले ७० टेस्ट खेलको १ सय ३४ इनिङमा १० शतकसहित ५ हजार १ सय ३४ रन जोडेका छन्। उनले सन् २०२२ मा ट्वान्टी–२० क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। सन् २०१२ मा उनको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले एसिया कपको फाइनलसम्मको यात्रा तय गरेको थियो। उनले सन् २००७ फेबु्रअरीमा जिम्बाब्वेविरुद्धको खेलसँगै बंगलादेश टोलीबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। 

प्रकाशित: २३ असार २०८० ०३:०२ शनिबार

प्रधानमन्त्रीको आग्रहपछि संन्यास फिर्ता